Headline

एक बर्षका कालिन

Published

on

गौरव फुयाल

नेपाली राष्ट्रिय टोलीले २०१९ को मार्च २१ मा कुवेतबिरुद्ध आफ्नो बर्षको पहिलो खेल खेल्यो । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनका लागि पनि त्यो पहिलो खेल नै थियो ।

कालिनले नेपाली टोली हेरेको एक बर्ष पुरा भएको छ यस क्रममा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्यो जसमा चाइनिज ताइपेइबिरुद्धको एक मात्र जित उनी मातहत नेपालले पाएको एक मात्र सफलता थियो । तर यो नै उनको एक बर्षको कार्यकालको बिश्लेषणको निष्कर्ष भने होइन ।

कालिनका लागि नेपाली फुटबल नौलो थिएन । २०१३–२०१४ को शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई दोस्रो सम्म बनाएका कालिनलाई नेपाली फुटबल प्रदर्शन र घरेलु संरचनाका आधारमा कुन स्तरमा छ कसैले सुझाइ राख्नु पर्दैन थियो । दुई बर्षअघि बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग भोगेको ३–० को हारपछि नेपाली फुटबल कता मोडिने हो यसको टुङ्गो थिएन ।

२०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदको स्वर्ण र एएफसी सोलिड्यारीटी कपको उपाधि जितेपछि समर्थकहरुमा नेपाली टोलीलाई लिएर उत्साह सँगै अपेक्षा पनि उत्तिकै थियो । त्यही अपेक्षाको बोझलाई हलुका बनाउन कर्मा छिरिङ्ग शेर्पाको नयाँ नेतृत्वले कालिनलाई टोलीको जिम्मेवारी सुम्पियो ।

बलियो टोली कुवेतसँग भएको मैत्रिपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेल्यो । कुवेतमै भएको खेलमा नेपालले बलियो घरेलु टोलीलाई रोक्नु ठूलै उपलब्धि थियो । उनको शुरुवात एक हिसाबले उत्कृष्ट नै रह्यो । यो परिणाम कालिन आफ्नै लागि पनि खेलाडीको स्तर मापन गर्ने राम्रो माध्य बन्यो ।

अधिकांश नयाँ तथा युवा खेलाडी उतारिएको खेलमा नेपालले प्रशंसा त बटुल्यो नै, कालिनबाट भने थप अपेक्षा गरियो । कुवेतलाई बराबरीमा रोकेको नेपाली टोली ३ महिना पछि मलेशियासँग भने २–० ले पराजित हुन पुग्यो । नेपालमा लिग नभएको अवस्थामा कालिन आफै मोफसलमा भएका बिभिन्न प्रतियोगितामा गएर खेलाडीको छनोट गरेका थिए । बुकित जलील रगंशालामा नेपाल गोल गर्न चुक्यो ।

कालिनले खेलाडी बिकासका लागि मैत्रीपूर्ण खेल खेलाउनु पर्ने दबाब दिदा एन्फाले चाइनिज ताइपेईविरुद्ध एक खेलको प्रबन्ध गर्यो । विश्वकप र एसियन कप छनोट आउनु अघिको खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो । विश्वकप छनोटमा सिधै दोश्रो चरणमा स्थान बनाएको नेपाली टोलीले आफ्नो पहिलो खेल कुवेत सँग खेल्दै थियो ।

पहिले पनि कुवेतलाई बराबरीमा रोकेको नेपालले कम्तिमा पनि बराबरी गर्ने आशा गरिएको थियो तर नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । कालिनले पहिलो पटक नेपाली टोलीको प्रशिक्षक रहदाको दवाब बुझे । नेपालले ७ गोल खायो र कालिनले भनेः “हामीले धेरै मेहेनत गर्नु पर्ने देखिन्छ । रोक्नुपर्ने गोलहरु रोक्न सकेनौँ । अब राम्रो तयारी गर्नुपर्ने आवश्यकता छ ।”

विश्वकप छनोटकै अर्को खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो । कुवेतसँगको फराकिलो हारले बोकेको चोटमा केही मलम त लाग्यो तर नेपालको लागि अगाडी चुनौतिको चाँग थियो । त्यो खेलमा सोचे अनुरुप खेल्न सकेको थियौं, कालिनको अनुहारमा केही राहत देखिन्थ्यो ।

नेपालको अर्को प्रतिद्वन्दी थियो बिश्वकपको स्थानका लागि दावेदार अष्ट्रेलिया । कुवेतसँग फराकिलो अन्तरले पराजित नेपालले गोलको भारी बोकेर फर्किने अपेक्षा गरिएपनि मेलबर्नमा पाँच गोल मात्रै खाएर फर्कियो । नेपालले विश्वकप छनौटका दौरान खेलेको सबैभन्दा राम्रो खेल त्यही देखिन्थ्यो । रक्षात्मक खेल खेलाएका कालिनलाई त्यो परिणाम स्विकार्य थियो ।

“खेल हारे पनि म खेलाडीहरु देखी खुशी छु । उनीहरुले देखाएको प्रदर्शनलाई सम्मान गर्छु,” कालिनले खेल पछी भनेका थिए । पाँच दिन पछि नै जोर्डन पुगेको नेपालले ३–० को पराजय बेहोर्यो । यसअघि ९ गोल खाएको जोर्डनलाई ३ गोलमा रोकेको कारणले नै नेपाली टोली आलोचनाबाट बचेको थियो । खेलमा एउटा पनि राम्रो मौका नबनाएको नेपालले थकान कारण पूर्ण दिन सकेको थिएन ।

कुवेतसँग दोश्रो लेगको खेल खेल्नका लागि भुटान जानु अघि उनले केही कठिन निर्णय पनि लिए । एक दिन अघि नाइट क्लाब चाहारेको भन्दै कालिनले बिमल घर्ती मगर, अञ्जन बिष्ट, दिनेश राजबंशी र सन्तोष तामाङलाई टिमबाट निकालिदिए । त्यसको मुल्य चारै जना खेलाडीहरुले चुकाउनु परेको थियो ।

यसअघि पनि सिनियर खेलाडीहरुलाई टिममा नराख्ने निर्णय गरेका कालिनले नेपालमा रहदा आफूले के गर्न चाहेको स्पष्ट पारिसकेका थिए । उनी नेपाली टोलीलाई राम्रो बनाउन आएको र यसका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेका छन् ।

कालिनले बिस्तारै भएपनि नेपाली राष्ट्रिय टोलीमा केही परिवर्तन भने ल्याएका छन् । रक्षात्मक खेल देखी बिपरित पोस्टमा दवाब कायम गरेर खेल्नै शैलिको प्रयास राष्ट्रिय टोलीमा देखिन्छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्नु अघि म्यानमारसँग मैत्रिपूर्ण खेल पनि खेल्यो । त्यसमा पनि हारको सामना गर्यो ।

आफू भन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न गाह्रो त हुन्छ नै तर नेपालले गोल गर्न भने सकिरहेको छैन । भुटानमा कुवेतबिरुद्ध दोश्रो लेगमा उत्रदा ४–३–३ को रणनीतिमा खेल्यो । नतिजा १–० ले सम्पिए पनि नेपालले अब्बल प्रदर्शन गरेको थियो । थिम्फुको एस्ट्रो टर्फको फाइदा उठाएको नेपालले पासिङ र आक्रमक शैलीमा खेल्न सफल भएको थियो ।

कोरोना भाइरसको चपेटामा बिश्व नै परेपछि नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनबिरुद्धका घरेलु खेलहरु स्थगित गरिएको छ । लिग भर्खरै सकिएको स्थितिमा नेपालले खेलाडीहरु सकृय रहेको समयमै कालिन बन्द प्रशिक्षणको तयारीमा रहेका थिए । उनी ती खेलहरु अघि मैत्रीपूर्ण खेलहरु पनि खेल्न चाहन्थे तर अब उनले लामो समय कुर्नु पर्ने भएको छ ।

कालिनले एक बर्ष शायद आफ्नै लागि परिक्षण कालको रुपमा लिएका थिए र अब उनले पछिल्लो एक बर्षदेखि गर्दै आएको मिहिनेत र नेपाली फुटबलरहरुलाई बुझेको ज्ञानलाई मैदानमा उत्रनु पर्ने स्थितिमा रहेका छन् । फुटबल पुन सुचारु हुनका लागि उनी पनि व्यग्र प्रतिक्षमै रहेका छन् ।

Click to comment

Trending