Headline

कार दुर्घट्नामा बचेका थोमसले जिताए वेष्ट इण्डिजलाई

Published

on

दुइ हप्ता अघि मात्रै कार दुर्घट्नाबाट बचेका ओसेन थोमसले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै पाँच विकेट लिएपछि वेष्ट इण्डिजले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली श्रीलंकालाई २५ रनले पराजित गरेको छ ।

लेन्डल सिमोन्सको अद्र्धशतकसँगै टप र मिडल अर्डरले राम्रो योगदान दिएपछि वेष्ट इण्डिजले पाल्लेकेलेमा पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा चार विकेट गुमाउदै १ सय ९६ रनको बिशाल योगफल बनायो । जवाफमा थोमसले तीन ओभरमा २८ रन खर्चदै पाँच विकेट लिएपछि श्रीलंका १९ दशमलव १ ओभरमा १ सय ७१ रनमै अल आउट हुन पुग्यो ।

सेन्ट क्याथेरिनको ओल्ड हार्बरमा दुई गाडी एक आपसमा ठोक्किदा पनि शख्त घाइते पनि नभएका ओसेनले बुधबार श्रीलंकाको पहिलो ६ मध्ये पाँच विकेट लिएका थिए । दोश्रो ओभरमा बलिङ्ग गर्न आएका थोमसले चार बलको अन्तरमै तीन विकेट लिदै श्रीलंकालाई नराम्रो झड्का दिएका थिए ।

अभिष्का फर्नान्डोलाई ७ रनमा पेभिलियन फर्काएका थोमसले शेहान जयसुरिया र कुशल मेन्डिसलाई शुन्यमै पेभिलियन फर्काएका थिए । मेन्डिसले ह्याट्रिक बल भने बचाएका थिए । श्रीलंकाका लागि टप अर्डरबाट कुशल पेरेराले ३८ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका थिए ।

वानिन्दु डि सिल्भाले ३४ बलमा चार चौकाको मद्दतमा ४४ रन बनाएपनि अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान गर्न सकेका थिएनन् । रोभ्मान पावेलले पनि वेष्ट इण्डिजका लागि दुई विकेट लिएका थिए ।

यसअघि कप्तान केरोन पोलार्डले आफ्नो करिअरको ५ सयौं ट्वान्टी ट्वान्टी खेलेको प्रतिस्पर्धामा वेष्ट इन्डिजका लागि सबै ब्याट्स्म्यानले उल्लेखनीय योगदान गरेका थिए । सिमोन्सले ५१ बलमा ७ चौका र दुई छक्काको मद्दतमा नटआउट ६७ रन बनाएका थिए । आन्दे्र रसेलले ३५, पोलार्डले ३४ र बे्रेण्डन किँगले ३३ रन बनाएका थिए ।

ट्वान्टी ट्वान्टी क्रिकेटका ग्लोबल स्टार रसेलले १४ बलमा चार छक्का र दुई चौका हिर्काए भने पोलार्डले तीन चौका र दुई छक्का प्रहार गरे । पोलार्ड क्रिकेट इतिहासमै ५ सयौं ट्वान्टी ट्वान्टी खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

Click to comment

Trending