Headline

गोर्खा बोइज खप्तड गोल्ड कपको अन्तिम ८ मा

Published

on

गोर्खा बोइज रुपन्देही सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

पहिलो चरणको अन्तिम खेलमा गोर्खा बोइजले आफ्नै जिल्लाको सुनौलो सँगम युवा क्लबलाई टाईव्रेकरमा ५–३ ले पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईबे्रकरबाट लिइएको थियो ।

टाइब्रेकरमा गोर्खा बोइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरेका थिए । गोर्खा बोइजका गोलकिपर मनोज गुरुङले सुनौलो सँगमका कप्तान मोहन थापाको पेनाल्टी बचाउदै टिमलाई अन्तिम ८ मा पुर्याएका थिए ।

पेनाल्टी सुटआउटमा सुनौलो सँगमका रन्जित थापा, अजित थापा, शंकर राई गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच मनोज गुरुङ चुनिए । उनले १० हजार पुरस्कार प्राप्त गरे ।

गोर्खा बोइजले सेमिफाईनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टीम नेपाल एपिएफ क्लब, भारतको कंचनजंघा एफसी र सिमराको नव जनजागृती क्लब क्वार्टर फाइनलमा पुगिसकेका छन् ।

यस्तै आयोजक सुदूरपश्चिम–११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने वाई पाएर सिधै क्वाटरफाईनलमा पुगेका हुन् । मंगलबारदेखि शुरु हुने क्वार्टर फाइनल अन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भिड्नेछन् ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया प्राप्त गर्नेछन् ।

Click to comment

Trending