Headline

‘कुशललाई अत्याधिक अपेक्षाको भारीले थिच्नु हुदैन’

Published

on

आदर्श ढकाल, बैंकक

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सनसनीपूर्ण प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाएका युवा खेलाडी कुशल मल्लमाथि अत्याधिक अपेक्षाको दवाब नदिदा उपयुक्त हुने बताएका छन् ।

कुशलले भर्खरै नेपालमा सम्पन्न आईसिसि क्रिकेट बिश्वकप लिग टुका दौरान अमेरिकाबिरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गर्दै डेब्युमै एकदिवसीय अन्तर्राष्ट्रियमा अद्र्धशतक प्रहार गर्ने बिश्वकै कान्छा खेलाडी बनेका थिए । कुशलले नेपाललाई ४९ रनमा ५ विकेटको नाजुक स्थितिबाट उद्दार गर्दै ५१ बलमा ५० रन बनाएका थिए ।

बिनोद भण्डारीसँग छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका कुशलले बहादुरीपूर्ण इनिङ्गस खेल्दै चार चौका र तीन आक्रमक छक्का पनि प्रहार गरेका थिए । उनकै इनिङ्गसको मद्दतमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।

कुशल अहिले नेपाली टोलीसँगै थाइल्याण्डमा छन् भने नेपालले मलेसियासँग एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्समा खेल्दा अर्को खेलको प्रतिक्षामा हुनेछन् । नेपाली टोलीका कप्तान ज्ञानेन्द्रले कुशललाई अहिलेका लागि आफ्नो खेलको आनन्द उठाउन दिइनुपर्ने बताएका छन् ।

“कुशल एकदम प्रतिभावान र क्षमता भएका खेलाडी हुन् । यसको झलक उनले अमेरिकाबिरुद्धको खेलमा पनि देखाइसकेका छन् । तर उनलाई त्यतिकै छोड्नु पर्छ जस्तो लाग्छ । धेरै जानकारीहरु बाहिरबाट उनको अगाडी आउदा एक राम्रो खेलाडीलाई निकै नै अप्ठ्यारोमा पार्न सक्छ,” ज्ञानेन्द्रले बैंककमा क्रिकेटिङ्गनेपाललाई भने ।

अमेरिकाबिरुद्धको खेलपछि उनीबाट धेरै नै अपेक्षा गरिएको छ । तर उनलाई दवाब दिएर बाध्नु भन्दा पनि अहिलेको लागि समय दिनुपर्छ । उनलाई अभै एक–दुईवटा प्रतियोगिताहरुमा आफूलाई खेलको आनन्द उठाउन दिनुपर्छ । उनी अहिले धेरै नै साना छन् । कति कुराहरु उनलाई थाहा पनि छैन भने र आफुलाई लिएर के भइरहेको छ भनेर बुझ्न समय पनि लाग्नेछ । त्यसैले उनलाई समय दिनु आवश्यक छ जस्तो लाग्छ,” ज्ञानेन्द्रले भने ।

Click to comment

Trending