Headline

नेपाली क्रिकेटको स्तर जान्न सन्दिपको बलिङ्ग हेरे पुग्छ: सक्लैन मुस्ताक

Published

on

पाकिस्तानका पूर्व अफ स्पिनर तथा दुसरा बलका आविश्कारक सक्लैन मुस्ताकले सन्दिप लामिछानेलाई हेरे नेपाली क्रिकेटको स्तरको बारेमा स्पष्ट थाहा हुने बताएका छन् ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीले मङ्गलबार फेसबुकमा गरेको प्रत्यक्ष कुराकानीमा सक्लैनले आफ्नो क्रिकेट करिअर र नेपाली क्रिकेट सम्मको कुरा गर्न भ्याएका थिए । इङ्गल्याण्डले २०१९ को बिश्वकप जित्दा सक्लैन बलिङ्ग प्रशिक्षक रहेका थिए ।

हाल ब्रिटिस नागरिक रहेका सक्लैनले पाकिस्तानका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय गरेर कुल ४ सय ९६ विकेट लिएका छन् । आफूले नेपाली क्रिकेट टोलीको खेल अहिलेसम्म नहेरेको तर युवा लेग स्पिनर सन्दिपको खेलले नेपालको स्तर थाहा हुने बताए ।

“मैले नेपाली टोलीको खेल हेरेको छैन तर सन्दिपले पाकिस्तान सुपर लिगमा बलिङ्ग गरेको राम्ररी हेरेको छु । यदि उनले त्यो स्तरमा यति राम्रो बलिङ्ग गर्न सक्छन् भने नेपाली क्रिकेटको स्तर पनि माथि छ भनेर बुझ्न सकिन्छ,” सक्लैनले एक समर्थकको प्रश्नमा जवाफ दिए ।

सन्दिपले आजकै दिन, अर्थात मे १२, मा दुई बर्ष अगाडी इण्डियन प्रिमियर लिगमा डेब्यु गर्दै विकेट पनि लिन सफल भएका थिए ।

यस्तै सक्लैनले नेपाली क्रिकेटले अझै उचाइ छुनका लागि खेलप्रतिको लभ र प्यासनलाई कायम राख्नुपर्ने पनि बताए । “हामी (पाकिस्ताले) राम्रो संरचना नभएको स्थितिमा पनि क्रिकेटका लागि आफ्नो लभ र प्यासन कायम राख्यौं । हामी कबरिस्तानमा पनि क्रिकेट खेल्थ्यौं । नेपाली क्रिकेटले उचाई छुने हो भने खेल प्रतिको लभ र प्यासनलाई कायम राख्नु पर्छ,” उनले भने ।

ग्रेट हिमालयले केही समय अघि सक्लैनलाई बलिङ्ग प्रशिक्षणका लागि नेपाल ल्याउने घोषणा गरेको थियो तर कोरोना भाइरसको महामारीका कारण उनी आउन सकेका छैनन् । सक्लैनले आफू नेपाल आउने र आवश्यक परेमा नेपाली सिनियर टोलीको प्रशिक्षक बन्नको लागि पनि आफू तयार रहेको बताए ।

Click to comment

Trending