Headline

थ्रि स्टार खप्तड गोल्ड कपको उपाधि नजिक

Published

on

थ्रि स्टार क्लब अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा आईतवार भएको दोस्रो सेमिफाईनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउदै थ्रि स्टार उपाधि नजिक पुगेको हो । थ्रि स्टारलाई जिताउन आशिष राईले निर्णायक गोल गरे ।

२४ औं मिनेटमा अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले पाएको अवसरमा गोल गर्दा टोली सफल भएको बताए । “नकआउट प्रतियोगिताहरुमा दवाबको खेल हुन्छ । सेमिफाईनलमा त्यही भयो । जसरी पनि जित्नु पर्ने थियो,” उहाँले भने ।

“शेर्पाले हाम्रो भन्दा राम्रो खेल्यो । अवसर भने बनाउन सकेन । हामीले दुई मात्रै अवसर बनायौं । त्यसमा एक गोल निस्कियो ।” उनले सेमिफाइनलमा भएको गल्ती फाइनलमा सुधार्ने पनि बताए ।

शेर्पाका व्यवस्थापक सुशील तामाङले भने “राम्रो खेल खेल्दा खेल्दै गोल निस्केन । मौका पाएको हो तर अब हाम्रो पक्षमा भाग्य रहेन ।” थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम– ११ को सामना गर्नेछ । सोमबार भएको पहिलो सेमिफाईनलमा विभागीय टिम नेपाल एपिएफलाई २–१ ले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगेको थियो ।

Click to comment

Trending