Headline

फ्रान्सको लिग वान र लिग २ यो सिजन सुचारु नहुने

Published

on

फ्रेञ्च सरकारले बन्द रंगशाला सहित सबै खेलकुदका गतिविधिहरुमा प्रतिबन्ध लगाएपछि त्यहाको माथिल्लो श्रेणीको फुटबल यो सिजन सुचारु नहुने भएको छ ।

फ्रान्सका प्रधानमन्त्री एडुवर्ड फिलिपले मङ्गलबार कोरोना भाइरसका कारण लकडाउन मे ११ तारिख देखि मात्र केही खुकुलो बनाउने योजनाको घोषणा गर्दै २०१९–२० को खेलकुद सिजन नै समाप्त भएको बताएका थिए । फ्रान्समा कोरोना भाइरसका कारण २३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १ लाख ६६ हजार संक्रमित रहेका छन् ।

फ्रान्स फुटबलको सर्वोच्च निकायले सिजन जुन १७ मा सुचारु गर्दै जुलाई २५ मा समाप्त गर्ने तयारी गरिरहेको थियो । मार्च १३ देखि फ्रान्समा फुटबल अनिश्चितकालका लागि रद्द गरिएको हो । यो निर्णय पछि फ्रान्सको लिग वान र लिग टु फुटबलको सिजन समाप्त भएको हो ।

लिगको कमिटीले अब यो सिजन नै रद्द गर्दै च्याम्पियन टोली र रेलिगेसनको प्रावधान हटाउनेछ वा अंक तालिकामा यथास्थिान मै रहेका क्लबको भविष्यको निर्धारण गर्छ यो हेर्न भने बाकी छ । लिग वानमा पेरिस सेन्ट जर्माइन २७ खेलबाट ६८ अंक सहित शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा रहेको मार्सेलको २८ बाट ५६ ।

पिएसजीका अध्यक्ष नासेर अल–खिलेफीले फ्रेञ्च सरकारको निर्णयको सम्मान गर्दै सिजन पुरा गर्ने बिकल्पका बारे सोच्ने बताएका छन् । यदि फ्रान्समा खेल हुन सम्भव छैन भने हामी खेलाडीहरुको सुरक्षा र उत्कृष्ट स्थिति सृजना हुन्छ भने बिदेशमा खेल्न चाहन्छौं, खेलाफिले भने ।

लिग टुमा माथिल्लो पाँच स्थानको टोलीलाई मात्र चार अंकले अलग गरेको छ । लोरेन्ट र लेन्स लिग वानको नजिक रहेका छन् । यो सिजन पुरा भएको वा रद्द भएको भन्ने बिषयमा युरोपियन लिगहरुले युएफालाई जानकारी गराउने समयसिमा मे २५ का लागि तोकिएको छ ।

यसअघि नेदरल्याण्ड्सको प्रथम श्रेणीको फुटबल पनि रद्द गरिएको थियो जसका कारण आयाक्सले ३५ औं पटक च्याम्पियन बन्ने अवसर गुमाएको थियो ।

Click to comment

Trending