Headline

८ क्रिकेटर जो अपेक्षा अनुरुप चल्न सकेनन्

Published

on

क्रिकेट वास्तवमै अनिश्चितताको खेल हो । ट्वान्टी ट्वान्टी क्रिकेटको आविस्कारसँगै यो खेलको अनिश्चितता त झनै बढ्दै जान थालेको छ । यसमा खेलको परिणाम अनिश्चित त हुन्छ नै, साथ–साथै खेलाडीको प्रदर्शन पनि । कुनै खेलाडीले कहिले उत्कृष्ट प्रदर्शन दिन्छन् त कहिले लामो समयसम्म त्यसलाई दोहोर्याउन असफल हुन्छन् । एक पटक उत्कृष्ट प्रदर्शन दिने खेलाडीबाट सधै अपेक्षा रहने गर्छ र आज हामी चर्चा गर्नेछौं त्यही अपेक्षामा खरो उत्रन नसकेका खेलाडीहरुको बारेमा ।

कुशल मेन्डिस (श्रीलंका)

कुशल मेन्डिसको अन्तर्राष्ट्रिय करिअरले निकै नै उत्कृष्ट शुरुवात पायो जब उनले अष्ट्रेलियाबिरुद्ध २०१६ मा भएको पलेकेल्ले टेस्टको तेश्रो र श्रीलंकाको दोश्रो इनिङ्गसमा शान्दार १ सय ७६ रन बनाए । उनको त्यो इनिङ्गस यस्तो समय आयो जब श्रीलंकाका उत्कृष्ट ब्याट्स्म्यानद्वय कुमार साँगाकारा र माहेला जयावद्र्धनेको सन्यासपछि १९९६ बिश्वकप बिजेता राष्ट्रको ब्याटिङ्ग संकटमा रहेको थियो । कतिपयले कुशललाई जयावद्र्धनेको उत्तराधिकारीको रुपमा पनि व्याख्या गरे ।

४४ टेस्ट खेलेका कुशलको ओषत ३६ दशमलव ९८ रह्यो तर श्रीलंकाले उनीबाट खोजेको प्रदर्शन एकदिवसीयमा भने पाएको छैन । उनले ७६ एकदिवसीयमा मात्र ३० दशमलव ५२ को औषतमा रन बटुलेका छन् । दुई एकदिवसीय शतक बनाएका २५ बर्षिय कुशलबाट श्रीलंकाले अझै अपेक्षा गर्न भने सक्नेछ ।

सञ्जु स्यामसन (भारत)

अण्डर १९ एसिया कप र बिश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्समा पनि धमाकेदार प्रदर्शन गर्दै स्यामसनले भारतीय मध्यक्रमको ब्याटिङ्गका लागि आफू तयार रहेको सन्देश दिएका थिए । महेन्द्र सिँह धानीको सन्यासपछि स्यामसन उपयुक्त विकेट किपर व्याट्स्म्यान हुने धेरैले लख पनि काटे ।

राष्ट्रिय टोलीमा पर्नका लागि निकै कठिन प्रतिस्पर्धा रहेको स्थितिमा स्यामसनले भारतका लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरे पनि तर चार म्याचमा उनले मात्र ३५ रन बनाए । पछिल्लो खेल न्युजिल्याण्डबिरुद्ध यसै बर्ष खेलेपनि स्याम्सनलाई टिममा फर्कन अहिले निकै गाह्रो पनि छ । किन भने अहिले उनिभन्दा जुनियर रिसभ पन्त उनको स्थानमा रहेका छन् ।

दुई बर्ष अगाडी आईपिएलमा ४ सय ४१ रन बनाउनु बाहेक स्याम्सनको खासै उत्कृष्ट प्रदर्शन देखिएको छैन । यही कारण उनी टिममा पर्न संघर्ष गरिरहेका छन् । सात बर्षको आईपिएल करिअरमा स्यामसन लगातार कम योगफलमा फर्किरहेका छन् जसका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटको ढोका पनि खोल्न सकिरहेका छैनन् ।

ड्यारेन ब्राभो (वेष्ट इण्डिज)

ब्रायन लाराका भतिजा ड्यारेन ब्राभो अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्दा उनलाई वेष्ट इण्डिजका लिजेण्ड ब्याट्स्म्यानसँग तुलना पनि गरिउको थियो । कारण थियो उनले क्रिजमा देखाउने गरेको हाउ भाउ जुन ठ्याक्कै लारासँग मिल्न जान्थ्यो । संयोग कस्तो थियो भने लारा र ब्राभोले आफ्नो पहिलो १२ टेस्टमा एकै संख्यामा रन समेत बटुलेका थिए ।

टेस्टमा ब्राभोको प्रदर्शन सन्तोषजनक रहेपनि एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनी निकै पछि छन् । उनले १ सय १३ एकदिवसीय खेल्दै मात्र २९ दशमलव ९२ को औषतमा २९ सय २ रन बनाएका छन् । ६४ टेस्टमा ब्राभोले ३७ दशमलव ९५ को औषतमा ३५ सय ६ रन बनाएका छन् ।

टेम्बा बभुमा (दक्षिण अफ्रिका)

इङ्गल्याण्डबिरुद्ध २०१५–१६ को टेस्ट श्रंखलाबाट डेब्यु गरेका बभुमाले शुरुवातमै आकर्षक शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय करिअरमा राम्रो शुरुवात गरेका थिए । त्यस यता उनले ३८ टेस्ट खेलिसकेका छन् र त्यो शुरुवातलाई गति दिन सकिरहेका छैनन् । उनले ४० टेस्टमा ३० दशमलव ७५ को औषतमा १८४५ रन बनाएका छन् ।

टेस्टमा ब्याटिङ्ग लागि उपयुक्त मानिएका बभुमा लामो समयदेखि ३० देखि ४० रन भित्रै आउट भइरहेका छन् त्यसैले उनले दक्षिण अफ्रिाबाट धेरै मौका पाइरहेका छैनन् । उनी २०१९ मा दक्षिण अफ्रिकी टेस्ट टिमको उपकप्तान पनि भएका थिए । त्यही बर्ष भारतबिरुद्धको राँची टेस्टमा नियमित कप्तान फाफ दु प्लेसिले टसमा आफू अभागी भएको भन्दै बभुमालाई टसका लागि पठाएका पनि थिए । तर लगातार न्युन स्कोरमा पेभिलियन फर्केपछि बभुमा अहिले टिमबाटै बाहिर रहेका छन् ।

जेम्स निशम (न्युजिल्याण्ड)

६ बर्षअघि वेलिङ्गटनमा भएको घरेलु टेस्टबाट डेब्यु गरेका निशमले भारतबिरुद्ध आफ्नो करिअरको पहिलो टेस्टमै शतक प्रहार गरेपछि उनी चर्चामा आए । १ सय ३७ नटआउट बनाउदै निशमले टेस्टमा आठौं नम्बरका ब्याट्स्म्यानले बनाएको सर्वाधिक व्यक्तिगत योगफलको किर्तिमानको बराबरी पनि गरेका थिए । त्यस यता उनी टिमबाट भित्र, बाहिर हुने क्रम जारी छ ।

अलराउण्डर निशमलाई २०१५ को बिश्वकपका लागि टिमबाट बाहिर राख्दा न्युजिल्याण्ड क्रिकेटको निकै आलोचना पनि भएको थियो । निशमले ६३ एकदिवसीयमा २९ दशमलव २३ को औषतमा १२ सय ८६ रन बनाएका छन् भने ६१ विकेट लिएका छन् । पछिल्लो तीन बर्षमा ब्ल्याक क्याप्सका लागि टेस्ट नखेलेका निशम आफूलाई सेतो बल क्रिकेटका लागि उपयुक्त खेलाडी रहेको साबित गर्न पनि संघर्षरत छन् ।

शार्दुल ठाकुर (भारत)

शार्दुललाई भारतले जन्माएको सबैभन्दा नेचुरल्ली गिफ्टेड बलर मान्ने गरिन्छ । उनले फाल्ने गरेको शर्ट बलसँग अन्य कुनै भारतीय बलरको तुलना नहुने जानकारहरु बताउछन् । तर एकै किसिमको प्रदर्शन दिन नसक्दा उनी भारतीय बलिङ्गको मुख्य हतियार बन्न बाट भने चुकिरहेका छन् । अर्को कारण के पनि हो भने हाल भारतको एकदिवसीय टोलीमा नियमित स्थान बनाइरहेका भुवनेश्वर कुमार, जसप्रित बुम्राह र मोहम्मद सामीले अन्य बलरहरुलाई निकै कम मौका दिइरहेका छन् ।

दिपक चाहर र कुमार घाइते भएपछि भारतीय टोलीमा स्थान बनाएका शार्दुलले ११ एकदिवसीयमा ७ रन प्रति ओभर रन खर्चदै १२ विकेट लिएका छन् । तल्लो क्रममा ब्याटिङ्ग गर्न सक्ने भनेर नै उनलाई टिममा राखिएपनि उनले एकाध इनिङ्गसमा मात्र राम्रो गरेका छन् । ट्वान्टी ट्वान्टीमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन रहेपनि रन धेरै दिने गरेको कारण भारतीय व्यवस्थापनले कुनै पनि समय उनको बिकल्प खोज्न सक्नेछ ।

मिचेल मार्स (अष्ट्रेलिया)

एक समय मिचेल मार्सलाई दुनियाकै सबैभन्दा घातक अलराउण्डर बन्ने खेलाडीको रुपमा हेरिएको थियो । तर अहिले अष्ट्रेलियन टिममा उनी अटाउन पुग्दा पनि व्यापक आलोचना हुन थालेको छ । अष्ट्रेलियन क्रिकेटमा टिम छनोटलाई लिएर छनोटकर्ताहरु निकै कठोर रहने गरेको बताइन्छ तर लगातार खराब प्रदर्शनका बावजुद मिचेल टिममा पर्न सफल भएका छन् । कतिले उनका बुवा रड मार्सले छनोट समितिलाई प्रभाव पार्ने गरेको आरोप पनि लगाएका छन् ।

उत्कृष्ट भविष्यको अपेक्षा गरिएपनि अहिले मिचेलको न बलिङ्गमा राम्रो तथ्यांक रहेको छ न ब्याटिङ्गमा । उनले ३२ टेस्टमा मात्र १२ सय ६० रन बनाएका छन् भने ४२ विकेट लिएका छन् । केही सन्तोषजनक प्रदर्शन रहेको उनको एकदिवसीय करिअरमा भने ३४ दशमलव ९७ को औषतमा १५ सय ३९ रन बनेको छ ।

कार्लोस ब्राथ्वेट (वेष्ट इण्डिज)
सन् २०१६ मा भारतमा सम्पन्न आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप शायदै कसैले भुल्न सक्लान् । कोलकाताको इडेन गार्डेनमा भएको फाइनलमा वेष्ट इण्डिज जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको थियो । बिष्फोटक क्रिस गेललाई दोश्रो ओभरमा पेभिलियन फर्काएपछि इङ्गल्याण्डले खेलमा पकड बलियो जमायो ।

मार्लोन स्यामुएल्स जमेर बसिरहदा पनि वेष्ट इण्डिजलाई अन्तिम ओभरमा १९ रनको आवश्यकता रहेको थियो । क्रिजमा थिए कार्लोस ब्राथ्वेट र अन्तिम ओभर लिएर आए हालका सर्वोत्कृष्ट अलराउण्ड बेन स्टोक्स । खेल इङ्गल्याण्डको पक्षमा गइसकेको सबैले सोचिसकेका थिए । तर स्टोक्सको पहिलो चार बल उनको जिन्दगी कै कठिन ४ बल रहन पुग्यो । ब्राथ्वेटले एक पछि अर्को गर्दै चार बिशाल छक्का प्रहार गरे र वेष्ट इन्डिजलाई उपाधि दिलाए ।

ब्राथ्वेट हाउसहोल्ड नाम बने । उनको नाम धेरैले गुगल बने । फ्राञ्चाइज क्रिकेटमा उनको लागि राम्रै मोल लाग्यो । अपेक्ष ह्वात्तै बढ्यो । तर ब्राथ्वेटको रफ्तार त्यही एउटा इनिङ्गस पछि रोकियो । त्यो इनिङ्गसको तीन बर्षपछि उनले इङ्गल्याण्डमा भएको ५० ओभरको बिश्वकपमा वेष्ट इन्डिजको लागि उत्कृष्ट पारी खेले तर त्यो खेलमा उनको टोली पराजित हुन पुग्यो । अंकमा हेर्ने हो भने ब्राथ्वेट क्रिकेटका सबैभन्दा फ्लप खेलाडीमै पर्ने गर्छन् । ४३ एकदिवसीयमा उनको औषत मात्र १६ दशमलव ४४ रहेको छ भने ट्वान्टी ट्वान्टीमा १४ दशमलव ७६ ।

 

Click to comment

Trending