Headline

हामीलाई आईपिएल बाहेकका अन्य लिग खेल्न दिइयोस: रैना, इरफान

Published

on

भारतीय टोलीबाट बाहिर रहेका सुरेश रैना र इरफान पठानले राष्ट्रिय टोलीको दाबेदारीमा नरहेका क्रिकेटरहरुलाई इण्डियन प्रिमियर लिग बाहेकका ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगहरुमा खेल्न दिनु पर्ने बताएका छन् ।

“म आशा गर्छु बिसिसिआई (भारतीय क्रिकेट बोर्ड) ले आईसिसि (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) अथवा फ्राञ्चाइजहरुसँग योजना बनाउदै भारतीय खेलाडीहरुलाई बिदेशी लिगहरुमा खेल्ने व्यवस्था मिलाउनेछ । हामीलाई कम्तिमा पनि दुई वटा फरक लिगहरुमा खेल्ने अनुमति दिए हुन्थ्यो,” रैनाले इन्स्टाग्राममा भएको प्रत्यक्ष अन्तर्वार्तामा भने ।

“हामीले बिदेशी लिगहरुमा गुणात्मक क्रिकेट खेल्ने हो भने त्यो हाम्रो लागि नै राम्रो हुनेछ । अधिकांश अन्तर्राष्ट्रिय खेलाडीहरुले बिदेशी लिगमा राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भइरहेका छन्,” रैनाले भने ।

रैनाभन्दा पहिलो नै टिमबाट बाहिरिएका इरफानले भारतीय टोलीको दाबेदारीमा नै रहेकाहरुलाई खेल्न दिइनुपर्ने बताएका छन् । “देश अनुसार फरक धारणा रहने गरेको छ । माइकल हस्सीले अष्ट्रेलियामा २९ बर्षको उमेरमा डेब्यु गरेका थिए तर भारतमा ३० बर्षको उमेरमा कसैले डेब्यु गर्ने सोच्नै सक्दैन,” जनवरीमा सम्पूर्ण क्रिकेटबाट सन्यास लिएका इरफानले भने ।

पूर्ण रुपमा फिट भएका खेलाडी देशका लागि खेल्न तयार रहनुपर्छ तर ३० बर्ष पुगिसकेका र राष्ट्रिय टोली छनोटको रडारमै नरहेकाहरुलाई बिदेशी लिगहरुमा खेल्न दिइनुपर्छ, इरफानले भने ।

भारतीय क्रिकेट बोर्डले औपचारिक रुपले सन्यास नलिएका खेलाडीहरुलाई आईपिएल बाहेकका फ्राञ्चाइज ट्वान्टी ट्वान्टी लिगहरु खेल्न बन्देज लगाएको छ । गत बर्ष पूर्व अल राउण्डर युवराज सिँहलाई नो अब्जेक्सन सर्टिफिकेट दिएपछि क्यानडामा ग्लोबल च्यालेञ्ज ट्वान्टी ट्वान्टी खेल्दै बिदेशी लिग खेल्ने भारतको पहिलो अन्तर्राष्ट्रिय खेलाडी बनेका थिए ।

Click to comment

Trending