Headline

खराब ‘बडी ल्याङ्गवेज’ भएको नेपाललाई झिनो आशा

Published

on

लगातार दुई खेलमा पराजित भएपछि गणितीय सम्भावना मात्र बाकी रहेको नेपालले एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्समा बुधबार थाइल्याण्डको सामना गर्दैछ ।

टर्डथाइ क्रिकेट ग्राउण्डमा साढे ९ बजे हुने खेलमा नेपाललाई फराकिलो अन्तरको जित आवश्यक रहनेछ । नेट रनरेटको आधारमा सम्भावना कायम राख्नका लागि नेपाललाई थाइल्याण्ड मात्र नभएर अन्तिम खेलमा सिँगापुरलाई पनि फराकिलो अन्तरले हराउनु पर्नेछ ।

तर नेपालाई त्यतिले मात्र पुग्ने भन्ने छैन । रनरेटको आधारमा नेपाललाई एसिया कप क्वालिफायर्समा प्रवेश गराउनका लागि हँगकँगले पनि सिँगापुर र मलेशियालाई भारी अन्तरले जित्नु पर्नेछ । सिँगापुर, हँगकँग र मलेशियाको समान चार अंक रहेको छ ।

मँगलवारको खेलमा मलेशियालाई १ सय २८ रनले ध्वस्त पारेको सिँगापुर नेट रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ । सिँगापुरले आफ्नो पहिलो खेलमा पनि थाइल्याण्डबिरुद्ध ५९ रनको बिशाल जित दर्ता गरेको थियो ।

हँगकँगसँग ४३ रनले पराजित भएको नेपाल मलेशियासँग पनि २२ रनले पराजित भएको थियो । निकै नै खराब क्रिकेट खेलिरहेको नेपालले थाइल्याण्डमा पहिलो दुई खेलमा खराब ब्याटिङ्ग गरेको थियो । नेपालको नाममा प्रतियोगितामा एक पनि अद्र्धशतक रहेको छैन । कप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई खेलमा ३८ र ४५ रन बनाएका थिए भने दिपेन्द्र सिँह ऐरिको नाममा पनि ३८ रन रहेको थियो ।

बलिङ्गमा पनि निराशाजनक प्रदर्शन गरेको नेपालले दुवै टोलीलाई एक समय दवाबमा राख्दै पुनरागमन गरेपछि १ सय ५४ रन बनाउन दिएको थियो । थाइल्याण्डमा नेपाली खेलाडीहरु प्रदर्शनका आधारमा मात्र नभई ‘बडी ल्याङ्गवेज’ मा पनि सकारात्मक नदेखिएकाले नेपालबाट कमै आशा गरिएको छ ।

नेपाली टोली डग आउटमा पनि शान्त देखिएको छ भने विकेटको खुशियाली पनि बिरलै मनाउने गरेका छन् । पहिलो दुई खेलमा अधिकांश ब्याट्स्म्यानहरुले गैर जिम्मेवारीपूर्ण शट खेल्दा आउट भएका थिए । किर्तिपुरमा फेब्रुवरी ५ देखि १२ सम्म सहभागी नेपाली टोली र अहिले थाइल्याण्डमा रहेको टोलीमा पूर्ण रुपमा फरक रहेको छ ।

थाइल्याण्ड प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेपनि निकै कमजोर देखिएको नेपाललाई कडा चुनौति दिदा अनौठो मान्नु नपर्ने स्थिति आइपुगेको छ । नेपालका प्रशिक्षक जगत दमाटाले बिश्वास गरिएका खेलाडीहरुले आफ्नो जिम्मेवारी नबुझ्दा टोलीले खराब प्रदर्शन गरेको बताउदै आएका छन् । उनले नामै लिएर खेलाडीहरुको औल्याउन भने चाहेनन् ।

“देशको लागि खेलिरहेका खेलाडीहरुले जर्सी लाउनुको अर्थ बुझिरहेका छैनन् । खेलाडीहरुलाई आफ्नो जिम्मेवारीको बारे ज्ञान हुनु आवश्यक छ । यो स्तरमा हामीले यस्तो प्रदर्शन गर्न सक्दैनौ,” टमाटाले भने ।

Click to comment

Trending