Headline

तमिमको ‘करिअर बेस्ट’ मा बङ्गलादेशको रोमाञ्चक जित

Published

on

तमिम इक्बालले १२ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक ठोकेपछि बङ्गलादेशले दोश्रो एकदिवसीयमा जिम्बाब्वेमाथि चार रनको रोमाञ्चक जित हात पारेको छ ।

करिअरकै उच्च स्कोर बनाउने क्रममा तमिमले १ सय ५८ रन जोड्दै बङ्गलादेशलाई ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २२ रनको बिशाल योगफलतर्फ डोर्याए । जवाफमा जिम्बाब्वे पुरै अवधिभर खेलमा कायम रहे पनि अन्तिममा भने चुक्न पुग्यो । उसले ८ विकेटको क्षतिमा ३ सय २२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ६ बलमा २० रन चाहिएको स्थितिमा जिम्बाब्वेले पहिलो तीनमा टिनोटेन्डा मुटोम्बोड्जीलाई गुमाउदै मात्र दुई रन जोड्यो । डोनाल्ड तिरिपानोले अल अमिन होसेनलाई लगातार दुई छक्का प्रहार गरेपछि जिम्बाब्वेलाई अन्तिम दुई बलमा ६ रन चाहिएको थियो । तर होसेनलाई एक रनमात्र खर्चेपछि जिम्बाब्वे झिनो अन्तरले पाजित हुन पुग्यो ।

जिम्बाब्वेले अन्तिम १० ओभरमा १ सय १० रन जोड्दै बङ्गलादेशलाई जितबाट टाढा राखेको थियो । तिरिपानोले २८ बलमा पाँच छक्का र दुई चौकाको मद्दतमा नटआउट ५५ रन बनाए । जितपछि बङ्गलादेशले तीन म्याचको श्रंखलालाई २–० ले आफ्नो कब्जामा पारेको छ ।

जिम्बाब्वेका लागि सिकन्दर रजाले सर्वाधिक ६६ रन बनाएका थिए । उनले ६७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै वेज्ली माधेवेरेले ५२ र ओपनर तिनासे कामुनुकाम्वेले ५१ रन जोडे । ताइजुल इस्लामले बङ्गलादेशका लागि सर्वाधिक तीन विकेट लिएका थिए ।

यसअघि लिटन दास र नाज्मुल होसेन सान्टोलाई सस्तैमा गुमाएपनि तमिमले बङ्गलादेशको इनिङ्गस सम्हालेका थिए । उनले तेश्रो विकेटका लागि मुस्फिकुर रहिमसँग ७७, चौथो विकेटका लागि महमदुल्लाह (४१) सँग १ सय ६ र पाचौं विकेटका लागि मोहम्मद मिथुन (३२) सँग ३८ रनको साझेदारी गर्दै इनिङ्गसको केन्द्रमा रहेका थिए ।

१ सय ३६ बलको सामना गरेका तमिमले २० चौका र तीन छक्का प्रहार गरे । मस्फिकुरले ५० बलमा ६ चौका प्रहार गर्दै ५५ रन बनाए । जिम्बाब्वेका लागि तिरिपानो र कार्ल मुम्बाले दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending