IPL

आईपीएल रद्द हुँदा भारतीय क्रिकेट बोर्डलाई करोडौं घाटा लाग्ने

Published

on

विश्वभर फैलिएको कोरोना भाइरसका कारण विभिन्न खेलकुद कि त रद्द भएका छन् कि त नयाँ मितिमा आयोजना गर्ने भनिएको छ ।

विश्व चर्चित इन्डियन प्रिमिएर लिग (आईपीएल) कोरोनाबाट अछुतो हुन सकेन । मार्च २९ तारिखबाट शुरु गर्ने भनिएको प्रतियोगिता भारतमा अप्रिल १५ सम्म गरिएको लकडाउनका कारण पहिलो पटक मिति सारिएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले मे को शुरुवात सम्मका लागि फेरी लकडाउनको घोषणा गरे पछि आईपीएल अनिश्चित समयका लागि रद्द गरिएको छ ।

अब कोरोना पुर्णरुपमा ठिक नभए सम्म आईपीएल हुने सम्भावना निकै कम छ । त्यती मात्र नभएर आईपीएल २०२० अथवा १३औं संस्करण नै रद्द हुने पनि सम्भावनालाई नकार्न सकिंदैन । अब आईपीएल रद्द भएमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई), खेलाडी, फ्रेन्चाइज र भारत सरकारलाई के कति घाटा हुनेछ भन्ने आँकलन तथा बहस शुरु हुन थालेको छ ।

बीसीसीआईले स्टार इन्डियालाई आईपीएलको टिभी तथा डिजिटल राइट १६ हजार तीन सय ४७ करोड भारतीय रुपैयाँमा बेचेको थियो भने स्टारले स्पोन्सर बापत बोर्डलाई छ हजार एक सय ३८ करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो । यो सम्झौता सन् २०१८ देखि सन् २०२२ सम्मको लागि पाँच बर्षको रकम हो । यसको मतलब १३औं संस्करण रद्द भएको खण्डमा बीसीसीआईले स्टारबाट प्राप्त गर्ने करिब ४५ सय करोड गुमाउने छ ।

त्यती मात्र हैन बीसीसीआईले प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा चाइनाको मोबाइल कम्पनी भिबोलाई पाँच बर्षका लागि दुई हजार करोड भारतीय रुपैंयाँको सम्झौता गरेको थियो । अब बीसीसीआईले एक बर्षको चार सय करोड पनि भिबोबाट गुमाउने छ ।

समग्रमा हेर्ने हो भने बीसीसीआईले करिब पाँच हजार करोड भारतीय रुपैयाँ गुमाउने छ । बीसीसीआईले यस संस्करण रद्द भएमा बिमाबाट पनि उठाउन सक्ने छैन किनकी कोरोनाको प्रभाबबाट पर्ने असर बिमा कम्पनीको भागमा पर्ने छैन ।

खेलाडी, फ्रेन्चाइज र भारत सरकारलाई पर्ने घाटा

आईपीएल रद्द भएको खण्डमा बीसीसीआई मात्र नभएर खेलाडी, फ्रेन्चाइज र भारत सरकारलाई पनि ठुलो मात्रामा घाटा पर्नेछ । एक फ्रेन्चाइजले स्पोन्सर बापत करिब चार सय देखि ५०० करोड प्राप्त गर्ने थिए । त्यस्तै खेल दौरानका क्रममा बिक्री हुने टिकट मार्फत उनीहरुले २५० करोड भन्दा माथिको कारोबार गर्ने गर्दथे । अब एक टोलीले प्राप्त गर्ने रकम कम्तिमामा पछि छ देखि सात सय करोड प्रत्यक टोलीलाई घाटा पर्ने देखिन्छ ।

फ्रेन्चाइजले कुनै पनि रकम प्राप्त नगर्ने बित्तिकै यसको असर पनि खेलाडीलाई देखिने छ । आईपीएलको एउटा सामान्य मान्यता छ खेल छैन त पैसा छैन । खेल रद्द भएमा खेलाडीहरुले फ्रेन्चाइजबाट प्राप्त गर्ने रकमबाट पनि हात धुन पर्ने हुन्छ ।

आईपीएलले भारतीय अर्थतन्त्रमा प्रत्येक बर्ष दुई हजार छ सय ५० करोड भारतीय रुपैयाँ भन्दा बढीको कारोबार गर्ने गरेको यस अघिको रिपोर्टले देखाएको थियो । कोरोनाका कारण थला परेको भारतीय अर्थतन्त्रमा यसले मल्हमको काम गर्न सक्ने थियो तर आईपीएल रद्द भएमा भारतलाई अझै बढी घाटा लाग्ने पक्का जस्तै हो ।

Click to comment

Trending