Headline

वेस्ट इण्डिज माथि श्रीलंकाको रोमान्चक जीत 

Published

on

आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले अविजित ४२ रन प्रहार गरे पछि घरेलु टोली श्रीलंकाले वेस्ट इण्डिज बिरुद्धको पहिलो एकदिवसीय खेलमा एक विकेटको रोमान्चक जीत हात पारेको छ ।
२९० रनको चुनौतिपुर्ण योगफल लिएर ब्याटिंङमा आएको श्रीलंकाले ४९ दशमलब एक ओभरमा नौं विकेटको नोक्सानीमा जीत हात पार्यो ।
श्रीलंकाको लागि ओपनरद्वय अभिषेक फर्नान्ड़ो र कप्तान दिमुथ करुणारत्ने पहिलो विकेटका लागि १८ ओभरमा एक सय ११ रन जोड्दै राम्रो शुरुवात दिए । करुणारत्ने ५७ बलमा ५२ तथा फर्नान्ड़ो ५५ बलमा ५० रन बनाएर आउट भए ।
त्यस पछि तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका कुशल परेरा ४२ रनमा आउट भए भने त्यस पछिका ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । एक समय हार तर्फ उन्मुख रहेको श्रीलंकाको लागि थिसारा परेराले २२ बलमा ३२ रनको योगदान दिए भने आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले ३९ बलमा चार चौका र एक छक्काको मद्धतमा अविजित ४२ रन प्रहार गर्दै श्रीलंकाको जीत सुनिश्चित गरे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको वेस्ट इण्डिजले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २८९ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो ।
वेस्ट इण्डिजका ओपनर तथा विकेट किपर ब्याट्सम्यान शे होपले सर्वाधिक ११५ रन प्रहार गरे । १४० बलको सामना गरेका उनले १० चौका प्रहार गरे । पछिल्लो १५ एकदिवसीय खेलमा होपको यो छैठौं शतक हो भने समग्रमा आठौं शतक हो ।
होप बाहेक रोस्टन चेजले ४१ तथा डेरेन ब्राभोले ३९ रनको योगदान दिए भने अविजित रहेका किमो पौल र हेडेन वाल्शले तुफानी पारी खेल्दै क्रमसः १७ बलमा ३२ रन र आठ बलमा २० रन बनाए ।
श्रीलंकाका इसुरु उडानाले सर्वाधिक तीन विकेट लिए । महँगो साबित भएका उनले १० ओभरमा ८२ रन खर्चिए ।

Click to comment

Trending