Headline

भारतलाई दुई बिश्वकप जिताउन चाहन्छुः रोहित शर्मा

Published

on

भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर रोहित शर्माले आगामी तीन मध्ये दुई विश्वकप भारतलाई जिताउन चाहेको बताएका छन् ।

‘हिटम्यान’ का उपनामले परिचित शर्माले अस्ट्रेलियामा २०२० र भारतमा २०२१ मा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप सँगै भारतमा नै २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप मध्ये दुईमा भारतलाई उपाधि दिलाउन चाहेको इच्छा ब्यक्त गरेका हुन् ।

“२०२० देखि २०२३ सम्ममा तीनवटा विश्वकप आयोजना हुँदैछन् । तीन मध्ये दुईमा विश्व बिजेता हुने मेरो लक्ष्य छ,” हालसालै भारतीय क्रिकेट टोलीका पुर्व अफस्पिनर हरभजन सिंहसँगको सामाजिक संजालको प्रत्यक्ष कुराकानीमा शर्माले भने ।

“हामीले बिशेष गरि पाँचौं, छैठौं र सातौं नम्बरमा ब्याटिंग गर्न आउने खेलाडीलाई जतिसक्दो धेरै समय दिनु पर्छ । त्यस्तै हामीले एउटा शृंखलामा प्रदर्शन राम्रो भएन भनेर आफ्ना खेलाडीलाई एक पछि अर्को शृंखलामा परिवर्तन गर्नु हुन्न । यो काम त्यती सजिलो पनि छैन । कप्तान बिराट कोहली र प्रशिक्षक रवि शास्त्रीलाई पनि टोली छान्न निकै कठिन छ,” उनले भने ।

उत्कृष्ट लयमा देखिएका केएल राहुलको तारिफ गर्दै शर्माले भनेः “पछिल्लो समय चौथों नम्बरमा राहुलले निकै राम्रो प्रदर्शन गरेका छन् । चौथों नम्बरका लागि विजय शंकर पनि छन् । हामीले च्यो स्थानमा एक जनालाई सुरक्षित गर्नै पर्छ । राहुलले ब्याटिंग गरेको हेर्न छुट्टै मज्जा र आनन्द लाग्छ । उनले ब्याटिंग गरेको हेर्दा आँखालाई पनि रमाइलो हुन्छ ।”

३२ बर्षिय शर्माले ३२ टेस्टमा ६ शतकको मद्दतमा २ हजार १ सय ४१ रन प्रहार गरेका छन् भने ट्वान्टी ट्वान्टीमा १०६ खेलमा ४ शतक सहित कुल २ हजार ७ सय ७३ रन बनाएका छन् । उनी सबैभन्दा सफल भने एकदिवसीय अन्तर्राष्ट्रियमा रहेका छन् ।

रोहितले २ सय २४ एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ दशमलब ३ को औषतमा २९ शतक र ४३ अर्धशतक सहित ९ हजार १ सय १५ रन बनाइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा बनेका कुल आठ दोहोरो शतक मध्ये रोहितको नाममा तीन रहेको छ ।

Click to comment

Trending