Headline

सुदूरपश्चिमलाई पहिलो पटक खप्तड गोल्ड कप

Published

on

सुदूरपश्चिम–११ स्पोर्टस क्लबले पहिलो पटक अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपको उपाधि जितेको छ ।

मंगलबार धनगढी रंगशालामा भएको फाईनलमा ए डिभिजन क्लब थ्रि स्टार क्लबलाई १–० ले हराउँदै सुदूरपश्चिमले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पराजयपछि थ्रि स्टार लगातार दोश्रो पटक उपाधि भिडन्तमा चुकेको हो । तेस्रो संस्करणमा पनि नेपाल पुलिस क्लबसँग १–० ले नै पराजित हुँदै थ्रिस्टार उपविजेता मै सिमित हुन पुगेको थियो ।

सुदूरपश्चिमलाई उपाधि दिलाउन विक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । उनले सेमिफाइनलमा पनि दुई गोल गरेका थिए । मङ्गलवार फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले बललाई जाली चुमाए ।

प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो । त्यसअघि खेलको २० औं मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए । ४३ औं मिनेटमा सुशिल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।

६१ औं मिनेटमा अनन्तको प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक सुजित विसीले मुस्किलले बचाए । ८० औं मिनेटमा मिक्चेन तामाङको प्रहारलाई सब्सिच्युट गोलरक्षक प्रितम खड्काले पञ्च गर्दै सम्भावित बराबरी टारे । इन्जुरी समयमा विक्रम सिंह ठकुरीले काउन्टर एट्याकमा वान भर्सेस वानमा गोल गर्न चुके ।

उपाधिसँगै सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी विक्रम सिंह ठकुरी भए । उनले मोटरसाईकल प्राप्त गरे । गोल्डकपका उत्कृष्ट विधाहरुमा पनि आयोजक टीमबै वर्चश्व रह्यो ।

उदीयमान खेलाडी विष्णु चौधरी, उत्कृष्ट रक्षक धनराज थापा, उत्कृष्ट प्रशिक्षक रोहित भण्डारी र सर्वाधिक गोलकर्ता विक्रम सिंह ठकुरी भए । थ्रीस्टारका पुर्ण चेम्जोङग उत्कृष्ट गोलरक्षक र सुसिल राई उत्कृष्ट मिडफिल्डर भए । सवै विधाका उत्कृष्ट खेलाडीहरुले नगद १५ हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

Click to comment

Trending