Headline

भारतलाई उसकै मैदानमा हराउन चाहन्छन् अष्ट्रेलियन प्रशिक्षक

Published

on

शुक्रबार मात्र भारतलाई पछि पार्दै अस्ट्रेलिया आईसीसी टेस्ट बरियताको पहिलो नम्बरमा उक्लियो । झण्डै पाँच बर्षपछि बरियताको पहिलो स्थानमा उक्लिएको अष्ट्रेलिया एक पटक फेरि रिकी पोन्टिङ्गको नेतृत्वमा जस्तै अजेय टिम बन्ने दाउमा छ ।

तर अष्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याँगर भने नम्बर एक मा पुगेको खुशी अहिले नै मनाउने मनस्थितिमा छैनन् । विश्व बरियताको पहिलो नम्बरमा रहेता पनि उनको मुख्य लक्ष्य र चुनौती भनेको बिराट कोहलीको नेतृत्वमा रहेको भारतीय टोलीलाई उसकै घरेलु मैदानमा पराजित गर्ने रहेको छ ।

“हामीलाई थाहा छ यो बरियता कति अस्थिर छ । तर पनि टेस्ट बरियताको पहिलो स्थानमा उक्लिंदा यो समयमा हामी केहि खुशी पक्कै छौं । हामी कस्तो टोली हौं र जहाँ पुग्न चाहन्छौं त्यसका लागि अझै धेरै गर्न बाँकी छ । पछिल्लो दुई बर्षमा हामीले मैदान भित्र मात्र हैन बाहिर पनि राम्रो गर्दै आएका छौं,” ल्याँगरले भने ।

अष्ट्रेलियाका पूर्व ओपनिङ्ग ब्याट्स्म्यान ल्याँगरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले शुरुवात गरेको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्नु प्रमुख लक्ष्य रहेको पनि बताए । “हाम्रो प्रमुख लक्ष्य र चाहाना भनेको टेस्ट च्याम्पियनसिप माथि कब्जा जमाउनु हो । यसका लागि हाम्रो तगारो बन्न सक्ने टोली भनेको भारत हो,” ल्याँगर भन्छन् ।

“यदि हामीले टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राख्ने हो भने भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्नुपर्छ भने उनीहरु अष्ट्रेलिया आउँदा पनि कुनै मौका दिनु हुदैन । बरियताको पहिलो नम्बरमा हुदा सधैं अरुको शिकार बन्ने डर पनि हुन्छ । यस अघि हामी शिकारी थियौं अब हामी शिकार बन्ने पालो हो । त्यसैले हामीले दिन प्रतिदिन उत्कृष्ट हुँदै जान पर्छ,” लामो समय टेस्टमा उत्कृष्ट लय कायम राखेका ल्याँगरले भने ।

ल्याँगरले आरोन फिञ्चको कप्तानीमा रहेको अस्ट्रेलियन टोलीले आफ्नै घरेलु मैदानमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुम्नेमा आशावादी रहेको बताए ।

Click to comment

Trending