Headline

आयोजक सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

Published

on

आयोजक सुदुरपश्चिम–११ पहिलो पटक अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमिफाईनलमा विभागीय टिम नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो ।

सुदूरपश्चिमको जितमा दुवै गोल बिक्रम सिंह ठकुरीले गरेका थिए । एपिएफका लागि शहीद स्मारक ए डिभिजन लिगका सर्वाधिक स्कोरर आशिष लामाले गोल गरेका थिए ।

रोमान्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो । घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले एपीएफ विरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो । विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

त्यसको तीन मिनेटपछि नै विक्रमले अर्को गोल गरे । २४ औं मिनेटमा आशिषले गोल गर्दै अग्रता घटाएका थिए । डिबक्स अगाडी प्राप्त बललाई आशिषले दुई डिफेन्डर र गोलकिपर सुजित विसीलाई बिट गर्दै गोल गरे । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् ।

पहिलो पटक फाइनल पुगेपछि सुदुरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले अघिल्लो पटक हारेको ईखले खेल्दा जित निकाल्न सफल भएको बताए ।  “दुई वर्ष अगाडी हारेको याद छ । त्यसैलाई स्मरण गरेर खेल्यौं । खेल राम्रो भयो । इखले खेल्यौं । सुरुका दुई गोलले सजिलो भयो,” रोहितले भने ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले सुरुमै दुई गोलले पछि पर्दा पुनरागमन गर्न नसकेको भने । “सुरुमा २–० ले पछि पर्दा कम ब्याक गर्न सकेनौं । रेफ्रीको निर्णयले गर्दा हार ब्यहोर्यौ । दोस्रो हाफमा विंगरले खेल्न सकेनन,” उनले भने ।

उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।

Click to comment

Trending