Headline

टोकियो ओलम्पिक्स अझै सरेमा रद्द नै हुने

Published

on

सन् २०२० मा आयोजना हुने भनिएको टोकियो ओलम्पिक्स कोरोना भाइरसका कारण एक बर्ष पछाडी सरिसकेको छ । नयाँ मिति अनुसार ग्रिष्मकालीन ओलम्पिक्स अब २०२१ जुलाई २३ देखि अगष्ट आठ सम्मका लागि तय गरिएको छ ।

तर यदि कोरोनाकै कारण अर्को बर्ष पनि आयोजना हुन नसकेको अवस्था आएमा टोकियो ओलम्पिक्स नै रद्द गर्ने आयोजक समितिका प्रमुख योसिरो मोरीले जानकारी गराए । पछिल्लो समय कोरोनाको प्रभाब कायम रहे ओलम्पिक्सको भविष्य के हुन्छ भन्ने बहस चलिरहेको छ । कतिपय खेलाडी र पदाधिकारीहरु ओलम्पिक्स शुरु हुनु अघि सम्म कोरोनाको औषधी नआए ओलम्पिक्स आयोजन गर्न नहुने पनि बताउँदै आएका छन् ।

कोरोनाको प्रभाब समाप्त नभएको खण्डमा सन् २०२२ को लागि ओलम्पिक्स थप सर्ने वा नसर्ने बिषयमा मोरि भन्छन्ः “अहँ सर्दैन । फेरी पनि सर्ने भयो भने टोक्यो ओलम्पिक्स नै रद्द हुन्छ ।” यद्दपि मोरी एक पटक सरेको प्रतियोगिता तोकिएको समयमा नै हुनेमा आशावादी छन् । यस पटकको ओलम्पिक्स अन्य ओलम्पिक्स भन्दा भिन्न र मुल्यवान छ किन भने हामी महामारीका रुपमा रहेको कोरोनाको युद्ध जित्दै ओलम्पिक्स आयोजना गर्न गइरहेका छौं, मोरीले भने ।

जापान मेडिकल संघका अध्यक्ष योसिताके योकोकुराले कोरोना भाइरसको भ्याक्सिन वा प्रभावकारी औषधि ननिस्किए २०२१ मा पनि ओलम्पिक्स आयोजना गर्न कठिन हुने मङ्गलबार बताएका थिए । “मैले जापानले ओलम्पिक्स गर्न हुने वा नहुने भन्न चाहिरहेको छैन । तर आयोजना गर्नका लागि गाह्रो नै छ,” उनले भने ।

“जापानमा संक्रमण नियन्त्रणमा आएपनि अन्य देशमा यो महामारी कायमै रहन्छ भने ओलम्पिक्स आयोजना गर्न निकै कठिन हुनेछ,” योकोकुराले भने । केही बिज्ञहरुले मध्य २०२१ सम्ममा कोरोना भाइरसको भ्याक्सिन उपलब्ध हुन सक्ने बताएका त छन् तर अन्य केहीले भ्याक्सिन सफलतापुर्वक नै निर्माण हुने ग्यारेन्टी गर्न नसकिने भन्दै सचेत पनि गरेका छन् ।

Click to comment

Trending