Headline

ट्यालेन्ट हन्टबाट आए बिभत्सु

Published

on

ललितपुर पेट्रियट्सले मङ्गलबार एभरेष्ट प्रिमियर लिगको आगामी संस्करणका लागि ट्यालेन्ट हन्टबाट छनोट भएर अन्तिम टोलीमा स्थान बनाएका दुई खेलाडीको घोषणा गर्यो ।

ति मध्ये पहिलो छन् युवा अरियो पौडेल । अरियोले केही दिनअघि मुलपानी क्रिकेट मैदानमा सम्पन्न हिमालय क्रिकेट लिग दुई दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । स्पिनर अरियोले नेक्ससबिरुद्धको एकै इनिङ्गसमा ७ विकेट लिएका थिए ।

अरियोसँगै छानिएका अर्का खेलाडी छन् बिभत्सु थापा जसले ७ बर्ष अघि नै नेपाली युवा टोलीका लागि खेलिसकेका छन् । बाया हाते ब्याट्स्म्यान बिभत्सुले नेपालका लागि सन् २०१३ डिसेम्बरमा भएको एसिसि अण्डर १९ एसिया कपमा खेलेका थिए ।

अहिले राष्ट्रिय टोलीमा आफ्नो स्थान जमाएर राखेका आरिफ शेख उनका समकक्षी हुन् भने पाँच बर्षपछि सिनियर टोलीमा फर्केका भुवन कार्की त्यति बेलाका युवा कप्तान । एसिया कपबाट फर्किएको केही समयपछि उनी उच्च शिक्षाका लागि बिदेश गएका थिए ।

भुवनको ब्याचमा रहेको अण्डर १९ टोलीबाट बिदेशीने बिभत्सु एक मात्र खेलाडी हुन् । अन्य सबै खेलाडीहरु नेपालमै क्रिकेट खेलिरहेका छन् । बिभत्सुले एसिया कप अन्तर्गत डिसेम्बर २९ मा भारतबिरुद्ध भएको खेलमा सर्वाधिक ४७ रन बनाएका थिए ।

त्यही खेलमा आरिफले सातौं नम्बरमा ब्याटिङ्ग गर्दै ४० रन बनाएपछि नेपालले १ सय ३६ रनको सम्मानजनक योगफल बनाएको थियो । खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो । उक्त भारतीय टोलीबाट सञ्जु स्याम्सन र कुलदिप यादवले भारतीय टोलीबाट खेलिसकेका छन् । चाइना म्यान बलर कुलदिप नियमित जस्तो भारतीय टोलीमा रहेका छन् ।

अण्डर १९ एसिया कप पछि नै आरिफ शेखको नेपाली क्रिकेटमा उदय भएको थियो । उक्त प्रतियोगिताको चार महिनापछि नै आरिफले राष्ट्रिय टोलीबाट एसिसि प्रिमियर लिगमार्फत डेब्यु गरेका थिए ।

Click to comment

Trending