Headline

दर्शकको अनुपस्थितीमा ट्रफि उचाल्नु अनौंठोः लिभरपुल कप्तान

Published

on

लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले इङ्गलिस प्रिमियर लिगको ट्रफि दर्शकको अनुपस्थितीमा उचाल्न अनौंठो हुने प्रतिक्रिया दिएका छन् ।

योर्गन क्लोपको नेतृत्वमा रहेको लिभरपुल ३० बर्षमा पहिलो पटक प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । कोरोना भाइरसका कारण प्रिमियर लिग रोकिनु अघि लिभरपुल दोश्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ भने दुई खेल मात्र जितेको खण्डमा उपाधि चुम्ने छ ।

कोरोनाका कारण दुई महिना देखि रोकिएको लिग जुलाईमा शुरु हुने भएको छ तर सबै खेलहरु बन्द रंगशालामा दर्शकको अनुपस्थितीमा खेलाइने छ ।

“पक्कै पनि यो भिन्न लाग्ने छ । हामीले कुनै पनि उपाधि जितेको खण्डमा पाउने ट्रफी बोकेको हेर्नका लागि रंगशालामा दर्शक हुने छैनन्, त्यो नौंलो हुनेछ । अहिलेको अवस्थामा जे आउँछ त्यसैलाई नै मान्ने बाहेक हामीसँग अर्को कुनै उपाय छैन । आशा छ सबै राम्रो हुन्छ,” हेन्डर्सनले भने ।

“तर हामीले उपाधि आफ्नो बनाई भने सकेका छैनौं । अझै दुई खेल जित्नै पर्ने हुन्छ । कोरोनाका कारण लिग सकिनु अघि हामीले गरेको राम्रो प्रदर्शनलाई जारी राख्न पर्ने हुन्छ । हामी बाँकी रहेको पुरै सिजन सकियोस भन्ने चाहन्छौं, त्यही लयका साथ र बलियो टोलीको रुपमा ।”

कोरोनाका कारण विश्वभर तीन लाख ५० हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने बेलायतमा मात्र ३७ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Click to comment

Trending