Headline

धोनीले भारतीय टोलीबाट खेल्ने सोच्न पनि छोडिसके

Published

on

भारतको क्रिकेट इतिहासका सबैभन्दा सफल कप्तान महेन्द्र सिँह धोनीको राष्ट्रिय टोलीको भविष्य केही समय यता अनिश्चित रहदै आएको थियो । २०१९ को बिश्वकपपछि भारतीय टोलीमा नअटाएका धानी अझै पनि टिमबाट खेल्न आफू फिट रहेको बताउदै आएका थिए ।

आफूलाई साबित गर्नका लागि धोनीको लागि एक मात्र प्लेटफर्म इण्डियन प्रिमियर लिग रहेको थियो । भारतीय प्रशिक्षक रवि शास्त्रीले पनि धोनीले राष्ट्रिय टोलीमा पर्नका लागि आईपिएलमा राम्रो प्रदर्शन गरेर देखाउनु पर्ने बताउदै आएका थिए ।

तर कोरोना भाइरसका आईपिएलको यो बर्षको संस्करण रद्द हुने सम्भावन बढ्दै गएपछि धोनीका लागि भारतीय टोलीमा पुनरागमनको सम्भावना पनि लगभग समाप्त भएको छ । आईपिएल अनिश्चितकालका लागि स्थगित रहेको छ भने भारतमा कोरोनाको संक्रमण बढ्दै जानुका साथै १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

धोनीका केही समकालीनहरुले उनले भारतीय जर्सीमा आफ्नो अन्तिम खेल खेलिसकेको बताएका छन् । नाम नखुलाउने शर्तमा धोनीका एक समकालीनले भारतीय खेलकुद वेबसाइट स्पोर्टसकिडालाई धोनीको भारतीय टिमसँगका करिअर समाप्त भइसकेको बताए ।

“धोनीले अब भारतीय टोलीका लागि खेल्ने तर्फ सोच्न पनि छाडिसकेका छन् । शायद अब अर्को बर्ष हुने आईपिएलपछि उनले फ्राञ्चाइज ट्वान्टी ट्वान्टी लिगहरुलाई लिएर कसरी अगाडी बढ्ने घोषणा पनि गर्नेछन्,” उनका समकालीनले भने ।

राष्ट्रिय टोलीमा नरहेपनि चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिभासनले भने उनी फ्राञ्चाइजको कप्तानको रुपमा कायम रहने बताएका थिए । आफ्नो करिअरको उच्च फर्ममा रहदा नै धोनीले ९० खेलपछि सन् २०१४ मा टेस्टबाट सन्यास लिएका थिए ।

३८ बर्षिय धोनीले ९८ वटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् भने ३ सय ५० एकदिवसीय खेलेका छन् । २००७ को ट्वान्टी ट्वान्टी बिश्वकप जिताउदै भारतलाई सशक्त टिम बनाएका धोनीले २०११ को एकदिवसीय बिश्वकप र च्याम्पियन्स ट्रफि पनि जिताएका थिए ।

Click to comment

Trending