Headline

अष्ट्रेलियन क्रिकेट टाँट पल्टिनबाट जोगिन कसरत गर्दै

Published

on

क्रिकेट अस्ट्रेलियाले भारतबिरुद्ध आगामी डिसेम्बरमा हुने भनिएको टेस्ट श्रृंखला बन्द रंगशालामा भए पनि गराउने प्रस्ताब राख्ने भएको छ ।

कोरोना भाइरसका कारण विभिन्न खेलकुद गतिविधि ठप्प हुँदा दुई देशीय श्रृंखलाहरु पनि रद्द हुन पुगेका छन् भने अर्को मितिको पनि टुंगो लाग्न सकेको छैन । अक्टोबर–नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप पनि समयमा नै हुने न हुने केहि भन्न सकिने अवस्था रहेको छैन ।

कोरोनाको प्रभाब अझै बढ्दै गएको खण्डमा अस्ट्रेलियाले आयोजना गर्ने भारत बिरुद्धको चार टेस्टको शृंखला पनि प्रभावित हुन सक्ने देखिन्छ । त्यसैले क्रिकेट अस्ट्रेलियाले भारत बिरुद्धको शृंखला बन्द रंगशालामा भए पनि गराउने गृहकार्य शुरु गर्ने भएको हो ।

यस अघि अस्ट्रेलियाले भारतसँग विश्वकप अघि ट्वान्टी ट्वान्टी शृंखला र विश्वकप पछि चार टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको थियो । अब अस्ट्रेलिया पाँच टेस्टको शृंखला खेलाउन इच्छुक देखिएको हो ।

अस्ट्रेलियाले बन्द रंगशाला भित्र भए पनि खेलाउन खोज्नुको मुख्य कारण भने टेलिभिजन प्रशारण अधिकारबाट आउने आम्दानी रहेको छ । भारत बिरुद्धको शृंखला रद्द भएको खण्डमा अस्ट्रेलियन क्रिकेट बोर्डलाई करोडौं रुपैंया घाटा लाग्ने छ ।

यसै पनि कोरोनाको प्रभाब कम नभएर रोकिएका शृंखलाहरु हुन नसकेमा अस्ट्रेलिया क्रिकेट बोर्ड टाँट पल्टने रिपोर्ट सार्वजनिक भएको छ ।

पैसाको अभाब भएका कारण क्रिकेट अष्ट्रेलियाले आफ्ना कर्मचारीहरुलाई यो आर्थिक बर्ष दिने तलबमा ८० प्रतिशत सम्म कटौती गर्ने निर्णय गर्ने भएको छ । अस्ट्रेलियाको आर्थिक बर्ष जुन ३० मा सकिने छ र यस समय सम्म सबै कर्मचारीहरुले आफुले पाउने तलबको २० प्रतिशत मात्र पाउने छन् ।

Click to comment

Trending