Headline

सोफाबाटै मुरेलाई म्याड्रिड ओपन टेनिसको उपाधि

Published

on

आफ्नो सोफाबाट बाहिर ननिस्किएर नै एण्डी मुरेले म्याड्रिड ओपनको तेश्रो उपाधि जितेका छन् ।

मध्य जुलाईसम्म टेनिस टुरहरु प्रतिबन्ध हुँदा म्याड्रिड ओपनका आयोजकहरुले यसलाई टेनिस वल्र्ड टुर भिडियो गेमका रुपमा प्लेस्टेसन फोर कन्ट्रोलर्समा खेलाएका थिए । प्रतियोगितामा १६ एटिपी खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धात्मक टेनिसबाट केही समय यता बाहिरिएपछि बिश्व वरियतामा १ सय २१ नम्बरमा झरेका स्कटिस मुरेले फाइनलमा बेल्जियमका डेविड गोफिनलाई ७–६ (५) ले हराएका थिए । सेमिफाइलमा डिएगो स्वार्ट्ज्मनको कनेक्सनमा समस्या भएपछि मुरे बाइ पाएर सिधै फाइनल प्रवेश गरेका थिए ।

कम्मरको शल्यकृयामा केही जटिलता देखिएपछि पछि नोभेम्बर यता प्रतिस्पर्धा नगरेका मुरेले पछिल्लो पटक २००८ मा म्याड्रिड ओपनको उपाधि जितेका थिए, त्यति खेर माटोमा । बिहिबारको जितपछि मुरेले १ लाख ५० हजार युरो कुल पुरस्कारको ठूलो भाग जितेका थिए ।

पुरस्कारको केही अंश कोरोना भाइरसका कारण संकटको सामना गरिरहेका तल्लो बरियताका खेलाडीहरुलाई जानेछ । मुरेले आफूले जितेको रकमको आधा भाग ब्रिटेनको नेशनल हेल्थ सर्भिसलाई दिने बताएका छन् ।

महिला तर्फको उपाधि नेदरल्याण्ड्सकी किकी बर्टेन्सले जितिन् । म्याड्रिड ओपनकी डिफेन्डिङ्ग च्याम्पियन रहेकी बर्टेन्सले फाइनलमा फ्रान्सकी फियोना फेरोलाई हराइन् । उनले सेमिफाइनलमा डेनमार्ककी क्यारोलाइन वाज्नियास्कीलाई पराजित गरेकी थिइन् ।

Click to comment

Trending