Headline

नेपालको निराशाजनक शुरुवात

Published

on

एसिसि इस्टर्न रिजन क्वालिफायर्स अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै मलेशियासँग स्तब्ध भएको छ । सन् २००९ पछि नेपाल पहिलो पटक मलेशियासँग सिनियर क्रिकेटमा पराजित भएको हो ।

थाइल्याण्डको टर्ड थाई क्रिकेट ग्राउण्डमा जितका लागि १ सय ५५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपाल १९ दशमलव चार ओभरमै १ सय ३२ रनमा अल आउट हुन पुग्यो ।

पहिलो दुई विकेट २२ रनमै गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिँह ऐरिले ६७ रनको साझेदारी गर्दै सम्हालेका थिए । तर अन्य मिडल अर्डर ब्याट्स्म्यानहरु चल्न नसक्दा नेपालले हारको सामना गर्न पुग्यो ।

नेपालले आफ्नो अन्तिम ८ विकेट ४३ रनमा गुमाउन पुगेको थियो । उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्ने क्रममा मलेशियाका शर्भिन मुनियान्डीले ३ दशमलव ५ ओभरमा मात्र १३ रन खर्चदै चार विकेट लिएका थिए ।

नेपालका लागि ज्ञानेन्द्र र दिपेन्द्रले समान ३८ रन बनाएका थिए । ज्ञानेन्द्रले ३३ बलमा तीन चौका र १ छक्का प्रहार गरेका थिए । पवन शर्राफले १४ बलमा १९ रन बनाए । ४० बलको सामना गरेका दिपेन्द्रको इनिङ्गसमा एक चौका रहेको थियो । नेपालले आइतबार बिहान हँगकँगसँग खेल्नेछ ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको मलेशियाले दुई महत्वपूर्ण साझेदारी गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रनको चुनौतिपूर्ण योगफल बनाएको थियो । ५३ रनमा तीन विकेट गुमाएको मलेशियालाई सैयद र कप्तान अहमद फाइजले सम्हालेका थिए ।

उनीहरुले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । सैयदले मलेशियालाई चुनौतिपूर्ण योगफल तर्फ धकेल्नका लागि ३५ बलमा ५१ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । यस्तै फाइजले ३० र अमिनुदिन राम्लीले २९ रन बनाए । राम्लीले १८ बलमा २९ रन बनाए । सन्दिपले शुरुवाती तीन विकेट लिएपछि सम्हालिएको मलेशियन इनिङ्गसलाई अविनाश बोहोराले एकै ओभरमा दुई विकेट लिएर दवाब कायम राखेका थिए ।

अविनाशले फाइज र र नयाँ ब्याट्स्म्यान मोहम्मद आरिफ जमाल्दिनलाई १४ औं ओभरमा दोश्रो र पाचौं बलमा बोल्ड गरेका थिए । चौथो विकेटका लागि सैयद अजिजसँग ३४ रनको साझेदारी गरेका फाइजले २६ बलमा ३० रन बनाए ।

युवा लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि मलेशियन इनिङ्गस शुरुवातमै लड्खडएको थियो । सन्दिपले ट्वान्टी ट्वान्टी इतिहासमा नेपालका लागि एक सय दुई विकेट पुरा गरेका हुन् । सन्दिपले ओपनर विरनदिप सिँह, मोहम्मद अनवर अरुद्दिन र खिजार हायात दुर्रानीको विकेट लिएका थिए ।

तीनै जना ब्याट्स्म्यानको क्याच पवन शर्राफले लिएका थिए । सैयदले अर्को महत्वपूर्ण साझेदारी गर्ने क्रममा अमिनुदि राम्लीसँग ६७ रनको साझेदारी गरेका थिए । सैयदले ३५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाए ।

Click to comment

Trending