Headline

लिभरपुल व्यवस्थापकको रोजाइमा मेस्सी की रोनाल्डो ?

Published

on

वर्तमान बिश्व फुटबलमा रोनाल्डो र मेस्सीमा को उत्कृष्ट फुटबल खेलाडी भन्ने चर्चा लामो समय देखि चलिरहेको छ । शायद दुवै खेलाडीले सन्यास लिएपछि पनि एक अर्काका समर्थकहरुबीच यो बिवाद जारी नै रहनेछ ।

फुटबल इतिहासको विभिन्न काल खण्डमा निकै राम्रा र उत्कृष्ट खेलाडीको जन्म भइसकेको छ । अहिलेको समयमा विश्वका उत्कृस्ट फुटबलरको नाम के हो भन्ने प्रश्न सोध्यो भने पोर्चुगिच क्रिष्चियानो रोनाल्डो तथा अर्जेन्टाइन लियोनल मेस्सीकै चर्चा रहनेछ ।

कोहि युभेन्टस तथा पुर्व रियल म्याड्रिड स्टार रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट मान्छन् भने कोही बार्सिलोना लिजेण्ड मेस्सी भन्दा रोनाल्डो । तथ्य भने के हो भने यी दुवै खेलाडीलाई एकै पटक हेर्न पाउनु नै यो पुस्ताको लागि फुटबलले लगाएको सबैभन्दा ठूलो गुण हो ।

पछिल्लो १२ वटा बालोन डि ओर उपाधि मध्ये रोनाल्डो र मेस्सीले संयुक्त रुपमा ११ पटक जितेका छन् भने २०१८ मा बिश्वकपको उत्कृष्ट प्रदर्शनका कारण क्रोएसियन प्लेमेकर लुका मोड्रिच एक मात्र अपवाद रहन पुगे । रोनाल्डो र मेस्सीले बिश्व फुटबलमा राज गरेको एक दशक नै नाघिसकेको छ ।

इङ्गलिस प्रिमियर लिग उपाधि तर्फ अग्रसर रहेको लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले पनि यो चर्चामा आफूलाई सरिक गरेका छन्, र उनको रोजाइमा परेका छन् मेस्सी । मेस्सी उत्कृष्ट खेलाडी रहेको तर क्लोप रोनाल्डोको नाम पनि छुट्टाउन चाहन्नन् र रोनाल्डोलाई सम्पूर्ण खेलाडी मान्छन् । क्लोपले रोनाल्डोको शारिरिक बनावटको प्रसंशा गरेका छन् भने मेस्सीले खेलमा जादु कायम गर्दै सबैकुरा सहज बनाइदिने पनि बताए ।

“मेरो लागि मेस्सी उत्कृष्ट खेलाडी हुन् । हामीले दुबै बिरुद्ध खेलेका छौं र दुबैलाई पछि पार्न असम्भब जस्तै हो । मेस्सीको जन्म देखि नै फुटबलका लागि आवश्यक पर्ने शारीरिक बनावट थिएन र छैन पनि । तर पनि उनी विश्व फुटबलमा आफ्नो छाप छोड्न सफल भएका छन् । त्यसको बिपरित रोनाल्डोको उचाई हेर्नुहोस उनी कति माथि सम्म उफ्रन सक्छन् र द्रुत गतिमा पनि कुद्न सक्छन्,” क्लोपले भने ।

दुई मध्ये को उत्कृष्ट भन्ने प्रश्नको उत्तर दिन निकै कठिन छ भने असम्भब जस्तै पनि । तर दुबै बीच समान के छ भने यी दुबैले यतिका लामो समय सम्म आफ्नो छाप र प्रभाव छाड्न सफल भएका छन् ।

Click to comment

Trending