Headline

भारतले अष्ट्रेलियालाई टाँट पल्टिनबाट बचाउन सहयोग गर्ने

Published

on

भारत बिरुद्धको टेस्ट रद्द भएको खण्डमा अस्ट्रेलियन क्रिकेट बोर्ड टाँट पल्टिने अवस्थामा पुगेका कारण भारतले अस्ट्रेलियाको भ्रमण गर्न राजी भएको छ ।

कोरोना भाइरसका कारण कुनै पनि खेलकुद गतिविधि हुन सकेको छैन भने अस्ट्रेलिया पनि यसबाट अछुतो रहन सकेको छैन । बिभिन्न खेलकुद गतिबिधि रद्द हुँदा केहि समय अघि क्रिकेट अस्ट्रेलिया टाँट पल्टिन लागेको समाचार बाहिरिएको थियो । त्यस्तै उसले आफ्नो कर्मचारीहरुलाई पनि तलब खुवाऊन नसक्ने अवस्थामा पुगेको जनाएको थियो ।

अस्ट्रेलियामा नै अक्टोबर–नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप माथि पनि शंकाको बादलले ढाकेको छ । भारतले विश्वकप अघि र पछि क्रमस तीन ट्वान्टी ट्वान्टी र चार टेस्टको श्रृंखला खेल्ने कार्यक्रम तय भएको थियो ।

कोरोनाको असर कायमै रहे दुवै श्रृंखला हुने समभावना निकै कम रहेको छ र यसले अस्ट्रेलियालाई करोडौं क्षति पुग्ने छ । तर भारत अस्ट्रेलियालाई सघाउन भन्दै टेस्ट खेल्नका लागि राजी भएको छ । तर भारतीय टोलीले टेस्ट अघि १४ दिन क्वारेन्टिनमा बिताउन पर्ने हुन्छ जुन हाल कोभिड–१९ का कारण राखिएको नियम हो ।

यसको पुष्टि गर्दै भारतीय क्रिकेट बोर्डका कोषाध्यक्ष अरुण धुमलले टाँट पल्टिन लागेको अस्ट्रेलियन क्रिकेट बोर्डलाई जोगाउन आफुहरु केहि त्याग गर्दै श्रृंखला बचाउन तयार रहेको जनाए । “हामीसँग अन्य कुनै बिकल्प छैन । सबैले क्वारेन्टिनमा १४ दिन बिताउनै पर्छ । हामी क्रिकेट फेरी शुरु गर्न चाहन्छौं । दुई हप्ता लामो समय पनि हैन,” धुमलले भने ।

अस्ट्रेलिया भने चार टेस्टको सट्टामा पाँच टेस्टको श्रृंखला खेलाउन चाहन्छ । तर धुमल आहिले नै चार वा पाँच टेस्ट खेल्ने भनेर निर्णय गरिहाल्न हतार हुने धारणा राख्छन् । त्यस्तै उनले आर्थिक पाटोलाई हेर्ने हो भने भारतीय प्रशारकहरु टेस्ट भन्दा एकदिवसीय अथवा ट्वान्टी ट्वान्टी रुचाउने बताउछन् ।

“यदि खराब अवस्थामा रहेको बोर्डले पैसा कमाउने आशा राखेको छ भने हामी टेस्ट भन्दा ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय गराउने सल्लाह दिन्छौं । तर त्यसको लागि अस्ट्रेलिया सरकारले भारतीय टोलीलाई अस्ट्रेलिया आउनका लागि अनुमति दिन पर्ने हुन्छ,” उनले भने ।

Click to comment

Trending