Headline

होलिफिल्ड माइक टाइसनसँग ‘रिम्याच’ का लागि तयार

Published

on

बक्सिङ्गका पुर्व बिश्व हेभिवेट च्याम्पियन इभान्डर होलिफिल्ड माइक टाइसनले रिम्याचका लागि सोध्ने हो भने आफू भिड्न तयार रहेको बताएका छन् ।

२०१४ मा सन्यास लिएका होलिफिल्ड १९९० को दशकमा टाइसनबिरुद्धको दुई बाउटमा जित हात पारेका थिए । ती मध्ये ‘बाइट फाइट’ नामले परिचत १९९७ मा भएको दोश्रो भिडन्तमा टाइसनले होलिफिल्डको कान टोकिदिएपछि उनी अयोग्य ठहरिएका थिए ।

दुवै लिजेण्ड बक्सरहरुले केही समय अघि देखि छुट्टा–छुट्टै च्यारिटी खेल मार्फत रिङ्गमा फर्किने योजना बनाइरहदा ५७ बर्षिय होलिफिल्डले ५३ बर्षिय टाइसनसँग उनी तयार रहेको खण्डमा तीन राउण्डको फाइट सम्भव रहेको बताएका हुन् । “मैले यसअघि दुई पटक हराइसकेको हुनाले मैले नै रिम्याचको लागि सोध्दा त्यो मेरो बदमाशी हुनेछ,” होलिफिल्डले भने ।

सन् २०११ मा आफ्नो करिअरको अन्तिम तथा ५७ औं व्यवसायिक फाइटमा डेनमार्कका ब्रायन नेल्सनलाई कोपनहेगनमा टेक्निकल नकआउटका आधारमा हराएका थिए । त्यो उनको करिअरको ४४ औ जित रहेको थियो ।

सन् १९८६ मा २० बर्षको उमेरमा बिश्वकै सबैभन्दा कान्छा हेभिवेट च्याम्पियन बनेका टाइसनले भने आफ्नो अन्तिम व्यवसायिक बाउट २००५ मा खेलेका थिए । आयरल्याण्डका केभिन म्याकब्राइडसँग भएको उक्त खेलमा पराजित भएपछि टाइसनले ५८ औ बाउटमा छैटौं पटक हार बेहोरेका थिए ।

१९९७ मा भएको फाइटमा होलिफिल्डको कान टोक्दै माइक टाइसन

“त माइकसँग भिड्न चाहन्छस किनभने त उसलाई हराउनेमा बिश्वस्त छस् भन्ने किसिमको दवाब म चाहन्न,” बिबिसी फाइभले सोधेको प्रश्नमा होलिफिल्डले जवाफ दिए । “बक्सिङ्ग भनेकै कसैले तलाई हान्छ भने तैले पनि फिर्ता गर्ने खेल हो । म अब ५८ बर्षको हुदैछु र टाइसन ५४, तपाई राम्रो स्वास्थ अवस्थामा भएको कुरा गर्नुहुन्छ र यो स्थितिमा सम्मानपुर्वक कामहरु गर्नु पर्ने हुन्छ ।”

“मैले रिङ्गमा जोसुकै भेटेपनि, चाहे मेरो भाइ नै किन नहोस, मलाई कसैले टार्गेट बनाउछ भने मैले पनि उसलाई टार्गेट बनाउने हो । यदि त म माथि बम्ब प्रहार गर्न चाहदैनस भने नफालेकै राम्रो,” टाइसनसँग यो उमेरमा हुने भिडन्तको सम्भावित खतराका बिषयमा उनले भने ।

टाइसनले केही दिन अघि आफूले अभ्यास गर्दाका केही भिडियोहरु सार्वजनिक गरेका थिए जसमा उनी आफू उत्कृष्ट हुँदाको जस्तै देखिएको धेरैले बताएका थिए । टाइसनको पञ्चमा अझै पनि त्यो तिब्रता कायम नै रहेको चर्चा चलेको थियो । अन्तर्राष्ट्रिय खेलकुदमा टाइसन सबैभन्दा बिवादास्पद पात्रहरु मध्ये एक हुन् ।

Click to comment

Trending