Headline

को–को हुन् बिश्वका १० धनी क्रिकेटरहरु ?

Published

on

ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगको आगमनसँगै व्यवसायिक क्रिकेटले निकै छलाङ्ग मारिसकेको छ । भारतको इण्डियन प्रिमियर लिग अहिले सबैभन्दा बढी पैसा खर्च गर्ने क्रिकेट लिग भएको छ भने अष्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका, वेष्ट इण्डिजमा हुने लिगहरुले क्रिकेटमा संलग्न खेलाडीहरुको आर्थिक स्तरलाई माथि उकास्न ठूलो मद्दत गरेको छ ।

आफ्नो देशको क्रिकेट बोर्डसँग गरिने सेन्ट्रल कन्ट्रयाक्ट र प्रायोजकहरुसँगको अनुबन्धनले क्रिकेटरहरुलाई खेलमा रहिरहन सघाएको त छ नै, बिभिन्न लिगहरुले क्रिकेट खेलाडीहरुको कमाइलाई लिएर अन्य महँगा खेलका खेलाडीहरुसँग तुलना हुन थालेको छ । क्रिकेटमा सर्वाधिक कमाउने खेलाडीहरुको संख्या भने निकै सिमित रहेको छ । यस्तै सिमित संख्यामा को–को छन् त धनी क्रिकेटरहरु ?

१०. शेन वट्सन –– ३० मिलियन डलर

अष्ट्रेलियन अलराउण्डर शेन वाट्सनले अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्यास लिइसकेका छन् । उनले गत सिजनको इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेलेका थिए । वाट्सनले अष्ट्रेलियाका लागि ३०७ खेलबाट १० हजार ९ सय ५० रन बनाएका थिए । उनको अलराउण्ड प्रदर्शन गर्ने क्षमताले नै उनलाई ट्वान्टी ट्वान्टी लिगहरुमा महँगो मुल्यमा भित्र्याउने गरेका छन् ।

सन् २०१६ को इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले दुई बर्षका लागि ९ दशमलव ५ करोड भारतीय रुपैयामा लिएको थियो । उनी त्यतिखेर सबैभन्दा महँगा खेलाडी भएका थिए । उनको अहिले सम्पत्ति तीन करोड डलर रहेको छ ।

९. युवराज सिंह –– ३५ मिलियन डलर

मुख्य रूपमा एक अलराउन्डरको रूपमा नाम कमाएका युवराज सिँहले भारतीय क्रिकेटमा फिल्डिङ्गका साथै आक्रमक ब्याटिङ्गमा क्रान्ति ल्याउने पुस्ताका खेलाडी हुन् । यसै त आक्रमक खेलाडी, इङ्गल्याण्डका स्टुवर्ट ब्रोडलाई सन् २००७ मा भएको आईसिसि बिश्व ट्वान्टी ट्वान्टीमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेपछि उनको चर्चा अझै चुलिएको थियो ।

उनको त्यही आक्रमक इनिङ्गसपछि सन् २००८ मा इण्डियन प्रिमियर लिगको आयोजन गर्यो र उनीमाथि नै लगातार धेरै मुल्य लाग्न थालेको थियो । हाल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेपछि उनले आफ्नै ब्राण्ड युवीक्यानलाई चर्चित बनाएका छन् । उनको कुल सम्पत्ति ३५ मिलियन डलर रहेको छ ।

८. ज्याक कालिस –– ३५ मिलियन डलर

बिश्व क्रिकेटमा एकपछि अर्को लिजेण्ड एक समय देखिएको समयमा आएका कालिस शायद सचिन तेन्दुल्कर र राहुल द्रविडको छायामा पर्न पुगेका थिए । तर उनी सर्वकालीन महान क्रिकेटर रहेको सबैले स्विकार्छन । सन् २०१४ मा सन्यास लिएका कालिस अहिले पनि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा १० हजार भन्दा बढी रन र २५० भन्दा बढी विकेट लिने एक मात्र खेलाडी हुन् ।

इण्डियन प्रिमियर लिगको शुरुवाती संस्करणहरुमा रोयल च्यालेञ्जर्स बैङ्गलोर र कोलाकाता नाइट राइडर्सबाट खेलेका उनले राम्रै मुल्य पाएका थिए । ट्वान्टी ट्वान्टी क्रिकेट उनको खेलसँग मेल नखाने भनिए पनि कालिसले खेले जति सिजनमा उल्लेखनीय प्रदर्शन गर्न सफल भएका थिए । दक्षिण अफ्रिकाको ब्याटिङ्ग कन्सल्ट्यान्ट पनि रहेका कालिसको कुल सम्पत्ति ३५ मिलियन डलर रहेको छ ।

७. विरेन्द्र सहवाग –– ५० मिलियन डलर

वीरेंद्र सहवाग २१ औ शताब्दीकै आक्रमक क्रिकेटरमध्ये एक मानिन्छन् । भारतीय ओपनर सहवाग आफ्नो समयमा विस्डेन क्रिकेटर अफ द इयरको रुपमा पनि सम्मानित भएका थिए । आईपिएलमा दिल्ली डेयरडेभिल्सको कप्तानी गरेका सहवागको नाममा कैयौं किर्तिमान रहेका छन् ।

भारतबाट उनी टेस्टको एकै पारिमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् भने उनले एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । ५० मिलियन डलरको सम्पत्तिका साथ सहवाग विश्वका धनी क्रिकेटरहरुको सुचिमा सातौंं नम्बरमा पर्दछन् । सहवागले विपन्न विद्यार्र्थीहरूको लागि अन्तर्राष्ट्रिय विद्यालय पनि शुरू गर्दै समाजिक कार्यमा पनि आफूलाई सकृय बनाउदै लगेका छन् ।

६ शेन वार्न –– ५२ मिलियन डलर

हाल कमेन्टेटरको रुपमा काम गरिरहेका शेन वार्न अष्ट्रेलियामात्र नभएर बिश्व क्रिकेटकै उत्कृष्ट बलरमध्ये एक हुन् । बिवादास्पद क्रिकेट करिअर रहेपनि उनको लिगेसीलाई खासै फरक परेको थिएन । श्रीलंकन स्पिन लिजेण्ड मुथैया मुरलिधरणपछि टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने शेन वार्न हुन् । उनको नाममा ७ सय ८ विकेट रहेको छ भने मुरलीधरणको ८ सय ।

औषत टोली हुनुका बावजुद वार्नले पहिलो संस्करणको इण्डियन प्रिमियर लिगमा राजस्धान रोयल्सलाई उपाधि दिलाएका थिए । पहिलो क्रिकेट त्यसपछि कमेन्टेटरको रुपमा कमाएका वार्नसँग पेप्सी र म्याक्डोनल्ड्सको स्पोन्सरसिप रहेको छ । उनको कुल सम्पत्ति ५२ मिलियन डलर रहेको छ ।

५. ब्रायन लारा –– ६० मिलियन डलर

टेक्निकका रुपमा बिश्वकै उत्कृष्ट ब्याट्स्म्यान कहलिएका वेष्ट इण्डिजका ब्रायन लाराले सन् २००८ मा क्रिकेटबाट सन्यास लिएका थिए । उनको बिशेष सफलता टेस्ट क्रिकेटमा रहेको थियो । टेस्ट क्रिकेटमा एकै इनिङ्गसमा सर्वाधिक उच्च योगफल लाराकै नाममा रहेको छ । उनले इङ्गल्याण्डबिरुद्ध ४ सय रन प्रहार गरेका थिए । लाराको लोकप्रियता यति थियो कि क्रिकेट प्रख्यात रहेको हरेक देशमा उनलाई बिज्ञापनमा लिने गरिन्थ्यो, चाहे भारत होस या अष्ट्रेलिया । उनको सम्पत्ति ६२ मिलियन डलर रहेको छ ।

४. रिकी पोन्टिङ्ग –– ६५ मिलियन डलर

बिश्व क्रिकेटका सबैभन्दा सफल कप्तान रिकी पोन्टिङ्ग नै हुन् । उनले अष्ट्रेलियालाई लगातार दुई पटक (२००३ र २००७ ) को बिश्वकप जिताएका थिए । अष्ट्रेलियाले उनको कप्तानीमा खेलेको ३ सय २४ खेलमा २ सय २० मा जित हात पारेको थियो । सन् २०११ को बिश्वकप पछि सन्यास लिएका पोन्टिङ्गले अष्ट्रेलियालाई झण्डै एक दशक क्रिकेटमा राज गरेको राष्ट्र बनाएका थिए ।

हाल उनी इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सको प्रशिक्षक रहनुका साथै थुप्रै प्रतियोगिताहरुमा कमेन्टरी पनि गर्ने गर्छन् । उनको कुल सम्पत्ति ६५ मिलियन डलर रहेको छ ।

३. विराट कोहली –– ९२ मिलियन डलर

कोहली अहिले दुनियका सबैभन्दा उत्कृष्ट र धनी क्रिकेटर मध्ये पर्दछन् । क्रिकेटका लागि पागल भारतमा कोहलीको बलिउड सेलिबे्रटी सरह सुपरस्टार स्ट्याटस रहेको छ । सन् २०१७ यता लगातार आईसिसि बिश्व बरियताको पहिलो तीन स्थानमा कायम रहेका कोहली २०१९ का सबैभन्दा बढी पैसा कमाउने क्रिकेटर रहेका थिए । उनी त्यो बर्ष फोर्बस पत्रिकामा सबैभन्दा बढी कमाएका टप १ सय खेलाडीहरुको सुचिमा पनि परेका थिए । आईपिएलको बार्षिक कमाई र बिसिसिआईको लोभलाग्दो कन्ट्रयाक्ट त छदैछ, कोहलीको नाममा ६ ठूला कम्पनीहरुको स्पोन्सरसिप पनि रहेको छ ।

२. एमएस धोनी –– १ सय ११ मिलियन डलर

सन् २००४ मा भारतीय क्रिकेट टोलीका लागि डेब्यु गरेका पुर्व कप्तान महेन्द्र सिँह धोनी भारतको सबैभन्दा सफल कप्तान हुन् । उनले भारतलाई एकदिवसीय बिश्वकप, ट्वान्टी ट्वान्टी बिश्वकप, च्याम्पियन्स ट्रफि र आईसिसि टेस्ट च्याम्पियनसिप पनि जिताए । यसै कारण उनले बिसिसिआईबाट मोटो रकमको कन्ट्रयाक्ट, आधा दर्जन भन्दा बढी स्पोन्सर र आईपिएलमा चेन्नई सुपर किंग्सको कप्तानी पदमा लगातार कायम रहे ।

भारतीय सिनियर टोलीमा पर्न निकै संघर्ष गरेका धोनीले पछि गएर भारतलाई बिश्व क्रिकेटको सबैभन्दा उत्कृष्ट टोली बनाउनेछन् भनेर कसैले सोचेको पनि थिएन । उनले हात पारेको सफलता पछि नै उनको पछाडी प्रायोजकहरुको लामै लाइन लागेको हो ।

१. सचिन तेन्दुल्कर –– १ सय १५ मिलियन डलर

सचिनलाई परिचयको आवश्यकता पर्दैन । उनी क्रिजमा जति आक्रमक थिए त्यति नै बाहिर शालीन पनि । यही सरलताका कारण उनी बिश्वभर नै मन पराइएका खेलाडी बन्न पुगेका थिए । सचिनको नाममा किर्तिमानको पहाड नै रहेको छ जसलाई तोड्न आधुनिक क्रिकेटमा लगभग असम्भव छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक सहित कुल १ सय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेट र टेस्ट क्रिकेटमा सर्वाधिक रन प्रहार गर्ने उनी एक मात्र खेलाडी हुन् ।

१६ बर्षको उमेरमा भारतीय टोलीबाट डेब्यु गरेयता जब सचिनले उत्कृष्ट प्रदर्शन गर्न थाले उनी लगातार टेलिभिनमा देखिन थाले । उनी एक दर्जन भन्दा बढी ब्राण्डको बिज्ञापन गर्दथै । यसैका कारण सचिनले लगातार करोडौं सम्पत्ति आर्जन गरेका थिए । क्रिकेटबाट सन्यास लिइसक्दा पनि सचिनसँग अझै पनि केही प्रायोजकहरु रहेका छन् ।

Click to comment

Trending