Headline

पाँच महान क्रिकेटर जसको करिअर एक्कासी समाप्त भयो

Published

on

क्रिकेट जति रोचक छ त्यति नै खेलाडीहरुको लागि कतिपय समयमा कठोर पनि हुने गर्दछ । आज उत्कृष्ट प्रदर्शन गर्दै वाह वाही लुट्ने खेलाडी भोलि केही समयको खराब फर्मबाट गुज्रने बित्तिकै टिममै आफ्नो स्थान गुमाउन पुग्छन् । यस्तै केही महान अन्तर्राष्ट्रिय खेलाडीहरु छन् जो उत्कृष्ट लयमा रहदा रहदै पनि टिमबाट बाहिरिएका छन् । हेरौं को हुन् ती पाँच महान खेलाडीहरु ।

जेम्स एण्डरसन

एण्डरसन इङ्गल्याण्ड मात्र नभएर टेस्ट क्रिकेट इतिहासकै उत्कृष्ट बलरहरुमध्ये पर्दछन् । टेस्ट क्रिकेटसँगै उनले एकदिवसीय क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन कायम नै राखेका थिए । तर एक प्रतियोगिताले उनको एकदिवसीय करिअर नै समाप्त गरिदियो ।

सन् २०१५ को बिश्वकपमा इङ्गल्याण्ड समुह चरणबाटै बाहिरिदा टिमका अन्य सदस्यसँगै एण्डरसनको प्रदर्शन पनि निकै दयनीय थियो । उनले प्रतियोगिता अवधिभर ४९ को औषतमा मात्र पाँच विकेट लिएका थिए । त्यसयता एण्डरसन इङ्गल्याण्डको एकदिवसीय टोलीबाट एण्डरसन बाहिर छन् । स्पष्ट के थियो भने बिश्वकपमा बेहोरेको लज्जासपद हारपछि इङ्गल्याण्ड आफ्नो तिब्र गतिको आक्रमणमा युवा जोशको खोजीमा रहेको थियो ।

एण्डरसन अझै पनि इङ्गल्याण्डबाट टेस्ट र एकदिवसीय दुवै तर्फ सर्वाधिक विकेट लिने खेलाडी हुन् । ३७ बर्षिय एण्डरसनले टेस्टमा ५ सय ८४ र एकदिवसीयमा २ सय ६९ विकेट लिएका छन् । इङ्गल्याण्डको एकदिवसीय टोलीबाट निकालिनु किन पनि स्तब्धपूर्ण थियो भने उनी त्यो समय मात्र ३३ बर्षका थिए । अहिले पनि टेस्टमा उत्तिकै सकृय रहेका एण्डरसन अब भने एकदिवसीय टोलीमा नदेखिने लगभग पक्का नै भइसकेको छ ।

स्टुवर्ट ब्रोड

यो सुचिमा पर्ने ब्रोड इङ्गल्याण्डका दोश्रा खेलाडी हुन् । ब्रोडले एकदिवसीय अन्तर्राष्ट्रिय नखेलेको चार बर्ष भइसकेको छ । जब उनी टिमबाट बाहिरिन पुगे उनी मात्र २९ बर्षका थिए । १ सय ७८ एकदिवसीय विकेट लिएका ब्रोडले २०१५ को बिश्वकपपछि एक मात्र श्रंखला खेलेका थिए ।

दक्षिण अफ्रिकाबिरुद्ध भएको उक्त श्रृंखलामा ब्रोडले १६ ओभर बलिङ्ग गर्दै मात्र एक विकेट लिएका थिए । त्यसपछि भने इङ्गल्याण्डका छनोटकर्ताहरुले उनलाई एकदिवसीय टोलीमा राखेका छैनन् । २०१९ को बिश्वकपमा जोफरा आर्चर, मार्क उड, क्रिस वोक्स, बेन स्टोक्स लगायतका युवा तिब्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन दिएपछि ब्रोडको फर्किने सम्भावना निकै न्युन रहेको छ ।

ब्रोड टेस्ट क्रिकेटमा भने अझै पनि सकृय रहेका छन् । ४ सय ८५ विकेट लिएका ब्रोड टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचिमा सातौं स्थानमा रहेका छन् । ३३ बर्षका ब्रोडले अब केही बर्ष बाकी रहेको टेस्ट करिअरमा उनी इङ्गल्याण्डबाट सर्वाधिक विकेट लिने खेलाडी बन्ने आशा गरिएको छ । टेस्टमा उत्कृष्ट प्रदर्शन दिदा दिदै पनि एकदिवसीय टोलीबाट हटाइनु उनको लागि मात्र नभएर इङ्गल्याण्ड क्रिकेटकै लागि त्यो ठूलो झड्का थियो ।

एलिस्टेयर कुक

इङ्गलिस टेस्ट क्रिकेटका महान ब्याट्स्म्यनमा गनिन्छन् कुक । टेस्ट करिअरमा कुल १२ हजार ४ सय ७३ रन बनाएका कुकलाई लामो फम्र्याटको क्रिकेटका अहिलेसम्मकै उत्कृष्ट ओपनर मान्ने गरिन्छ । तर उनको एकदिवसीय करिअर भने तुलनात्मक रुपमा असफल हुन पुगेको थियो ।

मात्र ९२ एकदिवसीय खेलेका कुकले पाँच शतक र १९ अद्र्धशतकका साथ कुल ३२ सय ४ रन बनाएका थिए । लगातार उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गरेका कुकलाई २०१५ को बिश्वकपको लागि इङ्गल्याण्डको कप्तानको रुपमा हेरिएको थियो । तर प्रतियोगिता अघि उनको फर्म बिग्रिएपछि उनले कप्तानी पद गुमाउन पुगे ।

बिश्वकपअघि ६ एकदिवसीयमा मात्र १९ दशमलव ८३ को औषतमा रन बनाएको कुकको स्थानमा ओइन मोर्गनलाई कप्तानी दिइएको थियो । बाया हाते कुकलाई कप्तानबाट हटाइएपछि उनले एक एकदिवसीय पनि खेल्न पाएनन् भने उनको करिअर पनि त्यही समाप्त हुन पुग्यो ।

भिभिएस लक्ष्मण

उत्कृष्ट लयमा रहेको समयमा लक्ष्मणको ब्याटिङ्ग हेर्न निकै आनन्द आउने गर्छ । आफ्नो ६ बर्षे टेस्ट करिअरमा लक्ष्मण भारतीय टोलीको मध्यक्रमको पिलर नै रहेका थिए । भारतले जितेका कतिपय टेस्टहरुमा लक्ष्मणको प्रमुख योगदान हुने गर्दथ्यो । उनले १७ शतकसहित टेस्ट क्रिकेटमा ४५ दशमलव ९७ को औषतमा ८ हजार ८ सय ८१ रन बनाएका थिए ।

तर लक्ष्मणको एकदिवसीय करिअर भने निकै असफल रहन पुग्यो । ८३ एकदिवसीयमा उनले जम्मा २ हजार ३ सय ३८ रन बनाएका थिए । २००५ मा भारतका लागि केही एकदिवसीय खेलेका लक्ष्मणलाई एक बर्षपछि दक्षिण अफ्रिकामा भएको श्रृंखलाका लागि बोलाइएको थियो । त्यहा खेलेको एक मात्र एकदिवसीयमा लक्ष्मण डकआउट हुन पुगे । त्यसपछि उनी कहिल्यै टिममा परेनन् ।

सुरेश रैना, गौतम गम्भिर, महेन्द्र सिँह धोनी र रोबिन उथप्पा जस्ता युवा खेलाडीलाई प्राथमिकतामा राखेपछि लक्ष्मण पर्ने मौका नै थिएन । लक्ष्मणले कहिल्यै पनि भारतका लागि बिश्वकप खेल्न पाएनन् । धोनीसँग राम्रो सम्बन्ध नभएपछि टेस्ट टोलीमा पनि स्थान गुमाएका लक्ष्मणे सन् २०१२ मा क्रिकेटबाट सन्यास लिएका थिए ।

स्टिभ वा

अष्ट्रेलियाका लागि १९८७ को बिश्वकप खेलाडीको रुपमा र १९९९ को बिश्वकप कप्तानको रुपमा जितेका स्टिभ वा यो सुचिमा पर्नु अचम्म हो तर उनले टिममा फेरि फर्कन गरेको संघर्षका कारण नै यसमा छन् । २००१–२००२ को भिबी सिरिजको फाइनलमा पुग्न अष्ट्रेलिया असफल भएपछि वालाई टिमबाट हटाइएको थियो ।

उक्त श्रृंखलाको सात म्याचमा १ सय ८७ रन बनाउदै वाले औषत प्रदर्शन गरेका थिए । तर २००३ को बिश्वकपलाई मध्येनजर गर्दै युवा कप्तानको खोजीमा रहेको अष्ट्रेलियालाई त्यही सिरिजबाट वालाई कप्तानीबाट मात्र नभएर टिमबाटै हटाउने तय गर्यो । वाको ठाँउमा रिकी पोन्टिङ्ग अष्ट्रेलियाको नयाँ कप्तान बन्न पुगे ।

टिमबाट हटाइएपछि निकै असन्तुष्ट बनेका वाले टिममा आफ्नो स्थान फेरि लिने अठोट गरेका थिए । तर एकपछि अर्को गर्दै अष्ट्रेलियन टिमको एक पुस्तामै महान युवा खेलाडीहरुको आगमनपछि उनी फर्किने सम्भावना नै थिएन । वाले ३ सय ३५ एकदिवसीयमा तीन शतक र ४५ अद्र्धशतकसहित ७ हजार ५ सय ६९ रन बनाएका थिए ।

Click to comment

Trending