Headline

कोरोना भाइरसका कारण डच लिग रद्द हुने

Published

on

डच फुटबल संघले आयोजना गर्ने सन् २०१९–२० सिजनको डच फुटबल लिग द एरेडिभिसी रद्द हुने भएको छ ।

डच सरकारले कोरोना भाइरसका कारण सेप्टेम्बर एक तारिख सम्म कुनै पनि कार्यक्रमहरु गर्नका लागि रोक लगाएका कारण एरेडिभिसी नहुने भएको हो । तर यसको पूर्ण निर्णय भने डच फुटबलले गरिसकेको छैन । डच फुटबलले युईएफएसँगको छलफल पछि रद्द गर्ने बिषयमा टुङ्गो लगाउने छ ।

कोरोनाका कारण लिगका खेलहरु रोकिनु अघि आयाक्स र एजी अल्कमारको २५ खेलमा समान ५६ अंक रहेको छ भने आयाक्स गोल अन्तरमा पहिलो स्थानमा छ ।

डच फुटबलको उच्च निकाय केएनभीबीले एक बिज्ञप्ति जारी गर्दै भनेको छः “सन् २०१९–२० को सिजन गर्ने पक्षमा हामी छैनौं । तर एक पटक यस बिषयमा अन्तिम निर्णय लिनु अघि युईएफए सँग सल्लाह गर्नेछौं । हामीले अहिले नै यस सिजन अन्त्य गर्ने निर्णय भने गरिसकेका छैनौं । लिग रद्द हुने बित्तिकै यसले क्लब र फुटबलसँग आबद्द क्षेत्रमा ठूलै आर्थिक संकट निम्त्याउने छ ।”

नेदरल्यान्ड्सका प्रधानमन्त्रिसँगको छलफलमा केएनभीबीले एरेडिभिसीका खेलहरु बन्द रंगशालामा भए पनि खेलाउने विचार सुनाएको तर प्रधानमन्त्रिले दर्शक बिना खेल खेलाउनु उचित नहुने धारणा राखेका थिए ।

मंगलबार मात्र युईएफएले युरोपियन लिगहरुमध्य कुनै कुनै लिग रद्द हुन सक्ने जनाएको थियो । कोरोनाको संक्रमणले लिग स्थगित भइ कहिले सुचारु हुने टुँगो नहुदा चिढिएका डच खेलाडी र पदाधिकारीहरुले नै लिग रद्द गर्दा केही फरक नपर्ने बताउदै आएका छन्।

Click to comment

Trending