Headline

सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

Published

on

विक्रम सिँह ठकुरीले दुई गोल गरेपछि सुदूरपश्चिम ११ खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार धनगढी रंगशालामा भएको प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा सुदूरपश्चिमले भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्यो । फिलिप तामाङ र दिपेश श्रेष्ठले पनि आयोजक टोलीका लागि एक–एक गोल थपेका थिए भने भारतीय टोलीका लागि अभिषेक दर्जी र छिरिङ तामाङले गोल गरे ।

खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो । उद्धव खत्रीको पासमा विक्रमले डिबक्स भित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे । १९ औं मिनेटमा फिलिपले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

कञ्चनजंघाका गोलरक्षक निगम सिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे । खेलको २३ औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दा सुदूरपश्चिम खेलमा हावी हुन पुग्यो । उनले दोश्रो गोल पनि उद्धबकै पासमा गरेका थिए ।

२८ औं मिनेटमा अभिषेकले पेनाल्टीमार्फत गोल गरेपछि कञ्चनजंघाले अग्रतालाई घटाएको थियो । धन बहादुर थापाले डिबक्स भित्र अमीर लामालाई खराब ट्याकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे । ३९ औं मिनेटमा कञ्चनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिएको थियो ।

डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए । खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ को सहज जित दिलाए । दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे ।

म्यान अफ द म्याच बिक्रमले १० हजार नगद प्राप्त गरे । पहिलो पटक सुदुरपश्चिम गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वागमती युवा क्लबलाई टाईब्रेकरमा हराएको थियो ।

सुदूरपश्चिम ले फाईनल प्रवेशको लागि विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो क्वाटरफाईनलमा बुधबार थ्री स्टार र सिमराको नव जन जागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Click to comment

Trending