Corona Virus

ट्वान्टी ट्वान्टी बिश्वकपको स्थानमा आईपिएल गराउन घुमाउरो पारा अपनाउदै भारत

Published

on

कोरोना भाइरसका कारण इण्डियन प्रिमिएर लिग (आईपिएल) शुरु हुन सकेको छैन । मार्च अन्त्यमा सुरु हुने भनिएको आईपिएल भारतमा लकडाउनका कारण अनिस्चित कालका लागि स्थगित गरिएको छ भने अबको आयोजनाका बिषयमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) टुँगो लगाउन सकेको छैन ।

बिसिसिआईलाई सबैभन्दा टाउको दुखाई बनेको छ अस्ट्रेलियामा अक्टोबर–नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप । यदि ट्वान्टी ट्वान्टी विश्वकप समयमा नै अथवा केहि समयका लागि मात्र सर पनि आईपिएल गराउनका लागि समय अभाव हुनेछ ।

केहि समय अघि विश्वकपको बिषयमा टँंगो लगाउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मे २८ को बोर्ड बैठकले नै यसको टुँगो लगाउने जनाएको थियो । बिसिसिआईलाई विश्वकप आयोजना भएको खण्डमा आफुहरुले आईपिएल गराउनका लागि समय अभाब हुने र आम्दानी हुने ४ हजार करोड भारतीय रुपैयाँ गुम्ने पनि जनाएको थियो ।

त्यति मात्र नभएर १३ औं संस्करणको आईपिएल नै नभएको खण्डमा बिसिसिआर्ई आफै नै चरम आर्थिक संकटमा जाने पनि बताउँदै आएको थियो । सन् २०२१ मा भारतले ट्वान्टी ट्वान्टी विश्वकप आयोजना गर्दै छ भने यसका कारण अहिले सरेको विश्वकप सन् २०२२ मा आयोजना गर्ने बाहेक अरु विकल्प आईसीसीसँग छैन । यस्तो स्थितिमा भारतले घुमाउरो पारामा अन्य बोर्डलाई आफ्नो हातमा लिएर बिश्वकपलाई पाखा लगाउदै आइपिएल गर्ने योजनामा गृहकार्य शुरु गर्न थालेको छ ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले बिहिबार भारतले तीन ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि अगष्टमा त्यहाको भ्रमण गर्ने जानकारी दिएको थियो । कोरोनाले विश्वभर खेलकुद गतिविधिलाई ठप्प पार्नु अघिसम्म यो श्रृंखला योजनामा नै थिएन । यसै समयमा दक्षिण अफ्रिकाले घरेलु मैदानमा वेष्ट इण्डिजसँग दुई टेस्ट र पाँच ट्वान्टी ट्वान्टीको श्रृंखला गर्न गइरहेको थियो ।

दक्षिण अफ्रिकामा भारतीय डायसपोरा निकै ठूलो रहेकाले अब योजना गरिएको श्रृंखलाले दक्षिण अफ्रिकी क्रिकेट बोर्डलाई टेलिभिज प्रशारण अधिकारबाट ठूलो आम्दानी हुने निश्चित छ । तर भारतको लक्ष्य भने अर्कै छ । केही भारतीय मिडियाले बिसिसिआईले दक्षिण अफ्रिकामा श्रंखला गर्न तयार हुनु अक्टोबर–नोभेम्बरको समयमा बिश्वकपको स्थानमा आईपिएल गर्दा दक्षिण अफ्रिकी क्रिकेट बोर्डको समर्थन पाउने बताउदै आएका छन् ।

यस अघि भारतले टाँट पल्टिन लागेको अष्ट्रेलियन क्रिकेट बोर्डलाई सघाउन भन्दै विश्वकप पछि डिसेम्बरमा बन्द रँगशाला भित्र भए पनि टेस्ट खेल्न राजी रहेको जनाएको थियो । अष्ट्रेलियन क्रिकेट बोर्डले पैसा उठाउन सकोस भन्दै भारतले ४ टेस्टको श्रृंखला बाहेक ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय शृंखला खेल्न आफै सुझाव पनि दिदै आएको छ ।

केहि बर्ष पहिले पनि खराब आर्थिक अवस्थामा गुज्रिएको दक्षिण अफ्रिकी बोर्डलाई सहयोग पुर्याउन भन्दै भारतले दुई टेस्टको शृंखलाका लागि भ्रमण गरेको थियो । भारतको समय अभावका कारण दुई टेस्टको मात्र शृंखला भए पनि दक्षिण अफ्रिका क्रिकेट बोर्डले २० मिलियन डलर भन्दा बढी नाफा गर्न सकेको थियो । त्यस समयमा पनि भारतको स्वार्थ भनेको दक्षिण अफ्रिकी बोर्डले उसका खेलाडीहरुलाई निर्वाध रुपमा आईपिएल खेल्न दियोस भन्ने रहेको थियो ।

कोरोनाका कारण दक्षिण अफ्रिकी क्रिकेट बोर्डले आफुहरु खराब आर्थिक अवस्थाबाट गुज्रने र आगामी चार बर्षमा ३६ मिलियन डलर घाटामा जाने प्रक्षेपण गरेको थियो भने दक्षिण अफ्रिका क्रिकेटर्स संघले भने यो रकम ५६ मिलियन पुग्ने अनुमान गरेको थियो ।

यता भारतले अष्ट्रेलियामा श्रृंखलाका लागि राजी हुदै एक बोर्ड आफ्नो पक्षमा पारिसकेको छ भने अब दक्षिण अफ्रिका पनि भारतकै समर्थनमा उत्रने लगभग पक्का नै छ । कोरोनाका कारण सबैभन्दा ठूलो घाटा बेहोर्ने देशमा इङ्गल्याण्ड पनि रहेको छ र क्यालेण्डरमै उल्लेख नभएपनि भारत र इङ्गल्याण्डबीचको कुनै श्रंखला यो समयमा अपेक्ष गर्न सकिने छ ।

Click to comment

Trending