Headline

आक्रमक वार्नरलाई सबैभन्दा मन पर्ने टेस्ट नै हो

Published

on

डेविड वार्नर वर्तमान बिश्व क्रिकेटका सबैभन्दा आक्रमक मध्येका एक ब्याट्स्म्यानको रुपमा चिनिन्छन् । सेतो बलको क्रिकेट, ट्वान्टी ट्वान्टी र एकदिवसीयमा, आक्रमक लय अपनाउन थालेपछि बलरहरुको सात्तो लिने गरेपनि उनले आफ्नो मनपर्ने संरचना भने टेस्ट नै रहेको बताएका छन् ।

अस्ट्रेलियन ओपनर वार्नरले कोरोना भाइरसका कारण जारी रहेको लकडाउनमा अष्ट्रेलियामा आफ्नो घरबाटै ‘टिकटक’ बाट रमाइलो भिडियोहरु पोस्ट गर्दै आफ्ना समर्थकहरुलाई मनोरञ्जन दिदै आइरहेका छन् । उनको सबैभन्दा मन पराइएको भिडियोहरुमा उनले आफ्नो परिवारसँग तेलगु गितहरुमा नाचेको भिडियो रहेको छ ।

३३ बर्षिय वार्नरले केही दिन अघि मात्र ऐना पुछ्दै अस्ट्रेलियाको एकदिवसीय र ट्वान्टी ट्वान्टीको पुरानो जर्सी लगाएपछि अन्त्यमा टेस्टको सेतो जर्सी लगाएर सोधेका थिएः “यो मेरो मन पर्ने क्रिकेटको संरचना, तपाईंहरुको बिचार के छ ?” यसलाई टिकटकमा ‘वाइप डाउन च्यालेन्ज’ भन्ने गरिन्छ ।

ट्वान्टी ट्वान्टीको आविष्कारपछि क्रिकेटले व्यवसायिक छलाङ्ग मारेपनि वार्नरलाई भने टेस्टको महत्व अझ पनि उत्तिकै रहेको स्पष्ट बुझिन्छ ।

वार्नरले अष्ट्रेलियाका लागि ८४ टेस्ट खेल्दै ४८ दशमलव ९४ को औषतमा ७ हजार २ सय ४४ रन बनाएका छन् । अघिल्लो वर्ष एडिलेडमा भएको डे नाइट टेस्टमा पाकिस्तान विरुद्ध आक्रमक ब्याटिङ्ग गर्दै वार्नरले नटआउट रहदै ३ सय ३५ रन बनाएका थिए । यो उनको टेस्ट करिअरकै सर्वाधिक ठूलो योगफल हो ।

इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादका कप्तान समेत रहेका वार्नर कोरोनाको संक्रमण नभएको स्थितिमा भारतमा आईपिएल खेलिरहेका हुने थिए । तर विश्वभर खेलकुद गतिविधि ठप्प भएपछि उनले आईपिएलका हैदराबादी फ्यानहरुलाई उनीहरुकै गितमा नाचेर भरपुर मनोरञ्जन दिइरहेका छन् ।

Click to comment

Trending