Headline

बायर्नसँग हारेपछि डर्टमण्ड प्रशिक्षकको क्लब छोड्ने संकेत

Published

on

जर्मन क्लासिकोमा बायर्न म्युनिखसँग पराजित भएपछि बोरुसिया डर्टमण्डका प्रशिक्षक लुसियन फाभ्रेले आफू क्लब छोड्ने तर्फ इङ्गित गरेका छन् ।

मङ्गलबार जर्मन बुन्डेसलिगाको ‘टाइटर डिसाइडर’ मानिएको खेलमा बायर्नसँग पराजित भएपछि स्विस प्रशिक्षक फाभ्रेको डर्टमण्ड पहिलो स्थानको बायर्नभन्दा ७ स्थानले पछि परेको छ । बुन्डेसलिगामा अब मात्र ६ चरणको खेल बाकी रहेको छ भने डर्टमण्ड पहिलो लेगमा बायर्नसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

हारपछि बायर्नले लगातार आठौं उपाधि जित्ने सम्भावनलाई निकै प्रबल बनाएको छ । कोरोना भाइरसले रोकिएको लिग ठूलो कसरतपछि सुचारु हुँदा फाभ्रेलाई दोश्रो लेगमा घरमै हुने खेलमा बायर्नलाई हराउने आशा थियो तर खाली रँगशालामा खेल्नु परेपछि घरेलु मैदानको फाइदाको कुरै थिएन ।

सामान्यत ८२ हजार दर्शकले गुञ्जायमान बनाउने इडुना पार्क दर्शकको अनुपस्थितिमा शान्त रहदा जोसुवा किमिचको एक मात्र गोलको मद्दतमा बायर्नले निकै महत्वपूर्ण जित हात पारेको थियो ।

बुन्डेसलिगामा फाभ्रेसँग अब बायर्नको दबदबा तोड्ने केही नरहेको भन्ने प्रश्नमा निराशाजनक प्रतिक्रिया दिदै फाभ्रेले भनेः “यो (उनले क्लब छाड्ने कुरा) यहा पछिल्लो केही महिनादेखि भनिदै आएको कुरा हो । मलाई थाहा छ कुराहरु कसरी अगाडी बढ्छ । अबको केही हप्तामा म यस बिषयमा बोल्नेछु । आफुमाथि बिश्वास राख्दै म अब शान्त रहनेछु ।”

६२ बर्षिय फाभ्रेको डर्टमण्डमा यो दोश्रो बर्ष हो भने उनको अनुबन्धन सक्किन अझै एक बर्ष बाकी रहेको छ । जर्मन पत्रिका बिल्डका अनुसार डर्टमण्ड क्लब व्यवस्थापनले केही महिनादेखि निको कोभाचलाई उनको स्थानमा ल्याउनका लागि सम्पर्क गर्दै आइरहेको छ ।

कोभाचलाई बायर्नले नोभेम्बरमा प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो । फाभ्रेले मङ्गलबारको हारपछि अब आफ्नो भविष्यबारे केही दिनमा बताउने भने लगत्तै जर्मन लिजेण्ड र स्काइ टिभिका पण्डित लोथार मथाउसले “यो सुन्ने बित्तिकै मलाई फाभ्रेले डर्टमण्ड छोड्ने र कोभाच आउने लागेको थियो” भनेका थिए ।

बिल्डले डर्टमण्डको बागडोर सम्हाल्नका लागि आरबी लाइपजिगका प्रशिक्षक युलियन नेगेल्समन उपयुक्त रहेको लेखेको छ । तर ३२ बर्षिय नेगेल्समेनले लाइपजिगसँग २०२३ सम्मको लागि अनुबन्धन गरेका छन् ।

बायर्नले यो सिजन उसलाई हराउने दुई टोली बोरुसिया मुन्चेनग्लाडब्याच र बायर लेभरकुसनसँग खेल्न बाकी नै रहेपनि फाभ्रेले भने अब उपाधिको होडबाजी सक्किसकेको भन्दै आत्मसमर्पण गरिसकेका छन् । “६ खेलमात्र बाकी रहेको स्थितिमा ७ अंकले पछि पर्दा उपाधिको दौड फर्किनको लागि निकै कठिन हुन्छ,” फाभ्रेले भने ।

पछिल्लो सिजन होम ग्राउण्डमै साल्केसँग ४–२ ले हारेपछि शिर्ष स्थानको बायर्नसँग तीन खेल बाकी रहदा तीन अंकले मात्र पछि रहेपनि अब उपाधिको कुनै आशा नरहेको बताएपछि डर्टमण्डका समर्थकहरुले फाभ्रेलाई मन पराउन छोडिसकेका थिए ।

Click to comment

Trending