Headline

कान थुनेर अघि बढेका सन्तोष

Published

on

गौरव फुयाल, काठमाडौं

गत पौष १६ गते सन्तोष तामाङले थ्रि स्टारबिरुद्ध लिगकै उत्कृष्ट मध्येको एक गोल गरे । एन्फा कम्प्लेक्समा बायाबाट उनले प्रहार गरेको फ्रि किक घुम्दै ‘डिप’ गरेपछि थ्रि स्टारका गोलकिपर प्रिसोले ठम्याउनै सकेनन् ।

फ्रि किक प्रहार गरेको स्थानबाटै सन्तोषले आफ्नो दुवै चोरी औलाले कान थुन्दै आखा चिम्लेर केही नबोली खुशियाली मनाए । भर्खरै सकिएको शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा आइकोनिक (धेरैको दिमागमा बसेको) क्षण त्यही हुनपर्छ । गोल गरेर मुख नखोली उनले धेरै बोलिसकेका थिए । केही महिना अगाडीको घट्नालाई उनले मानसिक रुपमै पछाडी छाडेको स्पष्ट देखिन्थ्यो ।

विश्वकप छनोट २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतविरुद्ध कात्र्तिक ३ गते भुटानमा हुने खेलका लागि नेपाली टोली असोज ३० गते भुटान जादै थियो । बन्द प्रशिक्षणमा रहेका सन्तोषसँगै अन्य तीन खेलाडी २९ गते राति काठमाडौंमा नाइट क्लब हपिङ्ग (एकै समय अनेकौ क्लब घुम्ने) का लागि निस्किए ।

नेपाली फुटबल मात्रै नभएर नाइट क्लबको संस्कृति अहिले अन्य खेलाडीहरुमा पनि छ । यसले कसैको खेललाई प्रभावित पारेको छैन भने कसैको घरेलु करिअर पनि आरालो लागिरहेको छ । सन्तोषसँग घुम्ने ठूलो नाममा थिए स्टार स्ट्राइकर बिमल घर्ति मगर र अञ्जन बिष्ट, अर्का खेलाडी दिनेश राजबंशी ।

भुटान उड्ने दिन नै अखिल नेपाल फुटबल संघमा राखिएको बिदाई समारोहअघि चारै जना खेलाडी राति नरहेको थाहा पाएपछि एन्फाले कारवाही प्रकृया थाल्यो । अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई टिमसँगै जानबाट रोकियो ।

एन्फाको अनुशासन समितिले बिमल र दिनेशंलाई ९० र सन्तोष  र अन्जनलाई ४५–४५ दिनको निलम्बनमा राखी ५० हजार जरिवना सम्म गर्यो । यो घट्नाले अर्को तीन महिना चारै जना खेलाडीको लागि तीन बर्ष हुने तय थियो ।

त्यही नाइट क्लब काण्डपछि चारै खेलाडीले मंसिर १५ देखि २४ सम्म नेपालमै भएको दक्षिण एसियाली खेलकुद पनि गुमाए । त्योसँगै गुमाए सागको स्वर्ण र त्यसपछि घोषणा भएका लाखौं पुरस्कारहरु पनि । सन्तोष त्यो रात के भयो, किन भयो सोच्नै चाहदैनन् ।

“मलाई त्यो घटना सम्झन पनि मन छैन । जे भयो त्यो मैले गर्न नहुने थियो । मैले ति दिनहरु पिडामा बिताए । मैले त्यो घटनाबाट पाठ सिकेको छु । अब मलाई त्यो सन्तोष बाट यो सन्तोष हुनु छ । र त्यसका लागिमा मेहेनत गर्न तयार छु, सन्तोष भन्छन् ।

यो सन्तोष फरक छन् ।

४५ दिनको प्रतिबन्ध सकिएपछि सन्तोषले पहिलो खेल थ्रि स्टारसँग खेले । पहिलो खेलमा उत्कृष्ट फ्रि किक गोल गरेसँगै उनी म्यान अफ द म्याच पनि चुनिए । लिगमा आफ्नो पोजिसन मै उत्कृष्ट प्रदर्शन दिएका उनले चार गोल गरे । एक फुटबलरको लागि त्यो अविस्मरणीय कमब्याक थियो ।

त्यसैले उनले आफूले मनाएको खुशीयाली बारे राम्रो बर्ण गरेका छन् । “मलाई देखाउनु थियो बहिर मेरो बारे जे कुरा हुँदै थिए ति सबै भ्रम हुन् भनेर । मैले दुबै कान थुनेर म आफैलाई र मेरा समर्थकहरुलाई बहिरी हल्ला नसुन्न आग्रह गरेको हु,” उनले एक अन्तर्वार्तामा विस्पोर्टजलाई भनेका छन् ।

सन्तोषलाई त्यो खुशियालीको लागि प्रेरणा पनि मिलेको छ । “मलाई पहिले बर्सिलोना र हाल बायर्न म्युनिखबाट खेलिरहेका फिलिपे काउटिन्होको खेल एकदम मन पर्छ । उनलाई बर्सिलोनाका समर्थकले आलोचना गर्दा गर्दै म्यन्चेस्टर युनाइटेडसँग को च्याम्पियन्स लिगमा गोल गरेपछि यस्तै खुशियाली मनाएका थिए,” उनले भने ।

सन्तोषले उत्कृष्ट पुनरागमन गरिरहदा राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले उनलाई घरेलु भुमिमै हुने चाइनिज ताइपेइ र अष्ट्रेलियाबिरुद्धको खेलमा भने बन्द प्रशिक्षणमा राखेका छैनन् ।

भनिन्छ केही घट्नाले कसैको जिन्दगीलाई अर्कै मोड दिन सक्छ । गत बर्ष चैतमा भएको कुवेत बिरुद्धको मैत्रीपूर्ण खेलपछि राष्ट्रिय टोलीका लागि लगातार कालिनको नजरमा परेका सन्तोषको वर्तमान त्यही नाइट क्लब घट्नापछि बद्लिदिएको थियो । कालिनले उनलाई राष्ट्रिय टोलीका लागि नजरअन्दाज गर्नु त्यसकै परिणाम हुन सक्छ ।

कालिनले सन्तोषलाई टोलीमा नराख्नु उनको खेल जिवनको अर्को मोड हो । राष्ट्रिय टोलीमा फर्कनका लागि अब उनले अझै कडा परिश्रम गर्दै एक पटक फेरि कान थुनेर अगाडी बढ्ने सोच्न सक्नुपर्छ ।

Click to comment

Trending