Headline

सामाजिक दुरी कायम नगर्दा अस्ट्रियन क्लबले शिर्ष स्थान गुमायो

Published

on

अस्ट्रियन फुटबल लिग बुन्डेसलिगाको शिर्ष स्थानमा रहेको टोली लास्कले सामाजिक दुरीको नियम उल्लंघन गर्दा त्यसको महँगो मुल्य चुकाएको छ ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नु पर्ने नियम उल्लंघन गर्दै खेलाडीहरुलाई एउटै समुहमा कन्ट्याक्ट प्रशिक्षण गराएको पुष्टि भएपछि टोलीले शिर्ष स्थान नै गुमाउने गरि अंक काटिएको छ । लास्कको १२ अंक काटिदै ७५ हजार युरो जरिवाना तिराइएको हो ।

बुन्डेसलिगाले सबै क्लबहरुलाई सानो समुहमा कन्ट्याक्ट नगराई प्रशिक्षण गर्न आग्रह गरेको थियो । अस्ट्रियन लिगमा नियमित रुपले १२ टोलीको लिग खेलाइन्छ भने त्योसँगै माथिल्लो ६ स्थानमा रहेका टोलीहरुले च्यम्पियनसिपमा छुट्टै प्रतिस्पर्धा पनि गर्नेछन् ।

लास्कको पुरा नाम लिन्जर एथलेटिक स्पोर्टस क्लब हो । लिगको नियमित सिजनमा दोस्रो स्थानको आरबी साल्जबर्ग भन्दा ६ अंकले माथि रहेको लास्क जुन ३ देखी शुरु हुने च्याम्पियनसिपमा भने दोस्रो स्थान देखी शुरु गर्नुपर्ने छ ।

१९६५ देखी उपाधी जित्न नसकेको लास्कले यो निर्णयको बिरुद्ध अपिल गर्ने बताएको छ । अवैध रूपमा प्राप्त गरिएको भिडियोका आधारमा ठूलो निर्णय लिएको आरोप लास्कले बुन्डेसलिगालाई लगाएको छ ।

लिगमा सहभागी अन्य ११ वटै टिमले लास्कले सामाजिक दुरीको नियम उल्लंघन गरेको भन्दै संयुक्त बिज्ञाप्ति जारी गरेपछि नाटक शुरु भएको थियो । अन्य क्लबहरुले लास्कले अबैधानिक रुपमा फाइदा उठाइरहेको बताएका थिए । बुन्डेसलिगालाई कसैले प्रशिक्षणको भिडियो लुकिछिपी खिचेर पठाइदिएको थियो ।

सामाजिक दुरी नअपनाएको भन्दै पुलिसमा उजुरी परेपछि लास्कको प्रशिक्षण मैदानमा प्रहरी पनि आइपुगेको थियो । अन्य क्लबहरुले ठगेको आरोप लगाउनु अघि नै लास्कले आफूहरु औद्योगिक जासुसीको शिकार भएको बताउदै आएको छ ।

लास्कले राइफेसेन एरिनामा दुई व्यक्ति मुख ढाकेर आएको तस्विर पनि सर्वाजनिक गरेको छ । उनीहरुले नै प्रशिक्षण स्थलमा सिसिटीभि क्यामरा जडान गरेर गएको दाबी पनि क्लबले गरेको छ । क्लबमा यस्तो घटना दोश्रो पटक भएको पनि लास्कले दाबी गरेको छ ।

Click to comment

Trending