Headline

स्पेनलाई बिश्वकप जिताउनु अघि डिप्रेसनमा थिए इनिएस्टा

Published

on

स्पेन फुटबल लिजेण्ड आन्दे्रस इनिएस्टाले सन् २००९ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताइसकेपछि र आफ्नो देशलाई २०१० को बिश्वकप जिताउनु केही महिनाअघि डिप्रेसनसँग संघर्ष गर्नु परेको खुलासा गरेका छन् ।

राकुटेन टिभीमा दुई दिनअघि रिलिज गरिएको “आन्द्रेस इनिएस्टा – दि अनएक्सपेक्टेड हिरो (अनपेक्षित नायक)” नामक डकुमेन्टरीमा ३५ बर्षिय इनिएस्टाले आफुले गरेको मानसिक संघर्षका बारे बताएका छन् । च्याम्पियन्स लिगका दौराना चोट बोक्नुका साथै उनका आत्मिय मित्र ड्यानिएल हार्केको मृत्यु भएपछि इनिएस्टा मानसिक रुपमा बिक्षिप्त भएका थिए ।

हार्के बार्सिलोना शहरमा रहेको अर्को स्पेनि प्रथम श्रेणीको क्लब इस्पान्योलका कप्तान रहेका थिए । हार्केको २६ बर्षको उमेरमै ह्ृदयघातका कारण निधन भएको थियो ।

“दिन बित्दै जान्छ र त्यसपछि तपाईलाई महसुस हुन्छ तपाई सुधार गरिरहनुभएको छैन, तपाईलाई राम्रो लागिरहेको छैन, आफैमा हुनुहुन्न । यस्तो समयमा आफूमाथि बादल मडारिन्छ र सबै कुरा अध्यारो बन्दै जान्छ,” भावुक इनिएस्टाले त्यो समय सम्झिदै भने । “हार्केको मृत्यु मेरो लागि निकै घातक थियो । यति घातक की मलाई केही शक्तिशाली चिजले ढाले जस्तो महसुस हुन्थ्यो ।”

इनिएस्टाकी आमा मारिया लुआनले उनले आफूसँगै सुत्न सक्छु भन्दै सोधेको सम्झिन् । “मलाई त्यो दिन याद छ, उनी त्यति सहज महसुस गरिरहेका थिएनन् । म तल सुतिरहेको थियो त्यसपछि उनले मलाई ममि म तपाईसँगै सुत्न सक्छु भनेर सोधे । त्यो दिन मलाई दुनिया उल्टेको जस्तो लागेको थियो,” उनले भनिन् ।

उनका बुवाले पनि इनिएस्टाले फुटबलबाट केही समयको लागि बिश्राम लिनुपर्ने महसुस गरेको बताएका थिए । इनिएस्टाको वरिपरि रहेका बार्सिलोना टिममेट र प्रशिक्षक पेप ग्वार्डियोलाकै कारण उनी चाडो ठिक हुदै गएको उनकी मनोचिकित्सक इन्मा पुगले बताइन् ।

“ग्वार्डियोलाले त्यो समय प्रशिक्षकको रुपमा पहिलो पटक यस्तो अवस्थाबाट गुज्रिरहेको बताएका थिए । अहिलेको समयमा हामीलाई आन्द्रेस खेलाडी भन्दा पनि व्यक्तिको रुपमा महत्वपूर्ण रहेको बताए,” पुगले भनिन् ।

चोट र मानसिक संघर्षकै कारण इनिएस्टाले २००९–१० को सिजनमा बार्सिलोनाका लागि अधिकांश खेलहरुमा बेञ्चबाट आएपनि इनिएस्टा स्पेनले इतिहासमै पहिलो पटक बिश्वकप जित्दाका महत्वपूर्ण सदस्य रहेका थिए । यस क्रममा उनले नेदरल्याण्ड्सबिरुद्धको फाइनलमा एकमात्र बिजयी गोल पनि गरेका थिए ।

इनिएस्टाले बार्सिलोनका लागि त्यसपछि ४ सय ५० खेल खेल्दै लियोनल मेस्सीलाई २०१८ मा कप्तानको आर्म ब्याण्ड हस्तान्तरण गरेका थिए अहिले उनी जापानी क्लब भिसेल कोबेका लागि खेलिरहेका छन् ।

Click to comment

Trending