Headline

कसरी जर्मनी अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित हुदैछ ?

Published

on

पाकिस्तानी अब्दुल शकुर टर्की र बुल्गेरियाको बोर्डर छुट्टाउने सिमानामा हराएका थिए । सामान्यतया दुई दिनको यात्रा पुरा गर्न उनलाई ६ देखि ७ दिनसम्म लागेको थियो । भोक र प्यासले लामो समय रन्थनिएका उनलाई ठ्याक्कै कति दिन लागेको थियो यकिन गरेर भन्न सक्दैनन् ।

शकुरले यस्तै यात्रा पहिले पनि गरेका थिए । १५ बर्षको हुदा उनलाई इरानदेखि टर्कीसम्म पुग्न ४८ घण्टा लागेको थियो । उत्तरी पाकिस्तानको पेशावरमा जन्मिएका शकुर आफ्नो सपनाको देश इङ्गल्याण्ड पुग्न निस्किएका थिए । टर्कीसम्म पुग्नका लागि उनले एजेन्टलाई आफ्ना परिवारका सदस्यहरुबाट संकलन गरिएको २ हजार डलर बुझाएका थिए ।

युरोपको यात्रामा उनलाई अरु पैसा आवश्यकता परेको थियो । बोर्डरमा प्रहरीले जति बेला पनि गोलि ठोक्न सक्ने स्थितिबाट बच्दै उनी सर्बिया र हँगेरी हुदै अष्ट्रिय पुगे । अष्ट्रिया पुग्दा यसअघि नै इङ्गल्याण्डमा रहेका साथीहरुको खबर पाएपछि उनलाई आफ्नो योजना पुनर्विचार गर्न कर लाग्यो । इङ्गल्याण्डमा आप्रवासीका लागि स्थिति ठीक नभएको भन्दै उनका साथीहरुले उनलाई जर्मनी जान सुझाएका थिए ।

जर्मनी पुग्दा शकुरसँग आफूले लगाएको लुगा, १ सय युरो र मोबाइलबाहेक केही पनि थिएन । पाँच बर्ष यता आइपुग्दा शकुर जर्मनीको राष्ट्रिय क्रिकेट टोलीको ओपनिङ्ग ब्याट्स्म्यान बनेका छन् । जर्मनी अहिले क्रिकेटमा तिब्र रुपमा बिकास गरिरहेको राष्ट्रहरु मध्ये पर्दछ ।

भनिन्छ सबैभन्दा कालो बादलमा पनि चादीको घेरा हुन्छ ।

कोरोना भाइरसको महामारीले बिक्षिप्त ब्रिटेनलाई मद्दतका लागि बिश्व युद्ध भेटेरान टम मुरले आफ्नो १ सयौं जन्मदिनको उपलक्ष्यमा १ सय पटक आफ्नो बगैचामा चक्कर लगाउने भन्दै झण्डै ३३ लाख पाउण्ड सहयोग बटुले । अमेरिकामा सेप्टेम्बर ११ को आतंकवादी हमलाको ९ महिनापछि न्युयोर्क शहर गर्भवती महिलाको सुरक्षाका लागि तयार पारिएको अस्पताल खचाखच भरिएको थियो ।

२०१५ मा सिरिया, अफागनिस्तान, इराक, एसियाका अन्य देश र अफ्रिकाबाट लाखौ मानिस देश छोड्न बाध्य भएका थिए । कोही युद्धबाट भागेका थिए भने कोही बर्षौदेखिको हिंसाबाट बच्ने प्रयास गरिरहेका थिए । कोही भने राम्रो जिन्दगीको खोजमा रहेका थिए ।

करिब १० लाख शराणार्थी र आप्रवासी जर्मनी पुगेका थिए, जसमध्ये १ लाख ८० हजार ३० बर्ष मुनिका अफगानी पुरुष थिए । खेलकुदमाथि तालिवानले बन्देज लगाएको स्थितिमा क्रिकेट समर्थक र खेलाडीहरु त्यहा पुगेका थिए । क्रिकेटकै कारणले यी युवा पुस्ता भाषा नै नुबझ्ने देशमा स्थापित भएर बसेका थिए । परिणाम स्वरुप जर्मनीमा क्रिकेट बिस्तारै माथि उठिरहेको छ र एक दिन बिश्वमै आफ्नो दरिलो उपस्थिति देखाउने लक्ष्यमा रहेको छ ।

प्रशिक्षणका दौरान शकुर जर्मनीको इन्डोर ट्रेनिङ्गमा

शकुरको इङ्गल्याण्ड सपना पुरा गर्ने इच्छाको कारक क्रिकेट पनि थियो । लंकास्टर बिश्वबिद्यालयमा अध्ययनका साथ उनी राम्रो जागिर गर्दै आफ्नो खेल सुधार्न चाहन्थे । इङ्गल्याण्डको भिसा नपाएपछि उनले साथीहरुसँग अबैधानिक रुपमा आफ्नो सपनाको देश जाने योजना बुने ।

“म निकै जवान थिए र त्यसैले यस्तो निर्णय लिन पुगे । स्थिति खतराले भरिपूर्ण थियो । मलाई कुनै पनि बेला बोर्डरका प्रहरी वा सेनाले गोली हान्न सक्थ्यो । म मर्न सक्थे,” शकुरले सम्झिए ।

शकुरलाई परिवारका सदस्यहरुबाट चाहिए जति पैसा संकलन गर्न दुई महिना लाग्यो तर उनले कसैलाई पनि आफ्नो योजनाका बारेमा भने बताएनन् । पेशावर छोड्ने समय आएपछि उनी इरानको बोर्डरसम्म गाडीमा गए, र अर्को एजेन्टलाई भेटे । एउटा महादेशबाट अर्को महादेश पुग्ने क्रममा यो सिलसिला जारी रह्यो, कार अथवा बसबाट बोर्डरसम्म र त्यसपछि पैदल यात्रा । एउटा एजेन्टबाट अर्को एजेन्ट, ती मध्ये केहीले उनलाई आफ्नो घरमा खान र नुहाउन दिन्थे ।

पेशावर छोडर १० दिनपछि टर्की पुग्दा मात्र उनले परिवारलाई आफ्नो योजनाका बारे भनेका थिए । “उनीहरु दुखी थिए । मैले घर छोडेको कारण थाहा पाउन चाहन्थे ।”

सबै कुरा बुझाएपछि शकुरको परिवार उनको टर्कीदेखि बुल्गेरियासम्मको यात्राका लागि एजेन्टलाई पैसा दिन तयार भए । टर्कीको बोर्डर पार गर्ने पहिलो प्रयासमा उनीहरु बुल्गेरियन प्रहरीको घेरामा परे । “उनीहरुले हामीलाई घेराबन्दीमा पार्दै गोली प्रहार गर्न थाले । उनीहरु हाम्रो पछाडी थिए र हामी फेरि टर्की नै भाग्न बाध्य भयौं । हामीले एक सफा मन भएका टर्कीस सेना भेट्यौं । उनले हामीलाई शराणार्थी शिविरसम्म पुर्याए ।”

उनीहरु अर्को सिमाबाट बोर्डर नाघ्ने प्रयास गर्दा थप समस्यामा फसे, तर सुरक्षकर्मीको हात परेनन् । “हामी एजेन्टसँग थिएनौं । टर्कीका एजेन्टले हामीलाई सिधै गएपछि बुल्गेरियामा अर्को एजेन्टले भेट्छन् भनेका थिए । तर हामीले बाटो भुल्यौं र गलत दिशा लाग्न पुग्यौं । तीन दिनपछि हाम्रो खाने कुरा सक्कियो । हामी रुखबाट स्याउ खाने र खोलाको पानि पिउने गर्न थाल्यौं । शायद ६–७ दिन हिड्यौं,” उनले भने ।

लखतरान शकुर बुल्गेरिया पुगेपछि उनले थप यात्राका लागि शक्ति बटुले । अष्ट्रिया पुगेपछि उनका साथीहरुले दिएको सन्देशले उनको लक्ष्य परिवर्तन हुन पुग्यो । “उनीहरुले मलाई इङ्गल्याण्डमा कठिन हुने बताए । मलाई पक्राउ गरेर फेरि पाकिस्तान नै फर्काउन सक्थे । यदि त्यो हुने हो भने मेरो पैसा र कठिन परिश्रम सबै खेर जाने थियो । केही बेर सोचे अनि म जर्मनी जाने निर्णयमा पुगे । त्यहा क्रिकेट खेल्न नसकेपनि काम त गर्न सक्छु भन्ने भयो ।”

जर्मनीमा उनलाई रेजिन्स्बर्गको १८ बर्ष मुनि रहेका युवाहरुको शराणर्थी शिविरमा राखियो । शिविरमा उनलाई जर्मन भाषा पढाउनुका साथै खान पनि दिइन्थ्यो भने प्रत्येक हप्ता १० देखि १५ युरोसम्म भत्ता उपलब्ध गराइन्थ्यो ।

शकुर जर्मनीमा आफ्नो घर विडेनमा

“त्यहा सबै नयाँ थिए । कसैले कसैलाई नचिन्ने । सबैको मनमा आफू कसरीस्थापित हुने भन्ने थियो । त्यो समय कसैले क्रिकेट खेल्ने इच्छा गरेनन् । सबैको ध्यान जर्मन सिक्दै जागिर खानेमा केन्द्रित हुन पुग्यो । डेढ महिना मैले जर्मन सिक्ने काम बाहेक अरु केही गरिन । दोश्रो महिना भएपछि मैले मेरो भाषा शिक्षकलाई क्रिकेट क्लबको बारे सोधे । उनको एक भारतीय साथी टेनिस बल क्रिकेट खेल्दा रहेछन् । तर अर्को हप्ता मलाई अर्को शहर पठाइयो । क्रिकेट त पाए तर नयाँ ठाँउ जानु पर्यो ।”

शकुरको नयाँ शहर चेक रिपब्लिकको सिमा नजिकै रहेको विडेन थियो । डेढ बर्षमा जर्मन राम्ररी नै बोल्न जान्ने भइसकेपछि उनले कन्स्ट्रक्सनमा डिप्लोमा शुरु गरे । उनलाई शराणार्थी शिविर छोडेर आफ्नै अपार्टमेन्टमा बस्न अनुमति दिइयो । क्रिकेटको खोज फेरि शुरु भयो ।

“नयाँ शहरमा केही नयाँ गर्न निकै कठिन हुन्छ । तपाइलाई केही थाहा हुदैन । सबैभन्दा पहिले त भाषा जान्न पर्यो त्यसपछि मान्छे अनि संस्कृति । क्रिकेट जस्तै केही पाउने हो भने जीवन रमाइलो बन्न सक्छ । तपाई राम्रो महसुस गर्न सक्नुहुन्छ,” उनि भन्छन् ।

“मैले एउटा क्लबसँग कुरा गर्दा गर्मि महिना सक्किनै लागेको थियो । म त्यहा जाडोमा गए र प्रशिक्षण गर्न थाले । अर्को सिजनका लागि उनीहरुसँग सम्झौता पनि गरे ।त्यसपछि मलाई केही राम्रो भइरहेको अनुभव भयो । हरेक सप्ताहन्त मेरो योजना हुन्थ्यो । आइतबार मलाई राम्रो लाग्न थाल्यो, किनभने त्यो क्रिकेट खेल्ने दिन हुने गथ्र्यो ।”

इङ्गल्याण्डको स्रोपसायरबाट ९० को दशकमा अंग्रजेी पढाउन जर्मनी आएका ब्रायन म्यान्टल उनको जिन्दगीमा आप्रवास एक अभिन्न अँग बनिसकेको बताउछन् । म्यान्टल अहिले जर्मन क्रिकेट महासंघ (डिसिबी) का प्रमुख कार्यकारी छन् । उनका अुनसार २०१५ मा डिसिबी एउटा सिमित दायरासम्म महत्वाकांक्षी थियो तर एकाएक ठूलो संख्यामा आप्रवासी खेलाडीहरुको आगमनपछि लक्ष्य अहिले परिवर्तन भएको छ ।

आप्रवासीहरुलाई प्रशिक्षण दिने क्रममा म्यान्टल (रातो ज्याकेट)

“झण्डै हरेक दिन नयाँ क्लबको गठन गर्ने बिषयमा सोधपुछ हुन थाल्यो,” उनले सम्झिए । “म बस्दै आएको एसेनमा १५ बर्ष देखि हामी एउटा टिम बनाउन संघर्षरत थियौं तर एक्कासी त्यहा १ सय खेलाडी आइपुगे । हरेक हप्ताको प्रशिक्षणमा पाँच वा ६ नयाँ अनुहार देखिन थाले ।”

“प्रशिक्षणका लागि आउदा उनीहरु शिविरमा थिए । जर्मन भाषा मात्र पढ्न पाउने उनीहरुलाई काम गर्न दिइएको थिइएन । त्यही भएर क्रिकेट उनीहरुको जिन्दगी थियो । उनीहरुको लागि क्रिकेट सबैथोक थियो र हामी त्यसलाई लिएर अभ्यस्त हुनुपर्ने थियो । ६ दिन केही नगरि बस्ने उनीहरु आइतबार क्रिकेट खेल्न पाउथे र सबै ताकत र उत्साह त्यसमै लगाउथे । कतिले जर्मनीमा क्रिकेट भइरहेको छ भनेर पत्याउदैन थिए ।”

नयाँ आगमनसँगै उनीहरुले भोगका कथाहरु पनि आउन थाले । कतिको आखामा त लामो समयसम्मै त्रास देखिन्थ्यो । उनीहरुसँग यहाबाट जाउ नत्र गोली हानेर मार्दिन्छु भन्ने कहानी हुने गथ्र्यो । कतिको आफ्नो परिवार नै सखाप भएका हुन्थे । तर उनीहरु यहा सबैलाई बिश्वास गर्न सकिन्छ भनेर सोच्दथे । यहा मलाई गोली लाग्दै र बम पनि पड्किदैन भन्नेमा निश्चिन्त थिए,” म्यान्टल आप्रवासीहरुको मनस्थितिको बारेमा बुझाउछन् ।

ठूलो संख्यामा रहेका आप्रवासीहरुमा क्रिकेट खेल्ने प्रतिभा थियो । शकुरसँगै थिए इजातुल्लाह दौलतजाइ जसले अफगानिस्तानको सिनियर टोलीकै लागि ९ खेल खेले । उनले २०१२ को आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपमा ओइन मोर्गन र जोस बट्लरको विकेट पनि लिएका थिए । अर्का ब्याट्स्म्यान अमिर मँगल पनि अफगानिस्तानको अन्तर्राष्ट्रिय टोलीको योजनाका हिस्सा थिए ।

२०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले कुनै पनि देशबाट खेल्नको लागि त्यहा बसेको तीन बर्षमात्र भएपनि पुग्ने निर्णय गरेपछि आप्रवासी खेलाडीहरुले छिटो मौका पाउने भएका छन् । तर यसले इङ्गल्याण्डमा काउन्टि खेलिरहेका जर्मनीबाट उता गएका खेलाडीहरुको लागि पनि बाटो खुलेको छ । ग्लेमोर्गनका अलराउण्डर क्रेग मेसेडे, लेस्टरसायरका फास्ट बलर डाइटर क्लेन, मिडलसेक्सका अफ–स्पिनर ओल्ली राइनर र पुर्व डर्हम विकेटकिपर माइकल रिचर्डसन सबै जर्मनीका लागि खेल्न सक्नेछन् ।

२०१३ ट्वान्टी ट्वान्टी बिश्वकप क्वालिफायरमा नेपालबिरुद्ध बलिङ्ग गर्दै दौलतजाई

उनीहरु सबै एउटै टिमबाट खेल्न बाकी रहेको छ तर जब उनीहरु सँगै खेल्नेछन् जर्मनी एशोसिएट क्रिकेट कै उत्कृष्ट टोली बन्न सक्नेछ । जर्मनीको नयाँ टिमले गत बर्ष भएको युरोपियन ट्वान्टी ट्वान्टी क्वालिफायरमा उत्कृष्ट प्रदर्शन त गरेको थियो तर ग्लोबल क्वालिफायरमा भने स्थान बनाउनबाट चुक्यो ।

जर्मनीले अहिले महिला टिमको बिकासमा पनि ठूलै कदम चालिरहेको छ । जर्मनीको महिला टिममा आप्रवासी वा एसियाली मुलुकका खेलाडीहरु भन्दा जातीय जर्मनहरु नै बढी आकर्षित छन् । “हामीले यहा सबैले नचिन्ने खेलकुद स्थापित गर्ने सपनामा पनि सोचेको थिएनौ । अहिले स्थापित भइसकेको त छैन तर हामी बिश्वकप खेल्न चाहन्छौं । हामीलाई कसैले गम्भिर रुपमा लिदैनथे, अहिले लिइरहेका छन्,” म्यान्टलले भने ।

इङ्गलिस काउन्टिको अनुभव

ब्रिटिस द्विप गुन्र्सीमा गत बर्ष क्रिकेट खेल्न बोलाउदा माइकल रिचर्डसनलाई जर्मन क्रिकेटको बारे केही थाहा थिएन । पुर्व आईसिसि प्रमुख कार्यकारी डेभ रिचर्डसनका छोरा उनी डरहम काउन्टीसँगको करिअर समाप्तिपछि बैंकिङ्ग क्षेत्रमा लाग्ने तयारी गरिरहेका थिए । आफ्ना जर्मन हजुरबुवाको कारण खेल्ने अनुमति भएका रिचर्डसन अब जर्मन क्रिकेटसँगको यात्राका लागि तयार रहेका छन् ।

“शरणार्थीहरुलाई लिएर मेरो धारणा प्रभावित थियो । उनीहरु पाँच वटा सम्म भाषा बोल्न सक्छन् र एक म छु जसको जर्मन ध्वस्त, अंग्रेजी औषत र बिद्यालय समयको अफ्रिकान्स अझै पनि कायम छ,” दक्षिण अफ्रिकामा जन्मिएर त्यही स्कुल पढेका रिचर्डसनले भने । “यी केटाहरु (आप्रवासी) जर्मनमा फरर बोल्न त सक्छन् नै, अंग्रेजीमा वार्तालाप पनि गर्छन र आफ्नो भाषा पनि बोल्छन् ।”

२०१३ को इङ्गलिस काउन्टी च्याम्पियनसिप जितेका रिचर्डसनले डरहममा एक दशक बिताएका थिए । इङ्गल्याण्डको घरेलु क्रिकेटबाट उनले अब खेल्ने साथीहरुसँगको तुलना निकै कम मात्रै हुनेछ । “उनीहरु निकै चाडो उत्साहित हुन्छन् । ट्वान्टी ट्वान्टीमा कसैले एक डट बल गर्दा पनि तालीको गडगडाहट सुनिन्छ । त्यही समय कप्तान आफ्ना साथीहरुलाई मैदानमा यता उता जान चिच्याइरहेका हुन्छन् तर गडगडाहटका कारण कोही सुन्दैनन्,” रिचर्डसन मैदानको अनुभव सुनाउछन् ।

इङ्गलिस काउन्टि डर्हमका लागि खेल्ने क्रममा रिचर्डसन

जर्मनीको राष्ट्रिय क्रिकेट टोलीमा विविधता छ । अफगानिस्तान, पाकिस्तान र भारतमा जन्मिएका खेलाडीहरुलाई दक्षिण अफ्रिकी रिचर्डसन, मेसेडे र क्लेनले साथ दिएका छन् । अर्का काउन्टि च्याम्पियनसिप बिजेता राइनर, जसले इङ्गल्याण्डको लागि पनि खेलेका थिए, जर्मनीमा जन्मिएका हुन् ।

“हामी प्राय अंग्रेजी बोल्छौं । जर्मनीलाई प्रतिनीधित्व गर्ने भएकाले केही जर्मन शब्द पनि प्रयोग गर्छौै । यो एउटा सानो कदम हो र एक सिँगो देशको लागि खेल्न गइरहेकोले गम्भिर पनि छौ । यदि टिममा जर्मनी मै जन्मेर हुर्केका खेलाडी त्याएपछि यो शुरुवातले शुखद अन्त्य पाउनेछ । हाम्रो फिजियो जर्मन थिए तर उनले पछिल्लो प्रतियोगितामा सहभागिता जनाउन पाएनन् । उनी भएको भए हामी जर्मनमा केही वाक्यहरु बोल्ने थियौं र त्यसले हामी जर्मन भएको आधिकारिकता पाउने थियो,” रिचर्डसनले भने ।

अष्ट्रेलियन सहयोग

जर्मनीमै जन्मिएर हुर्किएका क्रिकेटरहरुको खोजको नेतृत्व अष्ट्रेलियन अरबपति ड्यानियल वेस्टनले गरिरहेका छन् । पर्थका वेस्टनले क्रिकेट सिकिरहदा अहिलेका अन्तर्राष्ट्रिय खेलाडी सन मार्स, एडम भोजेज र मार्कस नर्थ उनका समकालीन रहेका थिए । उनी राम्रै विकेटकिपर ब्याट्स्म्यान थिए ।

१५ बर्षको उमेरमै शेयर कारोबार थालेका वेस्टनले केही समयपछि आफ्नै व्यापार शुरु गरे । २३ बर्षको उमेरमा त्यो व्यापार बेचेपछि उनी युरोपका लागि निस्किए । उनी म्युनिखमा बस्ने योजनामा थिएनन् तर संयोगले भएको एक भेटमा उनले जागिर पाए र २०१६ सम्ममा झण्डै तीन करोड डलरको व्यापार स्थापित गरे ।

यस दौरान वेस्टन म्युनिख क्रिकेट क्लबका लागि पनि खेल्दै थिए तर उनले न्युयोर्क जाने निर्णय लिए । उनी शायद जर्मन क्रिकेटबाट पूर्ण रुपमा टाढा भइसकेका थिए तर डेटिङ्ग एप्लिकेसन टिन्डरले जुराएको भेटपछि उनी फेरि जोडिन पुगे । उनले टिन्डरमार्फत युरोपको सबैभन्दा ठूलो योट (बिलासी सानो जहाज) उत्पादक कम्पनी योसेफ मेल्टलकी छोरी मेनुएलालाई डेटिङ्ग गर्न थाले । यो सम्बन्धले उनलाई जर्मनीमै बस्न मनायो भने मेनुएला अहिले उनकी पत्नी छिन् ।

जर्मनीको राष्ट्रिय टोलीको योजनामा रहदा वेस्टन भित्र रहेको व्यापारीलाई स्विडेनमा एक क्रिकेट म्याचपछि पेभिलियन फर्किदै गरेका खेलाडीहरुको लाइभस्ट्रिमिङ्ग भिडियोमा आएको लाखौं भ्युजले आकर्षित गर्यो । जर्मनीमा पनि मानिसले क्रिकेट नदेखुञ्जेल लगानीकर्ताहरुलाई आकर्षित नगर्ने थाहा पाएपछि उनले फेसबुकमा खेलाडीहरुको भिडियो राख्न थाले । यसरी जर्मन क्रिकेट टिभि जन्मियो ।

“फुटबल यसअअघि नै चुचुरो मै छ । यो भन्दा माथि फुटबल युरोपमा कहा पुग्छ मलाई थाहा छैन । लामो समय देखि यो पहिलो स्थानको खेल नै हो,” वेस्टन भन्छन् । “ब्रिटेनको क्रिकेट बाहेक युरोपमा बलले ब्याटमा हिर्काउने खेल नहुनु अचम्म नै हो । फ्रान्स, जर्मनी, स्पेन र इटालीमा फुटबल छ अनि त्यसपछि छुट्टि ।”

जर्मन क्रिकेट टिभिले एक पटक वेष्टनलाई स्विट्जरल्याण्डमा भएको आईस क्रिकेट प्रतियोगितामा डोर्यायो । त्यहा उनले १९९२ मा युएफा च्याम्पियन्स लिगलाई परिवर्तन गरेका फ्रांक लिन्डर्स र थोमस क्लुजका साथै फिफाका प्रशारण प्रमुख रोजर फेनरलाई भेटे । नयाँ खेल प्रबद्र्धन गर्न खोजिरहेका उनीहरुले वेष्टनलाई क्रिकेटको कुनै अवधारणा लिएर आउन भने ।

युरोपियन क्रिकेट लिग ट्रफिका साथ वेस्टन

वेस्टनकै अवधारणा अनुरुप १५ देशका क्लबहरु सम्मिलित युरोपियन क्रिकेट लिग (इसिएल) गत बर्ष सम्पन्न भयो । उक्त प्रतियोगिता युरोपियन क्रिकेट नेटवर्कबाट १ सय १२ देशमा प्रत्यक्ष प्रशारण गरिएको थियो । इसिएलकै कारण जर्मन नागरिक र त्यहाका आप्रवासीहरुलाई क्रिकेट खेल्न प्रोत्साहन मिल्ने वेस्टनले सोचेका छन् ।

“हामी एउटा यस्तो पथमा छौं जहा हामीले युरोपमा रहेका क्रिकेट क्लबहरुलाई खेल्न एउटा कारण दिइरहेका छौं । जब खेल्नको लागि केही हुन्छ, प्रदर्शनले बिस्तारै उचाई लिदै जान्छ । यो प्रतियोगिताको अर्को मतलब के पनि छ भने यदि तपाईको बच्चा युरोपको कुनै क्रिकेट क्लबको सदस्य छ भने उसले फुटबल जस्तै टिभिमा क्रिकेट खेलेको देख्न सकिनेछ,” वेस्टन भन्छन् ।

“पेरिस, मिलान वा बर्लिनको सेन्ट्रल स्टेसनमा जाने हो भने त्यहा यति धेरै ठाँउका मानिसहरु हुन्छन् जहा क्रिकेट ऐतिहासिक रुपमा खेलिएको अथवा मन पराइएको हुन्छ । उनीहरुलाई यो खेलमा लाग्न खाली एउटा बहाना मात्र चाहिएको छ र इसिएल त्यो बहान बन्नेमा म आशावादी छु ।”

वेस्टन यदि सहि छन् भने उनले यस्तो स्थितिको कुरा गरिरहेका छन् जहा क्रिकेट पारम्परिक देशबाट बाहिर अन्य शहरमा फैलनेछ र फलतः यसको शक्ति केन्द्र नै परिवर्तन हुनेछ । वेस्टन यो कुरा आफै मान्न थालिसकेका छन् । “अष्ट्रेलिया र इङ्गल्याण्डमा अहिले केही छैन । २० बर्षको समयमा क्रिकेटलाई भारत, पुरा युरोप र अमेरिकाले चलाउनेछ । इङ्गल्याण्डसँग एक करोड क्रिकेट समर्थक त छन् तर यो भारतको तुलनामा निकै कम हो । अब अमेरिका र युरोपमा क्रिकेटका धेरै समर्थकहरु हुनेछन् ।”

“यो भन्न गइरहेकोमा म माफि माग्छु तर अष्ट्रेलिया र इङ्गल्याण्ड क्रिकेट समर्थकहरुको संख्यालाई लिएर नगन्य हुनेछन् । इसिएल आफै पनि इण्डियन प्रिमियर लिगपछि संसारको दोश्रो ठूलो क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । र इमान्दारिताका साथ भन्ने हो भने यो निकै सहज पनि छ ।”

डिप्लोमा गरेपछि शकुर एउटा कन्स्ट्रक्सन साइटको सुपरिबेक्षक बने । उनी केही दिन अगाडी आफ्नो स्वयम्बरका लागि पेशावर फर्किएका थिए र अब आफ्नी पत्नीका लागि जर्मनीमा बस्ने व्यवस्था मिलाइरहेका छन् । जर्मनीका लागि खेलिएको पछिल्लो खेलमा उनले स्पेनबिरुद्धको ट्वान्टी ट्वान्टीमा ५९ रन बनाएका थिए । “जर्मनीको जर्सीमा खेल्ने मैले कहिल्यै पनि सोचेको थिइन । त्यो इनिङ्गस खेल्दा मलाई एकदम खुशी लागेको थियो । एक बिदेशीलाई उनीहरुले यो मौका दिएकोमा म निकै खुशी छु । हामी यता आयौं र उनीहरुलाई हामीलाई सबै दिए,” शकुर भन्छन् ।

जर्मनीको क्रिकेटमा क्षमताका बिषयमा कुरा गर्दा शकुर, म्यान्टल, रिचर्डसन र वेस्टन सबै चुनौतिहरुका बिषयमा बिधित छन् । उनीहरुलाई आर्थिक, सुविधा र खेलाडीहरु नियमित रुपमा सँगै प्रशिक्षण गर्न मिल्ने वातावरणको लागि पनि मिहिनेत गर्न पर्नेछ ।

तर जर्मनीले गर्दै आएको प्रगतिलाई पनि नकार्न सकिदैन । निकट भविष्यमै जर्मनीले इङ्गल्याण्ड, अष्ट्रेलिया वा भारतजस्ता क्रिकेट महारथीहरुको सामना गर्नेछ भन्ने होइन । तर उनीहरुको लागि उत्कृष्टको श्रेणीबाट एक तह तल रहेका अन्तर्राष्ट्रिय टोलीहरु जस्तै आयरल्याण्ड, स्कटल्याण्ड, द नेदरल्याण्ड्स वा नेपालसँग खेल्न मिल्ने मौका छ ।

कुनै यस्तो दिन पनि आउला जब शकुर पाकिस्तानबिरुद्ध जर्मनीका लागि मैदानमा उत्रनेछन् ।

त्यो मेरो अबको सपना हो, शकुर भन्छन् ।

 

(बिबिसीमा प्रकाशित दि माइग्रेन्ट, दि मिलियनेर एण्ड टिन्डर– दि राइज अफ जर्मन क्रिकेटको अनुवाद)

Click to comment

Trending