Headline

इङ्गल्याण्डमा कोरोना फैलिएको कारण हुनसक्छ लिभरपुल–एटलेटिकोको खेल

Published

on

लिभरपुल सिटी काउन्सिलले इङ्गल्याण्डमा कोरोना भाइरस महामारीको रुपमा फैलिनुको एक कारण च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल र एट्लेटिको म्याड्रिडबीचको खेल पनि हुन सक्ने भन्दै त्यसको छानबीन गर्ने भएको छ ।

एन्फिल्डमा भएको प्रि–क्वार्टर फाइनलमा लिभरपुलले एट्लेटिकोसँग खेल्दा ५२ हजार समर्थकको उपस्थिति रहेको थियो । उक्त खेलमा ३ हजार समर्थक स्पेनबाट आएका थिए । मार्च ११ मा भएको उक्त खेल अघि इङ्गल्याण्डमा कोरोनाले धेरै प्रभाव गरेको थिएन भने स्पेनमा महामारीको शुरुवात भइसकेको थियो ।

म्याड्रिडमा मार्च ११ देखि नै आंशिक लकडउन शुरु भएको थियो । तर पनि युएफाले दोस्रो खेल रद्द गर्न नमाने पछी म्याड्रिड समर्थकहरु इङ्गल्याण्ड पुगेका थिए ।

“लिभरपुल सिटी काउन्सिलले लिभरपुल विश्वबिद्यालय र जोन मोरेस विश्वबिद्यालयसँग साझेदारी गर्दै त्यस खेलमा कोभिड–१९ को संक्रमण फैलिएको अथवा नफैलिएको छानबिन गर्न गइरहेको हो,” एक विज्ञप्तिमा भनिएको छ ।

लिभरपुल सिटी काउन्सिलको सार्वजनिक स्वास्थ्य टोली साझेदारहरूसँगै हाल यस परियोजनाको आकार र क्षेत्रको आकलन गर्दैछ । शहरको वर्तमान ध्यान महामारीको सामना गर्न धेरै केन्द्रित भएकोले काम पूरा हुनको लागि कुनै समय वा मिति तोकिएको छैन, लिभरपुल सिटीका मेयर स्टिभ रोथरमले भनेका छन् । उनले त्यो खेल खेलाउनु पार्ने आवश्यकता पनि नदेखिएको बताउदै आएका थिए ।

रोथरमले बिबिसी स्पोर्टससँग कुरा गर्दै भनेः “यदी खेलमा जम्मा भएको एक संक्रमितले अरुलाई यो रोग सार्न सक्छ भने यो खेलले नसारेको होला भन्न सकिदैन । मलाई त यो खेल हुनु हुँदैन थियो भन्ने लाग्छ तर भयो र यो बिवादास्पद कुरा हो ।”

यसअघि च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टा र भ्यालेन्सियाबीचको खेललाई जैविक बमको संज्ञा दिइएको थियो । लिभरपुल र एट्लेटिकोको खेलपछि लिभरपुलको एनएचएस हस्पिटलमा मात्रै २ सय ५० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।

Click to comment

Trending