Headline

क्रिकेट बिश्वकपका सनसनीपूर्ण नतिजाहरु

Published

on

१९७५ बाट शुरु भएको एकदिवसीय क्रिकेट बिश्वकपको १२ संस्करण समाप्त भइसकेको छ । भारतले २०२३ मा १३ औं संस्करणको आयोजना गर्न गइरहेको छ । निकै कम देशको सहभागिता रहने गरेको क्रिकेट बिश्वकपमा धेरै नै कम स्तब्धपूर्ण नतिजाहरु निस्कने गरेका छन् । आज हामी एकदिवसीय क्रिकेटमा भएका सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजाहरुको बिषयमा कुरा गर्नेछौं ।

५. आयरल्याण्ड भर्सेस इङ्गल्याण्ड

एशोसिएसट क्रिकेटमा केही लामो समयदेखि राज गर्दै आइरहेको आयरल्याण्डले २०११ मा भएको बिश्वकपमा निकालेको यो नतिजा साच्चिकै सनसनीपूर्ण थियो । इङ्गल्याण्डले पहिलो ब्याटिङ्ग गर्दै ३ सय २७ रन बनाएपछि शायदै कसैले आयरल्याण्डले जित्न सक्ने आशा गरेका थिए । तर त्यो दिन आयरल्याण्ड, र त्यो भन्दा बढी अल राउण्डर केभिन ओ ब्रायनको थियो ।

आयरल्याण्डले एक समय १ सय ११ रनमै आफ्नो पाँच विकेट गुमाइसकेको थियो । तर ओ ब्रायनले बिश्वकपकै एक उत्कृष्ट इनिङ्गस खेल्दै शतक पुरा गरे । उनले छैटौं विकेटका लागि एलेक्स क्युज्याकसँग १ सय ६२ रनको शान्दार साझेदारी गर्दै आयरल्याण्लाई जित मात्र दिलाएनन्, बिश्वकप इतिहासकै सबैभन्दा तिब्र गतिको शतक पनि ठोके । ओ ब्रायन आउट भएपनि जोन मुनिले ३३ रनको नटआउट इनिङ्गस खेल्दै इङ्गल्याण्डलाई स्तब्ध बनाए ।

५० बलमै शतक पुरा गरेका ओ ब्रायनले ६३ बलमा १३ चौका र ६ छक्को मद्दतमा १ सय १३ रन बनाएका थिए । आयरल्याण्डले पाँच बल बाकी हुदा जित हात पारेको थियो ।

४. बङ्गलादेश भर्सेस भारत

सौरभ गाँगुलीको नेतृत्वमा २००३ को बिश्वकपको फाइनल प्रवेश गरेको भारत २००७ को बिश्वकपमा पनि उपाधि दाबेदारकै रुपमा वेष्ट इन्डिज पुगेको थियो । तर राहुल द्रविडको कप्तानीमा रहेको भारतीय टोली कागजमा उत्कृष्ट देखिएपनि परिवर्तनको संघारमा थियो भने महेन्द्र सिँह धोनी नयाँ अनुहारकै रुपमा टिममा थिए ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको भारतलाई मसरफे मोर्तजाले चार विकेट लिदै १ सय ९१ रनको सामान्य योगफलमै सिमित राखेको थियो । तमिम इक्बाल, मुस्फिकुर रहिम र शकिब अल हसनको अद्र्धशतकको मद्दतमा बङ्गलादेशले ४८ दशमलव तीन ओभरमा पाँच विकेट गुमाउदै लक्ष्य प्राप्त गर्यो । आफ्नो क्रिकेट इतिहासमै भारतलाई पहिलो पटक पराजित गरेको बङ्गलादेश दोश्रो चरण पुग्यो भने १९८३ को बिश्वकप बिजेता पहिलो चरणबाटै बाहिरिएको थियो ।

३. केन्या भर्सेस वेष्ट इण्डिज

क्रिकेट इतिहासमा पहिलो ठूलो सनसनीपूर्ण नतिजा शायद यही नै होला । भारतीय उपमहाद्विपमा भएको १९९६ को बिश्वकपमा केन्याले ९० को दशकमा उत्कृष्ट फर्ममा रहेको वेष्ट इण्डिजको टोलीलाई ७३ रनले स्तब्ध बनाएको थियो । पुनेमा भएको खेलमा केन्या पहिलो ब्याटिङ्ग गर्दै ४९ दशमलव तीन ओभरमा अल आउट हुदै १ सय ६६ रनको सामान्य योगफलमै खुम्चिएको थियो ।

ब्रायन लाराको नेतृत्वमा रहेको वेष्ट इण्डिज ब्याटिङ्ग अर्डर बलियो रहेकोले जित निकै सहज हुने आंकलन गरिएको थियो तर राजब अलि र मौरिस ओडुम्बेले तीन–तीन विकेट लिएपछि वेष्ट इण्डिज ३५ दशमलव तीन ओभरमा ९३ रनमै समेटिएको थियो ।

२. आयरल्याण्ड भर्सेस पाकिस्तान

क्यारेबियनमै भएको बिश्वकपको यो दोश्रो सनसनीपूर्ण नतिजा थियो । यसअघि बङ्गलादेशले भारतलाई पहिलो चरणबाटै घरको बाटो देखाएको थियो र अब पालो अर्को ठूलो टोली पाकिस्तानको रहेको थियो । पाकिस्तानको लागि निकै सहज मानिएको खेलमा आयरल्याण्डले किङ्गस्टनमा उत्कृष्ट बलिङ्ग गर्दै बिपक्षीलाई ४५ दशमलव चार ओभरमा १ सय ३२ रनमै अलआउट गरिदियो ।

त्यो समय केभिनका दाजु नेल ओ ब्रायनले आयरल्याण्डको ऐतिहासिक उपलब्धिमा प्रमुख भुमिका खेलेका थिए । नेलले १ सय ७ बलमा ७२ रन बनाएपछि आयरल्याण्डले ४१ दशमलव चार ओभरमा ७ विकेट गुमाउदै १ सय ३३ रन बनाएको थियो ।

१. बङ्गलादेश भर्सेस पाकिस्तान

इङ्गल्याण्डमा भएको १९९९ को बिश्वकपमा पाकिस्तानलाई बङ्गलादेशलाई हराउदा साच्चिकै बिश्व क्रिकेट नै स्तब्ध थियो । बङ्गलादेश त्यो समय टेस्ट राष्ट्र पनि थिएन भने छनोट चरण पार गर्दै इङ्गल्याण्डको टिकट काटेको थियो । पाकिस्तान त्यो बिश्वकपको फाइनल भने पुगेको थियो जहाँ उ अष्ट्रेलियासँग हार्न पुगेको थियो ।

नर्थम्पटनमा पहिलो फिल्डिङ्ग रोजेपछि बङ्गलादेशले २ सय २३ रनको निकै नै सम्मानजनक योगफल तयार पारेको थियो । खालेद महमुदले मिडल अर्डरको तीन महत्वपूर्ण विकेट लिएपछि पाकिस्तान ४४ दशमलव तीन ओभरमा १ सय ६१ रन समेटिएको थियो । बङ्गलादेशको त्यो पहिलो बिश्वकप पनि थियो ।

यही जित पनि बङ्गलादेशलाई टेस्ट मान्यता दिलाउन महत्वपूर्ण साबित भएको थियो ।

Click to comment

Trending