Headline

माउरिन्होको स्पर्स च्याम्पियन्स लिगबाट बाहिरियो

Published

on

टोटेन्ह्याम हटस्परलाई समग्रमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै जर्मन क्लब आरबी लाइपजिग च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

टोटन्ह्यामलाई घरेलु मैदानमै १–० ले हराएको लाइपजिगले मङ्गलबार राति भएको प्रि क्वार्टरफाइनलको दोश्रो लेगमा ३–० को सहज जित दर्ता गर्यो । १० बर्ष अगाडी मात्र स्थापित क्लबको युरोपियन फुटबलमा यो ठूलै फड्को हो ।

मार्सेल जाबित्जरले रेड बुल अरिनामा दुई गोल गरेपछि टोटेन्ह्यामले लज्जासपद हार बेहोर्यो । स्पर्स गोलकिपर ह्युगो लोरिसले लाइपजिगका कप्तानले गरेका दुवै प्रहारमा रोक्न सकेपनि गोल हुन पुगेको थियो । जाबित्जरले २० यार्डबाट गरेको प्रहार र नजिकबाटै गरेको हेडरमा लोरिस चुकेका थिए ।

होजे माउरिन्होको स्पर्स ६ खेल यता कुनै पनि खेलमा जित हात पार्न सकेको छैन । प्रिमियर लिगमा पनि स्पर्स चौथो स्थानबाट अझै ७ अंक पछाडी रहेको छ ।

अर्को अन्तिम १६ को खेलमा योसिप इलिसिचले चार गोल ठोकेपछि एट्लान्टाले भ्यालेन्सियालाई दोश्रो लेगमा ४–३ ले पराजित गर्दै समग्रमा ८–४ को जित हात पारेको छ । कोरोना भाइरसका कारण खाली रँगशालामा भएको खेलमा इटालियन क्लब एट्लान्टा पहिलो लेगमा लिएको ४–१ को अग्रताका साथ आएको थियो ।

तेश्रो मिनेटमै इलिसिचले पेनाल्टी मार्फत अग्रता दिलाएपछि भ्यालेन्सियाको लागि असम्भव जस्तै भएको थियो । केभिन गामिरोले २१ औं मिनेटमा गोल गरेपछि ४३ औं मिनेटमा इलिसिचले फेरि अग्रतालाई कायम राखेका थिए । गामिरोले ५१ औ र फेरान टोरेसले ६७ औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले केही आशा जगाएको थियो ।

तर इलिसिचले ७१ र ८२ औं मिनेटमा गोल गरेपछि एट्लान्टाले रोमाञ्चक जित दर्ता गरेको थियो ।

Click to comment

Trending