Headline

आईपीएल नहुन पनि सक्छः पञ्चाबका मालिक नेस वाडिया

Published

on

कोरोना भाइरसको त्रासका कारण १६ दिन पछाडी धकेलिएको यो सिजनको इन्डियन प्रिमियर लिग हुने–नहुनेमै आशंका उत्पन्न भएको छ ।

मुम्बईमा शनिबार बसेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र फ्रान्चाइज मालिकहरुबीचको बैठकले अनिश्चित समयका लागि आईपीएल सार्न सहमति गरेको छ । केहि दिन अघि मात्र मार्च २९ तारिखबाट शुरु हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण अप्रिल १५ तारिखबाट मात्र शुरु गर्ने निर्णय बीसीसीआईले लिएको थियो ।

तर कोरोना विश्वभर फैलिंदै गएको कारण बिभिन्न खेलकुद गतिविधिमा बाधा पुर्याएको र बिभिन्न देशका सरकारले पनि खेलकुद गतिविधि रोक्न आदेश दिएका छन् ।
बीसीसीआईको मुख्यालयमा बसेको बैठकमा कोलकाता नाइट राइडर्सका मालिक तथा बलिउड बादशाह शाहरुख खान, मुम्बईका मालिक आकाश अम्बानी, किंग्स ११ पञ्जाबका नेस वाडिया लगायत बीसीसीआईका पधादिकारीहरुको बैठकले प्रतियोगिता बारे पर्ख र हेर को रणनीति लिएर बस्ने जनाएका छन् ।

बैठकमा सहभागी पञ्जाबका मालिक वाडियाले बैठक पछि कुरा गर्दै बीसीसीआई, स्टार टिभी र फ्रान्चाइज पैसा कमाउन मात्र आतुर नरहेको बताए । “भारतीय जनता र विश्वले के बुझ्न जरुरी छ भने हामी यहाँ पैसा कमाउन मात्र प्रतियोगिता हुनै पर्छ भन्ने मान्यता राख्दैनौं । सबैभन्दा ठूलो खेलाडी, दर्शक र क्रिकेट समर्थकको स्वास्थ्य महत्वपूर्ण हो,” उनले भने ।

“सबै हाम्रो हातमा मात्र हुदैन । अहिलेको लागि अप्रिल १५ सम्मलाई प्रतियोगिता सरेको हो । हामी त्यो समय सम्म कोरोनाको प्रकोप कम हुन्छ भन्नेमा आशावादी छौं । तर त्यो समय सम्ममा सरकारको निर्देशन के हुन्छ र कोरोनाको महामारीले के–कस्तो रुप लिन्छ भन्ने बिषयमा कुर्ने बाहेक अन्य बिकल्प छैन,” उनले थपे । “प्रतियोगिता नै पूर्ण रुपमा नहुन पनि सक्छ । आईपीएल भए राम्रो नभए पनि दुखेसो गर्ने कुनै बाटो छैन ।”

Click to comment

Trending