Headline

गोलकिपर नोयर अर्को तीन बर्ष बायर्नमै रहने

Published

on

बायर्न म्युनिखका गोल किपर म्यानुएल नोयर अर्को तीन बर्ष जर्मन बुन्डेलसलिगा च्याम्पियनसँगै रहने भएका छन् ।

नोयरले लामो समय देखि क्लबसँगको छलफलपछि २०२३ को जुन सम्म बस्ने सम्झौता गरेका छन् । यस बिषयमा बाभेरियन क्लबले जानकारी दिएको हो । पछिल्लो समय नोयर बायर्नसँग रुष्ट बनेका थिए । केहि हप्ता अघि मात्र बायर्नका कप्तानले क्लबसँग तलबका बिषयमा गरेको छलफल मिडियामा आएको भन्दै रुष्ट भएका थिए ।

तर जर्मनीको सबैभन्दा सफल क्लबले भने यस बिषयमा केहि जानकारी दिएको छैन । केहि समय यता दुई पक्ष सम्झौताको नजिक आए पनि यस बिषयमा टुँगो लाग्न सकेको थिएन । बायर्नका मालिक कार्ल–हाइन्ज रुमिनिग्गेले पनि नोयर बायर्नमा नै रहनेमा आशावादी रहेको प्रतिक्रिया दिएका थिए ।

“नोयर सन् २०२३ को जुलाई सम्मका लागि सम्झौता गर्न तयार भएकोमा बायर्न खुशी र सन्तुष्ट रहेको छ । उनी हाम्रो क्लबका कप्तान हुन् भने विश्वकै उत्कृष्ट गोल किपर पनि,” रुमिनिग्गेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०११ को सिजनमा बायर्न आएका नोयरले नौं बर्षको बसाईमा सात पटक बुन्डेसलिगा, पाँच पटक जर्मन कप र २०१३ को च्याम्पियन्स लिग जितेका छन् । त्यस्तै उनले सन् २०१४ मा जर्मन टोलीको लागि विश्वकप उचाली सकेका छन् भने चार पटक विश्वको उत्कृष्ट गोल किपर पनि चुनिएका थिए ।

तर ३४ बर्षिय नोयरको लागि बायर्नमा अबको बाटो भने सजिलो पक्कै हुने छैन । बायर्नले २३ बर्षिय गोल किपर एलेक्जेन्डर नुबेललाई पनि क्लबमा आबद्ध गरिसकेको छ ।

Click to comment

Trending