Headline

जर्मनी नछोड्न हालान्डलाई लेवान्डोस्कीको सुझाव

Published

on

बयर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले बिश्व फुटबलकै ध्यान आकृष्ट गर्न सफल डर्टमण्डका नर्वेजियन फर्वार्ड एर्लिङ्ग हालान्डलाई जर्मन बुन्डेसलिगामै बस्न सुझाव दिएका छन् ।

साल्जबर्गबाट डर्टमण्ड आएदेखि नै लगातार उत्कृष्ट प्रदर्शन दिदै आएका हालान्डलाई पछिल्लो केही समय स्पेनिस महारथी रियल म्याड्रिडले किन्न गइरहेको चर्चा चलिरहदा लेवान्डोस्कीले यस्तो सुझाव दिएका हुन् । मात्र १९ बर्ष रहेका हालान्डले जनवरीमा डर्टमण्ड आएदेखि नै तहल्का पिट्दै आइरहेका छन् ।

हालान्डले ११ खेलमा १२ गोल गरिसकेका छन् भने डर्टमण्डको जितहरुमा उनको भुमिका पनि निर्णायक जस्तो बन्न थालिसकेको छ । साल्जबर्गमा सिजनको पहिलो हाफ नसक्किदै २८ गोल गरेपछि डर्टमण्ड आएका हालान्डलाई अहिले लेवान्डोस्कीसँग नै तुलना गर्न थालिएको छ भने केही बिश्लेषकहरुले उनलाई धरातलमा रहन सुझाव पनि दिएका छन् ।

साल्जबर्गबाट खेल्दै गर्दा नै हालान्डलाई क्लबहरुले तानातान गर्दा त्यसमा डर्टमण्ड सफल भएको थियो । केही सञ्चार माध्यमहरुले उनलाई अहिले रियलले आखा लगाइरहेको समाचार प्रकाशित गर्दै आइरहेका छन् । अघिल्लो बर्षमात्र सेन्टियागो बर्नाबाउ गएका युवा खेलाडी लुका जोभचले सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अहिले उनलाई रियलले लिन खोजिरहेको समाचार बाहिर आएको छ ।

तर लेवान्डोस्कीले हालान्डलाई कुनै लामो पाइला चाल्नु अघि केही समय जर्मनीमै बिताउन सुझाएका छन् । “हालान्ड एक उदीयमान खेलाडी हुन् र उनीसँग प्रशस्त समय अझै बाकी छ,” डर्टमण्डबाटै बायर्न आएका लेवान्डोस्कीले आफ्नो बयानबाट उनीमाथि कुनै दवाब कायम गर्न नचाहेको पनि बताए ।

“उनले अझै मिहिनेत गर्ने हो भने धेरै माथि पुग्नेछन् । हालान्डले अझै केही समय जर्मनीमै बिताउने हो भने यो उनले करिअरमा लामो दुरी तय गर्नलाई नै मद्दत पुग्ने छ”, जर्मन क्लासिको बायर्न र डर्टमण्डबीच मङ्गलबारको खेलअघि लेवान्डोस्कीले भने ।

Click to comment

Trending