Headline

इतिहासमा आजः गिल्क्रिष्टको स्क्वास बलले जितिएको २००७ को बिश्वकप

Published

on

१३ बर्षअघि आजकै दिन अष्ट्रेलियाले वेष्ट इण्डिजमा भएको एकदिवसीय बिश्वकप उपाधि जित्दै बिश्व क्रिकेटमा आफ्नो १ दशकदेखिको दबदबा कायम राख्यो । स्टिभ वाको नेतृत्वमा १९९९ मा पाकिस्तानलाई हराएर बिश्वकप जितेको अष्ट्रेलिया २००२ मा रिकी पोन्टिङ्गले कप्तानी सम्हालेपछि क्रिकेट इतिहासकै सशक्त टोली बन्न पुग्यो ।

अष्ट्रेलियालाई क्रिकेटको सुनौलो युगमा डोर्याउने क्रमको शुरुवात पोन्टिङ्गले २००३ को बिश्वकप जित्दै गरे । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको फाइनलमा पोन्टिङ्गले कप्तानी पारी खेले र १ सय २१ बलमा १ सय ४० रनको इनिङ्गस खेल्दै अष्ट्रेलियालाई मात्र दुई विकेटको क्षतिमा ३ सय ५९ रनसम्म डोर्याए । भारत मात्र २ सय ३४ रनमा समेटिएको थियो ।

कप्तानकै उत्कृष्ट पारिले हौसिएको अष्ट्रेलिया त्यसपछि अजेय टोली बन्दै गयो र पालो आयो २००७ को बिश्वकपको । लगातार चौथो पटक बिश्वकपको फाइनलमा प्रवेश गरेको अष्ट्रेलियाको फाइनलमा प्रतिद्वन्दी रहेको थियो श्रीलंका र उसको अगाडी थियो सन् १९९६ को फाइनलमा बेहोरेको पराजयको बदला लिने मौका ।

अष्ट्रेलियाको मिसन पुरा गर्ने क्रममा केन्द्रमा रहे विकेट किपर ब्याट्स्म्यान एडम गिल्क्रिष्ट । ब्रिजटाउनमा बर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा गिल्क्रिष्टले बिश्वकप फाइनलकै उत्कृष्ट इनिङ्गस खेले । मात्र १ सय ४ बलको सामना गरेका गिल्क्रिष्टले आक्रमक ब्याटिङ्ग गर्दै १३ चौका र ८ छक्काको मद्दतमा १ सय ४९ रन बनाए ।

अष्ट्रेलियाले चार विकेटको क्षतिमा २ सय ८१ रनको पहाड जस्तो योगफल खडा गर्यो । दोश्रो इनिङ्गस ३६ ओभरमा घटाइएपछि श्रीलंकाले २ सय ६९ रनको लक्ष्य पायो तर टोली ८ विकेटको क्षतिमा २ सय १५ रनमै रोकियो । गिल्क्रिष्टको इनिङ्गसको चर्चा लामो समय रहन त पुग्यो नै तर त्यो भन्दा पहिले उनले त्यो इनिङ्गस खेल्न अपनाएको रणनीतिलाई लिएर धेरै अलमल मै परे ।

अलमल यति सम्म थियो कि क्रिकेटको नियमनकारी निकाय मेरिलबोन क्रिकेट क्लबले आफ्नो कानुनको किताब नै पल्टाउनु पर्यो । क्रिकेटको कानुनको किताबमा उनले चालेको कदमका बारे स्पष्ट नलेखिएको र बिश्वकप बिजेताको निर्णय भइसकेको स्थितिमा छलफलमै सिमित हुन पुग्यो ।

फाइनलमा ब्याटिङ्ग गर्ने क्रममा गिल्क्रिष्टले आफ्नो ग्लोभ (पञ्जा) मा स्क्वासको बल राखेका थिए । निकै सानो हुने स्क्वास बल हत्केलाको बिचमा राख्दा गिल्क्रिष्टले ब्याटको ह्याण्डललाई स्थिर रुपले समात्न सक्थे र उनको बायाँ हातको तल्लो भाग पनि स्थिर रहन्थ्यो । यसो हुँदा उनी पुरा शक्तिका साथ बलमाथि प्रहार गर्न सफल भएका थिए ।

शतक प्रहार गरेपछि गिल्क्रिष्टले ब्याट उचाल्दै अष्ट्रेलियन टोलीको ड्रेसिङ्ग रुममा स्क्वास बलको प्रयोगले यो भएको भनेर साबित पनि गरेका थिए । उनले स्क्वास बलको प्रयोग गर्दै लामो समय ब्याटिङ्ग अभ्यास गरेका थिए ।

गिल्क्रिष्टको यो प्रयोगलाई क्रिकेट इतिहासमा कसैले ठूलो आविश्कारको रुपमा हेरे भने कसैलै खेल भावना बिपरित गरिएको कार्यत्रको रुपमा । फाइनलको समाप्तिपछि श्रीलंका क्रिकेटका सचिव कँगादरण माथिभननले गिल्क्रिष्टको रणनीतिलाई अनैतिक भन्दै यसले उनलाई बिशेष फाइदा पुगेको दाबी गरेका थिए ।

तर क्रिकेटको लज अफ द गेममा भने यो प्रयोगलाई किटेरै उल्लेख गरिएको भने छैन र एमसिसि गिल्क्रिष्टको रक्षामा पनि उत्रिएको थियो । “यस खेलको नियमको किताबमा ब्याट्स्म्यानले हेल्मेट, प्याड, ग्लोभ र गार्डको बाहिर के प्रयोग गर्न पाउछ भनेर मात्र लेखिएको छ । त्यसैले यो अन्याय भयो भन्न मिल्दैन,” एमसिसिले त्यति बेला भनेको थियो ।

एक सिनियर अष्ट्रेलियन अम्पायरले भने बाहिरी ग्लोभको भित्र अर्को पातलो भित्री ग्लोभ प्रयोग गर्न मिल्छ भने यो पनि मिल्छ भन्दै आफ्नो तर्क प्रस्तुत पनि गरेका थिए । गिल्क्रिष्टले फाइनल पछि लिइएको एक अन्तर्वार्तामा ब्याटिङ्ग प्रशिक्षकको मद्दतमा ब्याटलाई राम्ररी ग्रिप गर्नका लागि स्क्वास बलको प्रयोग गरेको बताएका थिए ।

गिल्क्रिष्ट यस्तो बिवादमा तानिएको पहिलो पटक भने थिएनन् । अबिश्वसनीय रुपमा शक्तिशाली प्रहारहरु गर्न सफल गिल्क्रिष्टलाई एक पटक आफ्नो ब्याटमा ग्रेनाइटका कणहरुको प्रयोग गरेको आरोप पनि लागेको थियो ।

Click to comment

Trending