Headline

चोटले थकित सारापोभाको टेनिसबाट सन्यास

Published

on

पाँच पटककी ग्राण्ड स्ल्याम बिजेता मारिया सारापोभाले टेनिसबाट सन्यासको घोषणा गरेकी छिन् । रसियन सुन्दरी सारापोभा मात्र ३२ बर्षकी रहेकी छिन् ।

लगातार चोटबाट ग्रस्त पछिल्लो केही बर्ष पूर्ण रुपमा फिट नभएपनि टेनिस खेलिरहेकी थिइन् । भोग एण्ड भ्यानिटी फेयर नामक म्यागजिनमा एक लेख लेख्दै लगातार काँधको चोटसँग संघर्ष गरिरहदा उनको जिउ टेनिसका लागि अब उपयुक्त नरहेको बताइन् ।

सन् २००४ मा सारापोभाले ग्राण्ड स्ल्याम जित्दा उनी मात्र १७ बर्षको थिइन् । सारापोभाले विम्बल्डनको रुपमा पहिलो ग्राण्ड स्ल्याम जितेकी थिइन् । सन् २०१२ मा उनले फ्रेञ्च ओपन जित्दै करिअर स्ल्याम पुरा गरेकी थिइन् । करिअर स्ल्याम पुरा गर्न टेनिस खेलाडीले सबै चार वटा ठूला प्रतियोगिता जित्नुपर्छ । उनले युएस ओपन र अष्ट्रेलियन ओपन पनि जितेकी थिइन् ।

सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि सेवन गरेको पाइएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धबाट फर्किएर २०१७ मा फेरि टेनिस थालेकी सारापोभाले त्यसपछि भने आफ्नो उत्कृष्ट दिन सकेकी थिइनन् । यसको कारण चोट पनि थियो ।

बिश्व टेनिस बरियतामा ३ सय ७३ औं स्थानमा रहेकी सारापोभा सन् २००२ पछि सबैभन्दा तल्लो क्रममा झरेकी हुन् । “म यसको लागि नयाँ हु त्यसैले मलाई माफ गर्दिनु होला । टेनिस – म गुडबाई भन्न चाहन्छु,” सन्यास घोषणा गर्ने क्रममा सारापोभाले भनिन् ।

“पछाडी फर्केर हेर्दा मलाई के लाग्छ भने टेनिस मेरो लागि पहाड थियो । मेरो मार्गमा उपत्यका र थरि थरिका घुमाउरा बाटोहरु थिए । तर माथिबाट हेरेका दृश्यहरु साच्चिकै उत्कृष्ट थिए । टेनिसको २८ बर्ष र पाँच वटा ग्राण्ड स्ल्याम उपाधि पछि म अब अर्को पहाड चढ्नको लागि तयार छु तर छुट्टै तरिकाले,” उनले थपिन् ।

गत बर्षको युएस ओपनको पहिलो चरणमै सेरेना विलियम्ससँग ६–१, ६–१ ले पराजित भएपछि नै आफूले अन्तिम संकेत पाइसकेको उनले बताइन् । विलियम्ससँग पराजित भएपछि सारापोभाले २०१९ मा फेरि खेलिनन् भने यो बर्ष पनि मात्र दुई खेल खेलेकी थिइन् ।

Click to comment

Trending