Headline

कसरी इङ्गलिस फुटबलमा नयाँ शक्ति बन्दैछ न्युकासल ?

Published

on

ढिलो वा चाडो न्युकासल युनाइटेडले नयाँ मालिक पाउने छ । गर्विलो ईतिहास बोकेको न्युकासल इङ्गलिस प्रिमियर लिगमा अमिट छाप छोडेको क्लबमध्ये पर्दछ । इङ्गल्याण्डका अरबपति माइक एस्लीबाट ३०० मिलियन पाउन्डमा उम्किसकेको यो क्लबले अब आउने दिनमा आधुनिक फुटबलमा कस्तो परिचय देला त ?

“मलाई न्युकासलका समर्थकहरुले क्लबमाथि सधै राख्ने गरेको आस्था र बिश्वास मन पर्छ । तर माइक एस्ली मालिक रहदा पहिलो पटक मैले त्यो बिश्वास र आस्था हराएको पाए । अब क्लबले कोल्टे फेर्ने मात्र होइन त्यो बिश्वास र आस्था पनि फर्किनेमा बिश्वस्त छु,” क्लबका लागि ९५ गोल गरेका माल्कम म्याक्डोनाल्ड भन्छन् ।

न्युकासललाई साउदी कम्पनीले खरिद गर्न गइरहेको छ । युरोपेली जीवन भन्दा त्यहाको शासन पूर्ण रुपमा फरक रहेपनि बेलायतकै रुबेन ब्रदर्श र अमाण्डा स्टेभलीसँग साझेदारी हुने भएकोले सन्तुलन कायम रहने बिश्वास धेरैले लिएका छन् । अन्तिम बिश्लेषण के रहन्छ भने व्यापार भनेको व्यापार हो ।

एस्ली त्यही मालिक हुन जसले २०१७ मा न्युकासल बेच्ने घोषणा गरे सँगै क्लबलाई खासै मतलब नगर्दै कुनै फेरबदल गर्न चाहेनन् । धेरै ठूला हस्तीले न्युकासल किन्ने इच्छा देखाए पनि आफ्नो फाईदाको लागि क्लब नबेचेको आरोप उनी माथि लगेको थियो । तर उनले अब नयाँ ग्राहक पाएका छन् र प्रिमियर लिगमा नयाँ मालिकको नाम दर्ता गराउने प्रकृया पनि शुरु भईसकेको छ ।

कस्ले किन्दै छ न्युकासल ?

न्युकासलको नयाँ मालिक हो साउदी अरबको सार्वजनिक लगानी कोष (पिआईएफ) जसको नेतृत्व राजकुमार महमद बिन सलमानले गरिरहेका छन् । न्युकासलका नयाँ लगनी कर्ता पिआईएफले धेरै बर्ष पहिले पनि प्रिमियर लिग क्लब किन्ने प्रयास गरेको थियो ।

एक स्रोतका अनुसार खरिद योजनामा साउदीको पिआईएफले ८० प्रतिशत शेयर आफू राख्दै अमाण्डा स्टेभलीको पिसिपी क्यापिटल पार्टनर र रुबेन ब्रदर्शबीच समान १० प्रतिशत शेयर विभाजित गर्नेछ । पिआईएफ साउदीको सार्वभौम सम्पत्ति कोष हो जसले विश्वभरि बिभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।

पिसिपी क्यापिटल पार्टनर्स एक उद्यम पूंजी कम्पनी हो भने रूबेन ब्रदर्श डेभिड र साइमन भने मुख्य रूपमा सम्पत्ति लगानी क्षेत्रमा लगानी गर्ने कम्पनी हो हो । कानुन र प्रिमियर लिगको नियम सम्मत रुपले क्लबको बिक्री प्रकृया अघि बढाएको खण्डमा यासिर–अल रुमायान क्लबको अध्यक्ष बन्ने छन् । साउदी अरबको उबर र सफ्टबैंकसँग पनि संलग्न रहेका अल–रुमायानले न्युकासलमा अमाण्डा स्टेभली सँगै काम गर्ने बताएको छ ।

२००८ मा अबु धाबीका शेख मंसूरले म्यानचेस्टर सिटी खरिद गर्ने बेला मुख्य भूमिका निभाएकी अमाण्डा स्टेभलीले न्युकासललाई नयाँ मालिक दिन उतिकै महत्वपूर्ण भूमिका खेलेकी छिन् । २०१७ मा क्लब बिक्रीमा राखेसँगै एस्लीएसँग सम्भावित खरिद सम्बन्धी वार्तामा उनी संलग्न रहेकी थिइन ।

समर्थकहरुले एस्लीबिरुद्ध नाराबाजी पनि गरेका थिए

“धेरै समय देखी न्युकासल एक व्यक्तिले आफ्नो स्वार्थ अनुरुप चलाएको क्लब थियो तर अब परिवर्तन आउने छ भन्नेमा म आशावादी रहेको छु । नयाँ मालिकले निस्वार्थ क्लबलाई नयाँ उचाइमा पुर्याउने छन् । समर्थकहरु को हैसियतले हामी क्लब सब नयाँ ढँगले अगाडी बढेको हेर्न चाहन्छौँ । हामी ट्रफीहरू वा च्याम्पियन्स लिग जित्न माग गरिरहेका छैनौं । हाम्रो चाहाना अन्य क्लब भन्दा न्युकासल दिगो, पारदर्शी र महत्वाकांक्षी ढँगले चलोस भन्ने हो,” न्युकासल फ्यान्स क्लबका अध्यक्ष एलेक्स हर्स्टले भने ।

पैसाको भुमिका महत्वपूर्ण

रुसी धनाढ्य रोमन अब्राहिमोभिचले सन् २००३ मा चेल्सी किने कै सिजन क्लब दोश्रो भएको थियो । अब्राहिमोभिचले लगातार भारी लगानी गर्दै ठुला खेलाडी भित्र्याएपछि चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिगसँगै थुप्रै ट्रफिहरु पनि जित्न पुग्यो । उनले के साबित गरिदिए भने स्थापित ठूला क्लबहरुलाई माथ दिन राम्रै टोली चाहिन्छ र त्यसका लागि मनग्गे पैसा ।

अबु धाबीका तेल व्यापारी शेख मन्सुरले पनि अब्राहिमोभिचको अनुशरण गर्दै म्यानचेस्टर सिटीलाई इङ्गलिस फुटबलको महारथी बनाएर देखाइदिए । पहिले चेल्सी त्यसपछि सिटीले निकै ठूलो रकम खर्चेपछि अन्य स्थापित क्लबहरु भने संघर्ष गर्न थालेका थिए । एक मात्र अपवाद सन् २०१५ मा लेस्टर सिटीको स्तब्धपूर्ण प्रिमियर लिग जित रहेको थियो ।

यता फ्रान्समा पनि कतार स्पोर्टस इन्भेस्टमेन्ट्सको व्यापक लगानीपछि पेरिस सेन्ट जर्माइन पछिल्लो ७ सिजनमा ६ पटक च्याम्पियन बनेको छ । एकै सिजन ब्राजिलियन नेमार र फ्रेञ्च फर्वार्ड किलियन एमबाप्पेलाई भित्र्याएको पिएसजीले संयुक्त रुपमा झण्डै ३ सय ८० मिलियन युरो तिरेको छ । पिएसजीले फ्रेञ्च फुटबलमा आफ्नो एक छत्र राज कायम गरेको त छ नै, च्याम्पियन्स लिग जित्न नसक्नु उसको दुर्भाग्य मात्रै हो ।

पिएसजीको लगानीलाई लिएर बिश्व फुटबल बजारमा साना क्लबहरुको तुलनामा अनुचित मानिएपनि बोल–बोला पैसा कै छ । न्युकासलका नयाँ मालिक पैसा खोला जसरी बगाउन तैयार छन् भने बिश्व फुटबलमा पैसाको शक्तिबारे उनका साझेदारलाई राम्रो ज्ञान छ । लगभग समाप्त भइसकेको यो सिजनपछि अर्को सिजन न्युकासलले सबैको ध्यान आफूतर्फ आकर्षित गर्ने निश्चित छ ।

प्रस्तुतिः गौरव फुयाल

Click to comment

Trending