Headline

सिरियाली जाजा ओलम्पिक इतिहासकै कान्छी खेलाडी बन्दै

Published

on

सिरियाली टेबल टेनिस खेलाडी हेन्ड जाजा गृष्मकालिन ओलम्पिक इतिहासकै कान्छी प्रतिस्पर्धी हुने भएकी छिन् ।

बिश्व खेलकुदको महाकुम्भ अन्तर्गतको ३२ औं संस्करण जुलाई २४ देखि अगष्ट ९ सम्म जापानको राजधानी टोकियोमा शुरु हुन गइरहेको छ । कोरोना भाइरसले बिश्वब्यापी रुपमै त्रास फैलाइरहे पनि ओलम्पिक्स सर्ने नसर्ने अहिलेसम्म आधिकारिक रुपमा केही जानकारी आएको छैन ।

सन् १९६८ मा रोमानियाकी बियट्रिस हुसितु फिगर स्केटिङ्गमा प्रतिस्पर्धा गर्दा ११ बर्षको रहेकी थिइन् तर त्यो शितकालीन ओलम्पिक्स रहेको थियो । टोक्यो ओलम्पिक्स शुरु हुदा ब्रिटेनकी स्केटबोर्डर स्काई ब्राउन १२ बर्षको हुनेछिन् । ब्राउन ओलम्पिक्समा छनोट नभइसकेपनि उनको सम्भावना प्रबल रहेको छ ।

जाजाले जोर्डनको अम्मानमा भएको पश्चिम एसियाली ओलम्पिक छनोट चरणमा जित हात पार्दै ओलम्पिकमा क्वालिफाइ भएकी थिइन् । लिग चरणमा पहिलो भएकी जाजाले नकआउटमा बाई पाउदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।

बिश्व वरियतामा १ सय ५५ औं स्थानमा रहेकी जाजाले सेमिफाइनलमा जोर्डनकी सेवर अबुयामनलाई ३–० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै ४–३ को सनसनीपूर्ण जित रचेकी थिइन् । फाइनलमा उनले लेबननकी मरियन सहकियनलाई अर्को सनसनीपूर्ण खेलमा हराएकी थिइन् ।

टोक्यो ओलम्पिक्समा सबैभन्दा पाको खेलाडी भने ५६ बर्षीया नि जियालन हुनेछिन् । चिनमा जन्मेकी निले लक्जेबर्गका लागि खेल्नेछिन् । लक्जेम्बर्गले ३० बर्षअघि प्रशिक्षकको रुपमा निलाई भित्र्याउनुअघि निले चिनका लागि १९८३ को बिश्व च्याम्पियनसिपमा टिम र मिक्स्ड इभेन्टमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले लक्जेम्बर्गका लागि २०००, २००८, २०१२ र २०१६ को लगातार चार ओलम्पिक्सको संस्करणमा प्रतिस्पर्धा गरेकी थिइन् । सन् २०१६ मा ब्राजिलमै भएको रियो ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडीको किर्तिमान नेपालकी गौरिका सिँहले राखेकी थिइन् । स्विमर गौरिका त्यो समय १३ बर्ष र दुई सय ५५ दिनको थिइन् ।

गौरिकाले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको लागि चार स्वर्ण पदक जितेकी थिइन् । साग इतिहासमै एकल स्पर्धामा स्वर्ण जित्ने उनी हालसम्म एक मात्र नेपालीको रुपमा रहेकी छिन् ।

Click to comment

Trending