Headline

बायर्न लगातार आठौं उपाधितर्फ अग्रसर

Published

on

एन्टर्याच्ट फ्रांकफर्टलाई ५–२ को बिशाल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो ४ अंकको अग्रता कायमै राखेको छ ।

खाली अलायञ्ज अरिनामा भएको खेलमा बायर्नका लागि लियो गोरेज्काले पहिलो हाफमा २० मिनेट भित्रै गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि थोमस मुलर, रोबर्ट लेवान्डोस्की र अल्फोन्सो डेभिसले १–१ गोल थपेका थिए भने मार्टिन हिन्टेरेगरले आत्मघाती गोल गरे ।

जितपछि बायर्नको २७ खेलबाट ६१ अंक भएको छ । यसअघिको खेलमा डर्टमण्डले उल्फ्सबर्गलाई २–० ले हराएपछि बायर्नको अग्रतालाई एक अंकमा छोट्याएको थियो । बायर्नले १७ औं मिनेटमा गोरेज्काको गोलबाट अग्रता लिएको थियो । उनलाई मुलरले असिस्ट गरेका थिए ।

डेभिसको असिस्टमा मुलरले ४१ औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोश्रो हाफको पहिलो मिनेटमै लेवान्डोस्कीले गोल गरेपछि बायर्न फराकिलो अग्रता बनाएको थियो तर हिन्टेरेगरले ५२ र ५५ औं मिनेटमा गोल गर्दै फ्रांकफर्टलाई खेलमा फर्काएका थिए ।

६१ औ मिनेटमा डेभिसले दुई गोलको अग्रता फर्काए भने ७४ औं मिनेटमा हिन्टेरेगरले आत्मघाती गोल गरेपछि फ्रांकफर्टका लागि पुनरागमनको ढोका बन्द भएको थियो । बायर्न बुन्डेसलिगमा लगातार आठौं उपाधि जित्ने दाउमा रहेको छ ।

Click to comment

Trending