Headline

युरोपको सामुहिक निर्णयले खोस्न सक्छ लिभरपुलको उपाधि

Published

on

योर्गेन क्लोपको लिभरपुलले एउटा खुट्टा इङ्गलिस प्रिमियर लिगको उपाधिमा राखिसकेको छ । कोरोना भाइरसले बिश्व भर सञ्चालनमा रहेका लिग स्थगित हुनुअअघि लिभरपुलले दोश्रो स्थानको म्यानचेस्टर सिटीसँग २५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । मात्र ९ खेल बाकी रहेको स्थितिमा उ उपाधिको असली हकदार नै रहेको छ ।

तर तीन दशकमा पहिलो पटक उपाधि नजिक रहेका लिभरपुल समर्थकहरु इङ्गलिस एफएले डच लिगको अनुशरण गर्न बाध्य नहोस भनेर प्रार्थना गरिरहेका छन्। शुक्रबार डच एफएले २०१९–२० मा बाकी रहेको प्रथम श्रेणीको लिग एरडेभिसि औपचारिक रुपमा रद्द गर्नुका साथै उपाधि बिजेताको छिनोफानो र रेलिगेसन पनि नहुने घोषणा गर्यो ।

रद्द हुनुअघि रहेको बरियतालाई लिएर नै निर्णय लिएको भए दोश्रो स्थानको एजि अल्कमारसँग मात्र गोल अन्तरले अगाडी रहेको आयाक्स ३५ औं पटक च्याम्पियन हुने थियो । ७५ प्रतिशत खेलहरु समाप्त भइसकेको स्थितिमा पनि डच लिग यो सिजन नभए सरह हुन पुग्यो । दोश्रो श्रेणीबाट पनि कुनै टोली माथिल्लो श्रेणीमा उक्लने छैनन् । नेदरल्याण्ड्समा एक बर्ष फुटबल गतिविधि नै नभएको स्थिति बनेको छ ।

डच फुटबलको यो निर्णयले यस पटक त उपाधिको खडेरी तोडिने भयो भनेर खुशियाली मनाउन मात्र बाकी रहेका प्रत्येक लिभरपुल समर्थकहरुको रौ ठाँडो भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले अगष्ट अन्तिम सम्ममा यो सिजन सक्काउन आफू तत्पर रहेको बताउदै आएको छ । तर यो सम्भव छ भनेर कसैले दाबी गर्ने स्थिति छैन ।

डच एफए शुरुवातमा लिग सक्काउने योजनामा रहेपनि सरकारले सामुहिक जमघटमा प्रतिबन्ध लगाएपछि रद्द गर्न बाध्य भएको थियो । यदि अन्य युरोपियन मुलुकका चिकित्सा अधिकारीहरुले यही उपाय अपनाउने र अन्य देशको सिजन पनि पुरा गर्न नसकिने परिस्थितिमा कठिन निर्णय लिनुपर्ने हुनसक्छ ।

नेदरल्याण्ड्समा अन्य क्लबहरुले निर्णय स्विकारेपनि युत्रेखले भने कानुनी उपाय खोजिरहेको छ

युएफाले रोकिएका लिगहरुको निर्णयका लागि एकै किसिमको धारणा अँगिकार गर्न निर्देशन दिन सक्छ । युरोपका अन्य प्रमुख लिगहरुले च्याम्पियन घोषणा नगर्ने र रेलिगेसन/प्रमोसन को प्रावधान पनि नराख्ने हो भने इङ्गलिस प्रिमियर लिग अधिकृतहरु पनि त्यहि निर्णय कायम गर्न दवाबमा आउन सक्छन् । एरडेभिसिमा यो बर्ष च्याम्पियन नहुने निर्णयको असरले लिभरपुल एक दम नजिक रहेर पनि उपाधि बिमुख हुन सक्छ ।

मार्चमा प्रिमियर लिग स्थगित हुनुअघि २५ अंकको अग्रता लिएको लिभरपुललाई टार्नै नसकिने दुर्घट्ना भएको स्थितिले मात्र उपाधिबाट बञ्चित गर्ने थियो, अहिले पनि रहेको छ । नेदरल्याण्ड्समा भने स्थिति फरक थियो । पहिलो दुई टोलीबीच गोल अन्तरको मात्र भिन्नता थियो । युरोपका अन्य ठूला लिगहरुको अंक तालिका पनि एरडेभिसिमा जस्तै तिब्र प्रतिस्पर्धा रहेको छ ।

जर्मन बुन्डेसलिगामा पहिलो तीन टोली मात्र ४ अंकको दुरीमा रहेका छन् भने स्पेनिस लिगमा रियल म्याड्रिड शिर्ष स्थानको बार्सिलोनाभन्दा मात्र दुई अंकले पछाडी रहेको छ । इटालीमा शिर्ष स्थानमा रहेको क्रिश्चियानो रोनाल्डोको युभेन्टस लाजियो भन्दा मात्र एक अंकले अगाडी रहेको छ । यी तीन वटै लिगमा यथास्थितिमा उपाधि बिजेता घोषणा गर्न कठिन छ भने डच लिगजस्तै सिजन नै रद्द गर्नुपर्ने बाध्यकारी परिस्थिति लिग कमिटीहरुलाई रहेको छ ।

लिग हुनै नसक्ने स्थिति सृजना हुने हो भने लिभरपुलमाथि सबैभन्दा ठूलो अन्याय हुने देखिएपनि इङ्गलिस प्रिमियर लिगको सिजन नै रद्द गरिनुपर्ने आवाजहरु उठिरहेका छन् । प्रतिद्वन्दी क्लबहरुलाई यो निर्णयले क्लोप र लिभरपुललाई पर्ने असरका बारे खासै मतलब पनि छैन ।

इटालीमा रोनाल्डोको युभेन्टस लाजियो भन्दा मात्र एक अंकले अगाडी रहेको छ

सिजन रद्द गर्ने निर्णयका अन्य असरहरु पनि छन् । २९ खेलबाट २१ अंक मात्र बटुलेको नर्विच सिटी रेलिगेसनबाट बच्ने औकात नै राख्दैन । कुनै समयको ठूलो टोली लिड्स युनाइटेड अहिले दोश्रो श्रेणीको इङ्गलिस च्याम्पियनसिपबाट पछिल्लो १६ बर्ष यता प्रिमियर लिगमा उक्लन एक कदम मात्र टाढा छ । तर उसले अर्को सिजन शुरुवातबाट नै संघर्ष गर्नुपर्ने हुन सक्छ । लिड्स अर्को एक दशक वा त्यो भन्दा बढी समय प्रिमियर लिगको यति नजिक नहुन पनि सक्छ । यही स्थिति वेष्ट ब्रोमविच आल्बियनको पनि छ ।

जति नकार्न खोजिएपनि, सिजन रद्द गर्ने निर्णय सबैको लागि निष्पक्ष हुनेछैन । शुक्रबार नेदरल्याण्ड्सले गरेको निर्णयले डच दोश्रो श्रेणीमा पहिलो दुई स्थान पक्का गरिसकेका टोली काम्बुर र डि ग्राफ्सकप आफ्नो गल्ति केही नभएपनि प्रथम श्रेणीको प्रमोसन र त्यो सँगै आउने प्रशारण अधिकारको राजस्व पनि गुमाउन पुगेका छन् । त्यही परिस्थिति अन्य लिगहरुमा पनि उत्पन्न हुन सक्छ ।

बर्षौपछि लिभरपुलले आफ्नै बनाएको प्रिमियर लिग सिजनमा ब्रेक लागेको छ, र क्लबको ३० बर्ष यता साकार बन्ने संघारमा रहेको उपाधि सपना यही निर्णयमै निर्भर छ ।

Click to comment

Trending